उपभोग्य तथा सेवा उद्योग क्षेत्रको कर्जाले बढायो समग्र कर्जा

काठमाडौं– उपभोग्य तथा सेवा उद्योग क्षेत्रको कर्जामा वृद्धि देखिँदा चालु आर्थिक वर्षमा सामान्य रुपमा कर्जा बढेको छ ।
उपभोग्य, सेवा उद्योग, यातायात, सञ्चार तथा सार्वजनिक सेवा र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा बढ्दा सामान्य कर्जा वृद्धि देखिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य क्षेत्रहरुको कर्जा वृद्धि भने विगतको तुलनामा निकै न्यून रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । गत आवको पाँच महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँले बढेको केन्द्रीय बैंकको तथ्यांक सार्वजनिक भएको छ । यो वृद्धि ३.५ प्रतिशत हो । अघिल्लो आवको सोही अवधिमा कर्जा २.३ प्रतिशतले मात्रै बढेको थियो । अघिल्लो आवको तुलनामा अहिले कर्जा विस्तारै बढ्दै गएको देखिएको छ ।
कर्जा बढ्नुको कारण ब्याजदरमा आएको गिरावट हो । ब्याजदरमा गिरावट आएर न्यून हुँदै गर्दा कर्जा वृद्धि भएको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुको भारित औसत ब्याजदर दोहोरो अंकबाट चालु आवको मंसिरसम्ममा एकल अंकमा पनि घट्दो क्रममा छ । यो वर्षको मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशतमा झरेको छ । गत आवको मंसिरमा यस्तो ब्याजदर ११.८५ प्रतिशत थियो । भारित औसत ब्याजदर घट्दै जाँदा त्यसको प्रभाव कर्जा प्रवाहमा देखिएको हो । यो मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८२ प्रतिशत, विकास बैंकहरुको ८.६५ प्रतिशत र वित्त कम्पनीहरुको ९.७७ प्रतिशत छ ।
गत आवका पाँच महिनामा भएको कर्जाको वृद्धि र चालु आवको सोही अवधिमा भएको वृद्धिलाई वार्षिक बिन्दुगत आधारमा हेर्ने हो भने चालु आवमा कर्जा वृद्धि सामान्य बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । गत आवको मंसिरमा ४.५ प्रतिशतमात्रै कर्जा वृद्धि भएको थियो ।
मासिक रुपमा हेर्ने हो भने चालु आवको साउनमा निजी क्षेत्रमा जाने कर्जाको वृद्धि ६.२ प्रतिशत छ । गत आवको साउनमा ३.८ प्रतिशत वृद्धि थियो । भदौमा ६.६ प्रतिशतले निजी क्षेत्रमा जाने कर्जा बढेको केन्द्रीय बैंकको तथ्यांक छ । २०८० भदौमा यस्तो कर्जा वृद्धि ४ प्रतिशतमात्रै थियो । यसैगरी असोजमा ४.८ प्रतिशत, कात्तिकमा ४.४ प्रतिशत र मंसिरमा ४.५ प्रतिशतमात्रै कर्जा बढेकोमा चालु आवको असोजमा ६ प्रतिशत, कात्तिकमा ६.२ प्रतिशत र मंसिरमा ७ प्रतिशत बढेको छ । चालु आवको चाडपर्वको समयमा कर्जा घटेको भए पनि मंसिरमा भने बढेको छ । गत आवको मंसिरमा कर्जाको वृद्धि निकै न्यून थियो ।
चालु आवको मौद्रिक नीतिमा लचकता अपनाइए पनि त्यसको प्रभाव भने तथ्यांकमा देखिएको छैन । ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसक्दा निकै न्यून मात्रामा कर्जा विस्तार वृद्धि भएको तथ्यांकमा देखिएको छ । निजी क्षेत्रले कर्जा माग नै गर्न नसकेका कारण कर्जा विस्तार हुन नसकेको हो ।
अर्थतन्त्रको सुस्तताका कारण उद्योगहरूले उत्पादन कटौती गर्नुपरेको छ । यहीकारण उनीहरूले कर्जाको माग बढाउन सकेका छैनन् । त्यसको असर औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जामा परेको छ, जुन गत आवको तुलनामा चालु आवको मंसिरसम्ममा घटेको देखिन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा औद्योगिक कर्जा ६.३ प्रतिशतले बढेको थियो ।
पछिल्लो समय अर्थतन्त्रको शिथिलता चिर्न सबै क्षेत्रलाई हम्मेहम्मे परिरहेका कारण त्यसको असरले कर्जा प्रवाह बढ्न नसकेको जानकारहरू बताउँछन् । पूर्वबैंकर अनलराज भट्टराईले निजी क्षेत्रको मनोबल बढाउने तथा लगानीको वातावरण बनाउने नीति नआउँदा कर्जा बढ्न नसकेको बताए । मौद्रिक नीतिमा ब्याजदर घटाइए पनि कर्जा नीतिमा केही संशोधन नभएका कारण कर्जा प्रवाह बढ्न नसकेको उनको भनाइ छ । कर्जा प्रवाह बढाउनका लागि मौद्रिक नीतिमार्फत जोखिम भार घटाउने, प्रोभिजन तथा सम्पत्तिको ग्रेडिङमा लचकता अपनाउने लगायतका काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यस्ता नीतिमा सरोकारवालाले चासो नदिँदा लगानीको वातावरण नबनेको उनी बताउँछन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा प्रवाह साढे १२ प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यमा पुग्ने सम्भावना निकै न्यून देखिन्छ । गत वर्ष लक्ष्यको आधा पनि कर्जा निजी क्षेत्रमा गएको थिएन ।
चालु आवको पाँच महिनामा निर्माण क्षेत्र पनि निकै सुस्त देखिएको छ । गत आवको तुलनामा यो क्षेत्रको कर्जा निकै कम छ । केन्द्रीय बैंकका अनुसार आव २०८१–८२ को पाँच महिनामा निर्माण क्षेत्रको कर्जा ३.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ८.१ प्रतिशतले बढेको थियो ।
चालु आवको पाँच महिनामा थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवाको ३.६ प्रतिशत, सेवा उद्योग क्षेत्रको ५.० प्रतिशत र उपभोग्य क्षेत्रको कर्जा ३.६ प्रतिशतले बढेको छ । कृषि क्षेत्रमा प्रवाह भएको कर्जा भने ०.७ प्रतिशतले घटेको छ । गत आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फको कर्जा ४.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १.५ प्रतिशत, सेवा उद्योग क्षेत्रको ३.३ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको थियो । कृषि क्षेत्रमा प्रवाह भएको कर्जा भने ०.१ प्रतिशतले घटेको थियो ।