Logo

कर्णालीको पूर्वाधार विकासलाई अघि बढाउन माग

जुम्ला– कर्णाली प्रदेशका नेकपा एमालेका नेताहरूले कर्णालीको पूर्वाधार विकासलाई अघि बढाउन माग गरेका छन् । कर्णालीको सडक, विमानस्थल, जलविद्युत तथा छिमेकी राष्ट चीनसँग जोड्ने सडक आयोजनामा बजेट सुनिश्चिततासँगै राष्ट्रिय गौरबका आयोजनाका रूपमा अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरूले पाँच बुँदे माग गरेका हुन ।

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी कर्णालीको सडक, जलविद्युत तथा विमानस्थल विस्तार र विकासमा प्राथमिकता दिन माग पत्र बुझाएका छन् । प्रदेश इन्चार्जदेखि अध्यक्ष तथा कर्णालीका १० वटै जिल्लाका इन्चार्जहरूको सहभागितामा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासका लागि चालु आव र आगामी आवको बजेटमै कर्णालीका ठूला आयोजना समेटिने गरी पहल गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा कर्णालीमा भएका विकास र उपलब्धि प्रति धन्यवाद ज्ञापनसहित बजेट अभावले रोकिएका, अधुरा रहेका आयोजनामा बजेट सुनिश्चतता गर्न र कर्णालीको आर्थिक, सामाजिक विकास र समृद्धिसँग जोडिएका पूर्वाधारका आयोजनालाई अघि बढाउनु पर्ने ५ बुदेँ माग गरिएको छ ।

जसमा कर्णाली प्रदेशको लाईफलाईनका रूपमा रहेका कर्णाली करिडोरअन्र्तगत सुर्खेत–हिल्सा सडक, भेरी करिडोरको छिन्चु–जाजारकोट–डोल्पा (धो–मोरिम्ला) सडक र कर्णाली राजमार्गअन्तगत सुर्खेत–जुम्ला–मुगु (नाक्चे लाग्ना) सडकलाई राष्ट्रिय गौरवका योजनाको रूपमा समाबेस गरी आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म चार लेनको सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न, चीन सिमानासँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन र यारी नाकामा सुख्खा बन्दरगाहको स्थापना गर्ने व्यवस्था गर्न गरिदिन, नलगाड जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी अगाडि बढाउन माग गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित एयरपोर्ट विस्तारका लागि १० करोड बजेट व्यवस्था भएको छ । आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरी चालु आवबाटै विस्तार तथा निर्माण कार्य सुरु गर्नुका साथै प्रदेशका हिमाली जिल्लाहरूमा सुर्खेतबाट नेपाल एयरलाइन्स र अन्य निजी एयरलाइन्सहरूको नियमित तथा सुलभ उडान गर्ने व्यवस्था गरिदिन पनि माग गरिएको नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज बोगटीले बताए ।

कर्णालीको दुरगामी महत्त्वका आयोजनाहरू निर्माण गर्न वर्तमान सरकारले गरिरहेको पहलका लागि धन्यवादसमेत दिएको उनले बताए । इन्चार्ज बोगटीले भने,‘दैलेखमा पेट्रोलियम पदार्थको सफल अन्वेषण, कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका स्थित चुवाखोला–खार्पु नदिमा बेलिब्रिज–पुल निर्माण, ८०० मिटर सडक निर्माणको व्यवस्था, जुम्लाको सिंजामा मालपोत तथा नापी कार्यालयको स्थापना जस्ता काम भएका छन् । जसले कर्णालीको आर्थिक विकास र सेवा प्रवाहलाई थप सुदृढ बनाउने छ ।’

मित्र राष्ट्र चीनसँग भएको बेल्ट एण्ड रोड (विआरआई) सहकार्यका लागि फ्रेमवर्कमा उच्च प्राथमिकताका साथ ‘हिल्सा–सिमकोट’ राजमार्ग निमार्ण गर्ने जस्ता दुरगामी महत्त्वका अत्यावश्यक योजनाहरू वर्तमान सरकारले समेटेर कर्णालीको विकासलाई दिएको प्राथमिकताप्रति कृतज्ञता व्यक्त गरिएको नेकपा एमालेका नेता सुरतबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्