चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार «

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार

जाजरको-तातो मौसममा यार्सागुम्बा संकलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे–फोक्सुण्डो गाउँपालिका–९ का रामदुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् ।
उनी एक्लै नभई दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन् । जाजरकोटको नलगाड नगरपालिका मुख्य बजार यात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलंगामा बस्दै आएको उनको भनाइ छ । गुुरुङ परिवार जाजरकोट सदरमुकाममा दैनिक बिहानैदेखि ३० केजीको बोरामा जम्बु बोकेर सदरमुकामवासीको घरदैलोमा पुगी व्यापार गरिरहेका छन् । १५ दिनभित्र करिब १ लाखभन्दा बढीको जम्बु बिक्री गरिसकेको गुरुङले बताए । उनले भने, “उपल्लो डोल्पा घरमा हिउँ परेको छ, वर्षायाममा जंगलमा पाइने जम्बु जम्मा गरेर चिसो मौसम हजुरहरूको घरदैलोमा आएर व्यापार गर्छौँ ।”
गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जम्बु बिक्री गरिरहेनका छन् । दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु बर्सेनि जम्बु बिक्री गरी आएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउँछन् । अहिले जेठा छोरा कक्षा ११ र कान्छो छोरा ९ कक्षामा काठमाडौँ पढ्दै छन्, यार्सागुम्बादेखि जम्बुसम्म बिक्री गरेर जम्मा भएको पैसाबाट पढाइ तथा घर खर्च जुटाउँदै आएका छौँ उनले भने, “हाम्रो जमिनमा उत्पादन हुने उवा, तितेफापर र सिमीले हामीलाई तीन महिना खाना पुग्दैन, सडक यातायात पुगेको छैन ।”
उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्युँमा बोकेर ल्याएको जम्बु, सिमी लगायतका वस्तु दुनैबाट ट्रयाक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गर्दै आएको उनको भनाइ छ ।
उपल्लो डोल्पाको हिमाली भागमा चौंरी पाटनमा उम्रिने यो जम्बु दाल तथा तरकारीमा राख्दा वास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ । उपल्लो डोल्पाका सबै स्थानीय तहको जंगलमा पाइने यो वास्नादार जम्बु देशका अन्य ठाउँमा पनि माग हुने गरेको छ । यहाँका स्थानीयबासी जंगलमा पाइने जम्बु सित्तैमा संकलन गरी आर्थिक उपार्जनका लागि गतिलो माध्यम बनाउँदै आएका छन् । भौगोलिक रूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जम्बु पाइने गर्दछ । जम्बु प्रतिमाना ५० रुपैयाँमा बिक्री हुने गर्दछ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जम्बु सुक्ने भएकाले सोही समयमा पाटनमा गएर स्थानीयबासीले जम्बु टिप्ने गर्दछन् ।

भोटेजिराको माग उच्च
उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटेजिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चट्नीमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइने गर्दछ । प्रतिकेजी पाँच सयदेखि ७ सयसम्म पर्ने यो भोटेजिरा अर्गानिक मानिन्छ । भोटेजिरासँगै पाटनमा अन्य औषधिजन्य जडीबुटी संकलन गरेर चिसो छल्न बेंसी झरेको समयमा उपल्लो क्षेत्रका डोल्पालीले व्यापार गर्दै आएका छन् ।

सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्