खिम्ती ग्रामीण विद्युत सहकारीले अर्को आयोजना बनाउने

दोलखा– नेपालको एकमात्र विद्युतगृह र विद्युतीकरण गरेको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले १ मेगावाटको अर्को जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । संस्थाको १३औं साधारणसभाको अवसरमा अध्यक्ष शेयरबहादुर खड्काले ९९६ किलोवाटको झाँक्रे २ आयोजना निर्माण गर्ने जानकारी दिए ।
नयाँ आयोजना निर्माणका लागि झाँक्रे दुईको डीपीआर पूरा भई प्रक्रिया धेरै अघि बढिसकेको उनले बताए । आयोजना निर्माण प्रक्रियाका लागि सर्भे लाइसेन्स प्राप्त भएको, जग्गा सम्झौता भएको, वातावरणीय संक्षिप्त अध्ययन स्वीकृत, निर्माण, उत्पादन र प्रशारण लाइसेन्स प्राप्त भएको र बैंकसँग एलओआइ प्राप्त भइसकेको उनले बताए ।
सहकारीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत नवीकरणीय ऊर्जा कार्यक्रमको ५० प्रतिशत अनुदान, तामाकोसी गाउँपालिकाको दुई करोड ४० लाख र गोकुलगंगा गाउँपालिकाको दुई करोड ४० लाख लगानीमा आयोजना निर्माण हुनेछ । सो आयोजनामा सहकारीले सात करोड १२ लाख लगानी गर्नेछ । आयोजना सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण गर्ने तयारी छ । आयोजनाको लागत २६ करोड हुने अनुमान छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेर विद्युत आदनप्रदान गरेको छ । विद्युत प्राधिकरणले लघुजलविद्युत आयोजनासँग पनि पीपीए गर्न थालेपछि खिम्ती विद्युत सहकारीसँग रहेका दुई पावर हाउसबाट उत्पादित विद्युत पनि इनर्जी नेटिङ प्रणालीमा सम्झौता भएको छ ।
दोलखाका र रामेछापका पाँच स्थानीय तहको १४ वटा वडामा विद्युतीकरण गरेर सेवा पुर्याउँदै आएको सहकारीले प्राधिकरणसँग सम्झौता भएपछि आफ्नो बढी भएको विद्युत प्राधिकरणलाई बेच्ने र नपुग विद्युत प्राधिकरणसँग खरिद गर्न थालेको हो । उत्पादन बढी भएर खर्च नभएको विद्युत बिक्रीबाट सहकारीले आम्दानी गर्दै आएको छ ।
खिम्ती १ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्दा रामेछाप जिल्ला साविक बेताली, रस्नालु, र दोलखा जिल्ला ठुलोपातल, हावा, च्यामा, सहरे गरी ६ वटा गाविस प्रत्यक्ष प्रभावित र रामेछाप जिल्ला फुलासी, खिम्ती, फर्पु र नामाडी गरी चार गाविस पकेट गाविस गरी १० वटा गाविस प्रभावित गाविस रहेको थियो ।
खिम्ती १ जलविद्युत आयोजनाले आफ्नो निर्माणका लागि बनाएको ६३० किलोवाट क्षमताको झाँक्रे लघुजलविद्युत आयोजना सहकारीमार्फत् सञ्चालन हुने गरी प्रभावित गाविसका घरघरमा विद्युतीकरण गरेर हस्तान्तरण गरेको हो । प्रभावित गाविसमा विद्युत नपुग भएपछि १३ वर्षअघि मात्र पुन: रामेछापको बेतालीमा चार सय किलोवाटको हलुवा खोलामा समेत अर्को आयोजना बनाएर हस्तान्तरण गरेको हो ।
आयोजनाको सर्भे लाइसेन्स र निर्माण अनुमति पत्र लिँंदाको अवस्थामा खिम्ती १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रभित्र दुई हजार घरधुरीमा विद्युत वितरण गर्ने भन्ने रहेको थियो । सहकारीले साविकका १० गाविस तथा हालका पाँच स्थानीय तहका १४ वडाका नौ हजार ९२३ ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । जसमा घरायसी ग्राहक सात हजार ४५ र उद्योग मिटर भएका ५९० उपभोक्ता छन् ।
सहकारीसँग ३३ केभी, ११ केभी, वितरण लाइन र आफ्नै ट्रान्सफरमर रहेको सहकारीका उपाध्यक्ष भुवन केसीले जानकारी दिए । खिम्ती १ जलविद्युत आयोजनाले ६३० किलोवाटको झाँक्रे खोला र चार सय किलोवाटको हलुवा खोला लघुजलविद्युत आयोजना निर्माण गरी सञ्चालनका लागि सहकारीलाई हस्तान्तरण गरेको हो ।
साधारणसभामा उपस्थित ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले सहकारीले सेवा दिंँदै आएको क्षेत्रमा विद्युत प्राधिकरणले व्यवस्थापन गर्ने र सरकार र स्टाटक्राप्ट बीच खिम्ती १ सञ्चालनको संयुक्त कम्पनी बनाउँदा हालका विद्युतगृह व्यवस्थापन सहकारीलाई दिन सकिने जानकारी दिए । उनले आउँदो चैतसम्म खिम्ती १ सञ्चालनका लागि संयुक्त कम्पनी बन्ने जानकारी दिए ।
सहकारीका कोषाध्यक्ष धिरज सुवेदीले गत आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले दुई करोड ७९ लाख ९८ हजार नाफा भएको जानकारी दिए । झाँक्रे दुई निर्माण गरेर सञ्चालन भएपछि सहकारीको नाफा वार्षिक तीन करोड बढी हुने अनुमान रहेको उनले बताए । साधारणसभामा दोलखा र रामेछाप जिल्लाका राजनैतिक दलका नेता, स्थानीय तहका प्रमुख प्रतिनिधिलगायत सेयर सदस्यको उपस्थिति रहेको छ । सहकारीले यसै वर्ष नयाँ सञ्चालक समिति चयनका लागि प्रक्रियासमेत अगाडि बढेको छ ।