निसान पदमार्ग: नयाँ पद गन्तव्य

इलाम– नेपाल–भारत सीमाबाट नयाँ पद पर्यटकीय गन्तव्य सुरु भएको छ । नेपाल एकीकरणसँगको इतिहाससँग जोडिएर नयाँ पद गन्तव्यको उद्घाटन भएको छ । यसले पर्यटकीय गन्तव्यका लागि नयाँ आयाम थपिएको पर्यटक तथा पर्यटनकर्मी ब्यवसायीको भनाइ छ । निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपालमा निसानको छुट्टै इतिहास छ ।
नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्त्व युवा पीडिले भुल्दै गएको भए पनि यसलाई जगेर्नामा स्थानीय तह जुटेका छन् । नेपाल एकीकरणमा भारतसँग पूर्वतर्फको सीमामा विजय पश्चात् गाडिएका निसान फकाइएको बाटोको समेत नाम निसाना हराउँदै गएपछि सो सडकको संरक्षणमा पदयात्रा सुरु भएको छ । नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ ।
तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्षभन्दा पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा सुरु भएको हो । नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीनवटा पालिकाको समन्वयमा पुस २४ गतेबाट २६ गतेसम्म पदयात्रा सम्पन्न भयो । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसान बीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्राको तयारी भएको हो ।
निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । इलाम सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । पुन सो निसान इलाममा २०७४ सालमा इलाममा नै फर्काइएको छ । सुगौली सन्धिपछि इलाम भित्रियाइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुन इलाम सारिएको हो ।
भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गरिएको रणसार्दुल गण इलामका गणपती प्रह्लाद घलेले जानकारी दिए । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा गरिएको इलाम नगरपालिकाका पमुख केदार थापाले बताए । नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ गरिएको छ ।
२४ गते बिहान पदयात्रा शुभारम्भ भएर निसान राखिएको ठाउँ पूर्णेडाँडामा बास बस्ने कार्यक्रम छ । ४१.१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकै पटक यात्रामा सहभागी जनाएका छन् । २४ गते शुभारम्भ भएर पूूर्णेडाँडामा बास बसेको पदयात्राको टोलीले २५ गते पुन: सोही स्थानबाट औपचारिक उद्घाटन भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टारमा आएर २५ गतेको बास बसेको थियो ।
२५ गतेको बासपछि २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा आएको हो । सदरमुकामस्थित माईस्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ । सोही स्थानमा आएर पदयात्रा कार्यक्रमको समापन भएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनका अनुसार पदयात्राको समापन भए पनि पदयात्रीलाई थाहा दिन सो दिनदेखि नयाँ बाटो खुल्ने छ ।
तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिकासमेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताए । उनले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताए । पदयात्रा हुने भएपछि हरेक जोडिएका पालिका, पालिकाका पनि वडा र टोल विकासले सडक सरसफाइ गरेका छन् । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइमा पालिकाका वडा तथा टोल विकास संस्था जुटेका थिए ।
पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनसमेत भएको छ । ठाउँठाउँमा पदयात्रीलाई पञ्चैबाजाले स्वागत गरिएको थियो । पदयात्रीका लागि सम्बन्धित पालिका र वडाले स्थानीय व्यवस्थापन गरेका थिए । निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमासमेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ ।
यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहेको छ । निसानको सांकेतिक निसानसहित तत्कालीन दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा सेना रहेका थिए । कालो पोसाकको ऊ बेलाको नेपाली सेनाको पोसाकमा सजिएका सेनासहित तत्कालीन समयमा प्रयोग भएका वस्तुसमेत पदयात्रामा प्रदर्शन गरिएको छ ।