इन्द्रेश्वर माविलाई ईसेवा मनी ट्रान्सफरको सहयोग

काठमाडौं – ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । शैक्षिक सहयोगका लागि आयोजित कार्यक्रममा ईसेवा मनी ट्रान्सफरका प्रतिनिधिले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका हुन् ।
यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक यात्रामा थप सहजता प्रदान गर्दै उनीहरूको विद्यालय जीवनलाई थप प्रभावकारी बनाउने रहेको बताइएको छ । सहयोगअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीले जुत्ता र मोजा प्राप्त गरेका छन् । जसले विशेष गरी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ ।
सन् २००८ मा स्थापना भएको काभ्रेको पनौती नगरपालिका–७, मा अवस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रमुख तथा पदाधिकारीले ईसेवा मनी ट्रान्सफरप्रति आभार व्यक्त गर्दै सहयोगले विद्यार्थीहो मनोबल उच्च बनाउनुका साथै उनीहरूको शैक्षिक अनुभवमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।