Logo

राष्ट्रिय खेलकुदका लागि यस्तो बन्दैछ रंगशाला

वीरेन्द्रनगर– आगामी चैत अन्तिम सातादेखि कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले मुख्य रंगशाला तयार गरिरहेको छ ।

खेलकुद प्रतियोगिता हुने स्थानसम्मको सडक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएको छ । मुख्य रंगशालाको दुवैतर्फ र सहायक सडक कालोपत्रे सम्पन्न गरिसकेको सरकारले अन्य खेलकुदका गतिविधि हुने मैदानसम्म पुग्ने सडक निर्माण गरिरहेको छ ।

प्रतियोगिता स्थलसम्म पुग्न र आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सडक कालोपत्रे गरिएको पूर्वाधार विकास निर्देशनालयका प्रमुख सूर्य शाहीले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रतियोगिता लक्षित तीनवटा सडक कालोपत्रेको काम भइरहेको छ । तीनवटै सडक कालोपत्रेको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।
प्रमुख शाहीका अनुसार प्रदेश रंगशाला पूर्वको धमलाचोकदेखि क्याम्पस चोकसम्म ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । उक्त सडकको २०८१ भदौमा ठेक्का सम्झौता भएको थियो । यो सडक निर्माणका लागि आठ करोडमा ठेक्का सम्झौता भएको थियो । यस्तै दैलेख रोडदेखि बसपार्कसम्म ६ सय मिटर सडक कालोपत्रे पनि सम्पन्न भइसकेको छ । यो सडक निर्माणका लागि २०८१ भदौमा आठ करोडमा ठेक्का सम्झौता भएको थियो ।

गणेश चोकदेखि जिरो ड्याम खेलकुद मैदानसम्म पुग्ने ६ सय मिटर सडक कालोपत्रेको काम पनि भइरहेको छ । यो सडकको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसको लागत नौ करोड छ । यस्तै सुर्खेत विमानस्थल हुँदै रंगशाला पुग्ने सडक निर्माण पनि सुरु गरिएको छ । औद्योगिक क्षेत्रदेखि तीनकुने चोकसम्मको सडक कालोपत्रेको काम अघि बढाइएको छ । अहिले उक्त सडकको कामसमेत धमाधम भइरहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

प्रतियोगिता लक्षित सडक निर्माणसँगै सडक मर्मतको काम पनि थालिएको छ । वीरेन्द्रनगर नगरपालिका जाने चोकदेखि दैलेखरोड जोड्ने सडक मर्मतको काम अघि बढाइएको कार्यालयले जनाएको छ । उक्त खण्डको तीन सय मिटर सडक मर्मतको काम गर्न लागिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माण थालेको छ । एउटै खण्डमा दुई ओटा ठेक्कामार्फत काम अघि बढाउन केही समस्या देखिएको छ ।

मंसिरमा हुने भनिएको खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । नयाँ मिति तोकिएसँगै वीरेन्द्रनगरमा सडक निर्माण, मर्मत र रंगरोगनका काम सुरु हुन थालेका छन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुनेछ । प्रदेश सरकारले सडक, खानेपानी र आवासका लागि काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्