सडक असहजताले बाँसखर्कका सुन्तला ढुवानीमा समस्या

पर्वत– गाउँसम्म पुग्ने सडकको दूरावस्थाले गण्डकी प्रदेशकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएको छ । एउटै गाउँमा झण्डै १५ करोडका सुन्तला उत्पादन भए पनि बजारमा ढुवानी गर्न समस्या परेको हो । बाँसखर्क जोड्ने वारीवेनी–बगरफाँट– बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ ।
ठूला सवारीसाधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको कृषक जगतबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘साना खालका बोलेरो जीपमा थोरै थोरै सुन्तला टिपेर बेनी–मालढुंगा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’ सडकका कारण गन्तब्यमा पुर्याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या रहन्छ । ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ ।
गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताए । यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ । अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् ।
सानो बोलेरो जीपमात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गरे । ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाएमा आफूहरूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका कालिमाटीका एक व्यवसायीले भने, ‘यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यले समेत पूर्वाधार निर्माण गरिदिनुपर्दछ । १० किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनीहरूले बताए ।
जलजला गाउँपालिका–२ वारिबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको भए पनि बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन नसकेको हो । यसअघि विसं २०७७ सालमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर अर्थ मन्त्रालयमा पठाएको भए पनि बजेट विनियोजन हुन नसकेको हो । जम्मा १० किलोमिटर लामो यो सडकको कुल लागत लगभग २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
तत्काली केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिमण्डलले सात करोड विनियोजन गरे पनि तत्काल सरकार परिवर्तन भएकाले विनियोजित बजेट स्वीकृत भएर नआएका कारण काम हुन नसकेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । तत्कालीन अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्प आपतकालीन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रकृया अगाडि बढाएको थियो । वर्षेनी फल्ने करोडौँका सुन्तला सडककै कारण ढुवानीमा समस्या भएको वडाध्यक्ष जकबहादुर रोकाले जानकारी दिए ।
सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवर्द्धन गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने रोकाले बताए । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले चालु आर्थिक वर्षमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । यता गाउँपालिकाले सुन्तला खेती प्रवर्द्धन र सडक निर्माणमा राज्यको ध्यानाकर्षण गराउनका लागि बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरेको छ ।
आगामी माघ पहिलो साता सुन्तला महोत्सव गरिने भएको हो । गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको भन्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डिङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैंचासम्म जाने सडक सुधारका लागि महोत्सव महत्त्वपूर्ण हुने बताए । यहाँका कृषकले गत वर्ष ११ करोड रुपैयाँ भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेको बताएका छन् ।