Logo

बहुमूल्य जडिबुटीको चोरी निकासी बढ्दो

पर्वत– आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडाैं मूल्यका जडिबुटीको चोरिनिकासी बढ्दै गएको पाइएको छ । जडिबुटी संरक्षण, प्रवर्द्धन, संकलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरिनिकासी बढ्दै गएको हो । जिल्लाका उच्च पहाडी भेगमा रहेका जंगलमा बहुमूल्य औषधीय गुणयुक्त जडिबुटी प्रसस्त मात्राम छ ।

जिल्लाको जलजला र मोदी गाउँपालिकामा पर्ने हम्पाल क्षेत्र, मोदी र कुश्मा क्षेत्रमा पर्ने पञ्चासे, डहरे, चिसापानी, गोल्र्याङ ठूला जंगल क्षेत्र हुन् । यी क्षेत्रमा अल्लो, सतुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, वज्रदन्ते, लोठसल्ला प्रसस्त मात्रामा पाइन्छ । यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टिमुर, धसिङ्ग्रे, खोटो, हर्रोबर्रो लगायतका सयौं प्रकारका महत्त्वपूर्ण जडिबुटीसमेत प्रसस्तै पाइन्छ ।

डिभिजन वन कार्यालय पर्वतका अनुसार जडिबुटी पकेट क्षेत्र तोकेर संरक्षण गर्न नसक्दा ठूलो मात्रामा नोक्सानी भइरहेको छ । जिल्लामा कुन जडिबुटी कति परिमाणमा पाइन्छ भन्ने यकिन नभए पनि चोरीनिकासीकै कारण जडिबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठूला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडिबुटी प्रजातिका वनस्पति पाइन्छ ।

पर्वतको मोदी गाउँपालिका–४ लेस्पारका ७३ वर्षीय वृद्ध टेकबहादुर पुनले जडिबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आएका छन् । पुनले चिन्ता व्यक्त गर्दै भने, ‘पर्वतका सामुदायिक वनमा धेरै प्रकारका जडिबुटी पाइने भए पनि अहिले उचित संरक्षण अभावले कतिपय नासिँदै गएका छन् भने चोरी हुने क्रम पनि बढेको छ ।’ पहिले प्रसस्तै पाइने धेरै प्रकारका जडिबुटी अहिले थोरै मात्रामा देखिने गरेको उनको भनाइ छ ।

गाउँमा बस्ने मानिसको संख्या घट्दै जानु र भएकाले समेत चासो नदिएका कारण बहुमूल्य जडिबुटी जोखिममा पर्दै गएको उनको गुनासो छ । खर्सुबास सामुदायिक वन उपभोक्ता समूह मोदी–४ क्याङका अध्यक्ष नरसिं पुनले जडिबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडिबुटी चोरीनिकासी हुने र जंगलमै खेर जाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको बताए ।

डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडिबुटी प्रसस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताए । ‘वनजन्य जडिबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कति मात्रामा पाइन्छ सोहीअनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्दछ,’ विकले भने, ‘जडिबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनु हुन सकेको छैन ।’

डिभिजन वन कार्यालय, पर्वतमा चालु आर्थिक वर्षमा जडिबुटी संरक्षण र प्रवर्द्धन सम्बन्धी एउटै कार्यक्रम नसमेटिएको उनको भनाइ छ । जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार ४२२ हेक्टर वन क्षेत्रमा करिब ४४ हजार १ एक सय ४ घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट समेत जडिबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्