Logo

गिडिदहलाई पर्यटन सम्पदा सूचीमा राख्न आग्रह

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदहलाई ‘पर्यटन सम्पदा’ सूचीमा समावेश गर्न मुख्यमन्त्री र पर्यटन मन्त्रीको ध्यानाकर्षण गराइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीलाई तातोपानी गाउँपालिका– ४ का अध्यक्षसहितको टोलीले ध्यानाकर्षण गराएका हुन् ।

गिडिदह पर्यापर्यटन क्षेत्रलाई कर्णाली प्रदेश तथा संघीय सरकारको पर्यटन सम्पदा सूचीमा समावेश गर्न ध्यानाकर्षण गराइएको वडाध्यक्ष रोकायाले बताए । वर्षौसम्म गुमनाम गिडिदहलाई बाहिर ल्याउन पालिकाले सहयोग गरिरहेको उनको भनाइ छ । उनले भने,‘गिडिदहमा पर्यटक भित्र्याउन पर्याप्त पूर्वाधार निर्माण तथा संघ र प्रदेशबाट विशेष प्रर्वद्धनको काम हुन आवश्यक छ । त्यसका लागि कर्णाली प्रदेश र संघीय सरकारले पर्यटन सम्पदा सूचीमा समावेश गर्न मागसहित ज्ञापन पत्र बुझाएका छौं ।’

तातोपानीको मात्र नभई समग्र जिल्लाको आर्थिक समृद्धि, रोजगारी सिर्जनाको सम्भावना बोकेको गिडिदहको प्रर्वद्धनका लागि सबैको साँझा पहल तथा संघ प्रदेशको सकारात्मक सहयोग अपरिहार्य रहेको वडाध्यक्ष रोकायाले बताए । जुम्ला प्रदेश (क) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही, प्रदेश (ख)बाट निर्वाचित सांसद टेकराज पछाई, नेकपा एमालेका नेता धनकृष्ण पाण्डे, गैरसरकारी संस्था महासंघका अध्यक्ष टेक रावतलगायत जुम्लाका अगुवाहरूको सहभागितामा मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई गिडिदह प्रर्वद्धनका लागि ज्ञापन पत्र बुझाइएको छ ।

मुख्यमन्त्री र पर्यटनमन्त्रीलाई भेटेरै गिडिदहको प्रवर्द्धनका लागि वडाध्यक्ष अम्मरबहादुर रोकाया, सांसद टेकराज पछाई, सांसद देवेन्द्रबहादुर शाहीसहितको टोलीले विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका हुन् । कर्णाली प्रदेशको पर्यटकीय सम्पदा सूचीमा पर्यापर्यटन स्थल गिडिदहलाई समावेश गर्न, गिडिदह पर्यटकीय क्षेत्रको संरक्षणका लागि सो क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा घोषणाका लागि पहल गर्न माग गरिएको छ ।

गिडिदह निकाशा क्षेत्रमा विद्युत उत्पादनको सम्भावना भएकोले सम्भाव्यता अध्यायन गरी विद्युत उत्पादनको लागि गौरवको योजना बनाउन कर्णाली प्रदेश सरकारले ध्यान दिन पनि माग गरिएको छ । गिडिदह पर्या पर्यटकीयको अवलोकनका लागि पुग्ने पर्यटकहरूको सहजकताको लागि हांकु त्रिवेणी हुँदै गिडिखोला भलखोला–फुलचौल्या पाटनसम्म १० किलोमिटर सडक बाटो निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षण (आईई) अध्ययनको सहमती र आगामी आवमा सडक निर्माणका लागि बजेट व्यवस्थापनलगायतका माग राखिएको वडाध्यक्ष रोकायाले बताए ।

माग सम्बोधनका लागि प्रदेश सरकारको ध्यानर्कषण गराइएको छ । ज्ञापनपत्र बुझेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले भने अनुसार वडाध्यक्ष रोकायाले गिडिदहको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सकरात्मक रहेको बताए । कर्णालीको समृद्धि पर्यटनबाटै सम्भव रहेको तथ्यलाई आत्मसाथ गर्दै नयाँ पर्यटकीय गन्तव्य गिडिदहको प्रवर्द्धनका लागि नीतिगत पहलदेखि बजेट विनियोजन गर्ने कुरामा कन्जुसाई गर्न नहुने मुख्यमन्त्रीले आश्वासन दिएका छन् ।

पर्यटन सम्पदा सूचीमा समावेश गर्न प्रदेशको सबै सहयोग रहने र संघीय सरकारसँग पहल गर्ने मुख्यमन्त्रीले भनेको पनि उनले बताए । समुद्री सतहदेखि करिब ३ हजार ४८५ मिटर उचाइमा अवस्थित गिडिदह कर्णाली राजमार्ग देखिक अनुमानित २९ किलोमिटर रहेको छ । टाढाबाट दृष्यावलोकन गर्दा गिडिदह नेपालको राष्टिय्र झण्डा आकार जस्तै दुई भागमा रहेको र वरिपरि घना वन जंगलले ढाकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्