स्वास्थ्यकर्मी सहर केन्द्रित हुँदा सेवा प्रवाहमा चुनौती : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मी सहर केन्द्रित हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवसका अवसरमा मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले प्रदेशको ऐन कानुन बनेपछि स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरू नै विदेश पलायन हुने समस्या रहेको भन्दै उनले छात्रवृत्तिमा पढेकाले अनिवार्य स्वदेशमै स्वास्थ्य सेवा दिनुपर्ने व्यवस्था गर्ने बताए । “सरकारको छात्रवृत्तिमा ५०–६० लाख खर्च गरेर पढाएको डाक्टर नेपालमा बसेर सेवा गर्दैनन् । विदेश जान आतुर हुन्छन् । नेपालमै बसे पनि सहर केन्द्रित हुन्छन्, अनि त्यत्रो खर्च गरेर छात्रवृत्ति दिएर पढाको के अर्थ ?” पौडेलले भने, “यो हाम्रो लागि ठूलो चुनौती हो, चुनौतीदेखि भाग्ने होइन चुनौतीको सामाना कसरी गर्ने भनेर बाटो खोज्नुपर्छ, हामी त्यसका लागि तयार छौं ।” नेपालका नौ सय डाक्टर सहरी क्षेत्रमा बस्ने र त्यसमा पनि ६० प्रतिशत काठमाडौैं बस्ने गरेको तथ्य प्रस्तुत गर्दै उनले प्रतिदश हजार जनसंख्यालाई २३ जना स्वास्थ्यकर्मी आवश्यक भएकोमा हाल ७ जनामात्र स्वास्थ्यकर्मी उपलब्ध भएको जानकारी दिए । स्वास्थ्यकर्मीले जस्तोसुकै ठाउँमा पनि गएर सेवा गर्न तयार हुनुपर्नेमा पौडेलको जोड थियो ।
नेपालमा भएका नीति नियम कार्यान्वयनमा कमजोर रहेकाले पनि स्वास्थ्यलगायतका क्षेत्रमा समस्या देखिएको भन्दै त्यसको समाधान प्रदेश कानुन बनेपछि हुने बताए । सरकारले हेटौँडा अस्पताललाई तीन सय बेड बनाउने गरी गरेको नीतिगत निर्णयलाई कार्यान्वयनमा ल्याउन पहल गरिने पौडेलले प्रतिबद्धता जनाए । भौतिक विकासले मात्र समग्र विकास नहुने भन्दै उनले भने, “जबसम्म स्वास्थ्य र शिक्षाको विकास हुँदैन तबसम्म अरु कुनै विकासले अर्थ राख्दैन, स्वास्थ्य अत्यन्त संवेदनशील विषय हो, स्वास्थ्य क्षेत्रको विकासमा प्रदेश सरकारप्रतिबद्ध छ ।”
कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरिले हेटौंडामा मेडिकल कलेज र ट्रमा सेन्टर बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउँदै हेटौंडा अस्पताललाई तीन सय बेडमा स्तरोन्नति गर्न आग्रह गरे । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७३\७४ मा उत्कृष्ट सेवा प्रदान गरेवापत जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई प्रशंसापत्र वितरण गरेको थियो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव एवं कार्यक्रम संयोजक वासुदेव पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठक, राष्ट्रिय स्वास्थ्यकर्मी संघका तीन नम्बर प्रदेश अध्यक्ष रामहरि ढकाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलगायतले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए ।
–केशव समर्पण