कृषि र पशुपालनमा लाग्नेको संख्या बढ्दै

व्यावसायिक कृषिबाट समृद्ध अर्घाखाँची
अर्घाखाँची-जिल्लाका व्यावसायिक कृषकहरूले कृषि क्षेत्रमै उज्ज्वल भविष्य रहेको बताउने गरेका छन् । आफै मालिक भई दुई चारजनालाई गाउँमै रोजगारी दिन पाउँदा आफूहरू सन्तुष्ट हुने गरेको उनीहरूको भनाइ छ ।
विदेशिने पैसाले गाउँमै कृषि, पशुपालन र कुखुरापालनमा लगानी गरी मिहिनेत गर्ने हो, भने स्वदेशमै राम्रो आम्दानी गर्न सक्नेमा उनीहरू विश्वस्त छन् । लामो समयसम्म विदेश बसेर फर्किएका पुष्कर पौडेलको फर्ममा दैनिक ६ हजार अण्डा उत्पादन हुन्छ, बिहान ४ बजेदेखि ११ बजेसम्म अण्डा टिप्नमै व्यस्त हुने र दिनभर बिक्रीका लागि अर्घाखाँची र गुल्मीका विभिन्न ठाउँमा लैजाने गरेका उनले बताए । उनको कुखुरापालन फर्ममा ४ जनाले रोजगारी पाएका छन् । विदेशमा पनि राम्रो आम्दानी भएको थियो, तर अर्काको देशमा सधंैभरि बसिरहनु भन्दा आफ्नै देशमा अरुलाई पनि रोजगारी दिएर बस्न आनन्द हुने पौडेलको भनाइ छ ।
जिल्लामा गाई र भैंसीपालन गर्ने कृषकको संख्यामा पनि वृद्धि भएको छ । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । पशुप्राविधिक किरण रायमाझीले भने, “कृत्रिम गर्भाधानको माध्यमले पाडो तथा बाच्छा जन्मिदैनन् कृषकलाई पनि सहज भएको छ, अहिले पाडो तथा बाच्छा जन्मिने समस्या हराएको छ ।” आर्थिक हिसाबले राँगो भैसीलाई लगाउँदा कम्तीमा १००० शुल्क छ, कृत्रिम गर्भाधान सेवा केन्द्रमा ल्याएमा शुल्क २५ हो, अन्यथा कार्यालय समय बाहिर प्राविधिकहरू घरमै जानपरेमा कृषकहरूसँगको सल्लाहमा ४००÷५०० शुल्क लिने गरेका छन्, कृत्रिम गर्भाधानको वीर्यबाट उत्पादन भएका पाडी तथा बाच्छीहरू पनि उन्नत हुन्छ, दूध पनि धेरै आउँछ । घरपालुवा गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृत्रिम गर्भाधान गराई नश्ल सुधार गर्दै व्यावसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको पाणिनी गाउँपालिका पशु शाखाले जनाएको छ ।
पाणिनी गाउँपालिका–४ पटौटीका युवा कृषक नारायण अधिकारीले गाईपालन व्यवसाय गरेका छन् । राहदानी बनाएर विदेश जाने उमेरमा ३२ वर्षीय अधिकारी कृषि, पशुपालन, बाख्रापलन र कुखुरापालनबाट स्वदेशमै सन्तुष्ट छन् । ७ वर्ष कुखुरापालन र २ वर्ष बाख्रापालन व्यवसाय गरेका अधिकारी पछिल्लो २ वर्षदेखि गाईपालन व्यवसायमा लागेका हुन् । ७ वटा उन्नत जातका गाईपालन गरेका अधिकारीले वार्षिक ४ लाख आम्दानी गर्छन् । दैनिक ६० लिटर दूध उत्पादन भएको अधिकारीले बताए । ११ महिनाको समयमा ७ हजार १ सय ३४ लिटर दूध उत्पादनबाट अधिकारीले ३ लाख ५६ हजार ६ सय ७० रुपैँया आम्दानी गरेको बताए ।
पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले गाउँपालिका दूधमा आत्मनिर्भर बनेको बताए । उनले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था अनुसार दूधमा गतवर्ष अनुदान दिएको बताए । जिल्लाका साविकका धातिवाङ, पटौटी, अड्गुरी, पोखराथोक, हंसपुर, मरेङ, भगवती, बल्कोट, ढाकावाङ, किमडाडाँ, डिर्भना, खाचिँकोट गाविसका सबै वडामा ग्रामीण नमुना कृषकहरुको छनोट गरी सुआहारा कार्यक्रमले प्रतिकृषक १० वटाका दरले उन्नत जातको कुखुरा वितरण गरेको साझेदार संस्था लुम्बिनी सामाजिक विकास केन्द्र्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले बताए ।
कुखुरासँगसँगै उन्नत जातको विउँपल, कृषकलाई निरन्तर रूपमा तालिम पनि दिएको सुआहाराले जनाएको छ । सुआहाराको सहयोगले पनि कृषकहरू व्यावसायिक बनेका छन् ।
जिल्लामा सञ्चालन भएको किसानका लागी उन्नत बीउबिजन कार्यक्रमले पनि बोयर बाख्रा हबको रूपमा डिभर्नालाई विकससत गरेको छ, गतवर्ष पाणिनी गाउँपालिकाले पनि मैदान, अडगुरी र पोखराथोकमा बोयर हबको रुपमा विकास गर्नका लागि स्रोत केन्द्र स्थापना गरी अगाडि बढेको पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।