Logo

दाेस्राे ठेक्का दिँदा पनि पुल निर्माण अलपत्र

धादिङ– त्रिशूली नदीको उत्तर भेगका पर्ने सिद्धलेक गाउँपालिका–४ आरुवासटार जोड्न मोटर पुल निर्माण थालेको सात वर्ष पूरा भयो । २०७४ मंसिर २५ गते २०७७ जेठ २४ गते पुल योजना सेक्टर नं. ३ पाटनढोकालाई पुल निर्माण गरी बुझाउन महावीर, नीलगिरि र नेसनल जेभीले सम्झौता गरेको थियो । अहिले आएर निलगिरि कन्स्ट्रक्सन पनि पावर कन्स्ट्रक्सनका इन्द्र पुरीलाई ठेक्का दिएका छन् । पुल निर्माणका पहिलो जिम्मेवार महावीर कन्स्ट्रक्सनका अनिल गुप्ता हुन् ।

गुप्ताको महावीर, नीलगिरि र नेसनल जेभीले ठेक्का हाल्यो । पछि निर्माण कार्य गर्न निलगिरि कन्स्ट्रक्सनको तर्फबाट युवराज डाँगीले जिम्मा लिएका थिए । पुल निर्माण गर्नमात्र खडा गरिएको पुल महाशाखा पनि मुकदर्शक बनेर बसेको छ । बेनीघाट–रोराङ–३ रिचोकटार हिलटप र सिद्धलेक–४ आरुवासटार जोड्ने पुल निर्माण गर्ने जिम्मा महावीर, नीलगिरि र नेसनलले संयुक्त रूपमा लिएको पुल तोकिएको समयभन्दा चार वर्ष पछिसम्म निर्माण कार्य पूरा नहुनु महाशाखाको कमजोरी पक्ष हो ।

पुल निर्माणको जिम्मेवारी नीलगिरिले लिएको डाँगी स्वीकार्छन् । तर काम गर्दैनन् । साढे तीन वर्षमा सक्नुपर्ने पुल सात वर्षमा पनि नसके पछि पावर कन्स्ट्रक्सनका इन्द्र पुरीलाई नाफा नोक्सान बेहोर्ने गरी जिम्मा लगाएको डाँगीले बताए । महावीर कन्स्ट्रक्सनका गुप्ताले डाँगीले समयमा काम नगर्दा आफू पनि अफ्ठ्यारोमा परेको र निर्माण कम्पनीलाई कालोसूचीमा राख्दा जेभीका तीनवटै कम्पनी पर्ने बताए । नीलगिरिको तर्फबाट काम गर्छु भन्दाभन्दै महावीरले काम गर्न नमिल्ने कानुनी बाध्यता छ ।

निलगिरिले काम नगरे महावीरले काम गर्न बाध्य हुने गुप्ताले बताए । २०७४ मंसिर २५ गते १५ करोड १६ लाखमा निर्माण सम्झौता गरेका डांँगीले २०७७ जेठ २४ गते पुलको डिजाइन गर्नेदेखि निर्माण सम्पन्न गरेर पुल योजना सेक्टर नं. ३ लाई बुझाई सक्नुपर्ने थियो । तर अहिलेसम्म फिल्डको काम हेर्न हो भने २० प्रतिशत पनि भएको छैन । जब स्थानीयले चर्को विरोध गर्छन् वा पुल महाशाखाले ताकेता गर्छ अनिमात्र फिल्डमा आउने गरेको स्थानीयको भनाइ छ । सुरुमा डाँगीले कोरोना महामारीलाई दोष लगाएर उन्मुक्ति खोज्दै आएका थिए ।

कहिले सरकारले समयमा भुक्तानी नदिएको आरोप लगाउँथे । पसलेले उधारोमा सामान दिँदैन । ऋण गरेर कति लगानी गर्नु । बहुवर्षे योजना हो । सरकारसँग नै लिन बाँकी हुन्छ यही भनाइ गरिरहन्थे । जेठदेखि मंसिरसम्म नदीमा पानीको सतह बढ्न पुसदेखि वैशाखसम्म मात्र हो पानीमा काम गर्ने । जरिवाना तिर्न पर्‍यो भने एक पटकमा डेढ करोड तिर्नुपर्छ । पुल बनाउन कम्तीमा पाँच वर्ष समय दिनुपर्ने डांँगीले बताउँदै आए ।

डाँगीबाट पुल निर्माण गर्ने जिम्मा लिएका पुरी भन्छन्, ‘काम सुरु गरेको छु । यस वर्ष दुईवटा पिल्लर बनाउन सकें भने अर्को वर्ष स्ल्याप ढलान गर्न सकिन्छ कि जस्तो लागेको छ ।’ दुई वर्षमा सक्नेगरी काम गर्छ भन्छन् । पुरीले गरेको कामको गतिले पनि पुल निर्माण नहुनेमा स्थानीय पुगेका छन् । पुल निर्माण नहुँदा स्थानीयलाई मुख्य बजार आवतजावत गर्न कठिन, ताजा तरकारी तथा दूध बिक्रीमा समस्या, दु:ख बिमार पर्दा बोकेर मुख्य राजमार्गसम्म पुग्नुपर्ने समस्या भोग्नु परेको राममणि सिल्वालले बताए ।

त्रिशूली नदीपारि आरुवासटारमा मलेखु एडभेन्चरबीच रिसोर्ट सञ्चालनमा छ । हिउदँयाममा मोटर बोटबाट होटलका ग्राहक तथा पर्यटक आवतजावत गराउँदै आएको छ । बर्खायाममा भने पर्यटक वा ग्राहक आधाघण्टा हिँडेर झोलुंगे पुल तरेर जानुपर्छ । मोटर पुल बने पाँच मिनेटमा होटल पुग्छन् भन्छन् सिल्वाल । पुल निर्माण जिम्मा लिएको निलगिरिले समयमा पुल निर्माण नगरेपछि पछिल्लो समय प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पुल महाशाखामा तोकेता गरेका छन् ।

पुल बनाउन कति समय लाग्छ ? पुल बनाउन सक्ने कम्पनीको ठेक्का तोडेर वा उसैलाई काम गर्न लगाएर छिटो पुल निर्माण सक्न ताकेता गरेको पाण्डेको सचिवालयले जनाएको छ । पुल महाशाखा कामको गति निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने चेतावनी दिएपछि काम गरेको छ । तर काम गर्न परिचालन गरिएका मजदुरको संख्या हेर्दा काम गर्ने गरी भन्दा पनि कारबाहीबाट जोगिन काम गरे जस्तो देखिने पाण्डेका निजी सचिव विवेक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्