Logo

नेपाल-खाडी मुलुक व्यापार

बढ्यो आयात, बढेन निर्यात

काठमाडौं– नेपालको वैदेशिक व्यापारमा नगण्य हिस्सा रहँदै आएका खाडी मुलुकहरुसँग पछिल्ला दिनमा भने व्यापार बढेको छ ।

दुई मुलुकबीच व्यापारको आँकडा बढ्दा फाइदा भने नेपालले उठाउन सकेको छैन । खाडी मुलुकहरुबाट आयात बढेजसरी निर्यात वृद्धि हुन सकेको छैन । यही कारण नेपालले फाइदा बढी उठाउन नसकेको हो ।

गल्फ राष्ट्रमध्ये युनाइटेड अरब इमिरेट्ससँग गत आर्थिक वर्षदेखि बढ्न थालेको व्यापार चालु आवमा पनि कायमै छ भने बहराइन, कतार, साउदी अरेबिया, ओमान र कुवेतसँग पनि नेपालको व्यापार बढ्दै गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा यूएईसँगको व्यापार १३८.८ प्रतिशतले वृद्धि भएको थियो भने चालु आवको पाँच महिनामा बहराइनसँग २०६१.५ प्रतिशत तथा कतारसँगको व्यापार ६९२.२५ प्रतिशतले बढेको छ । खाडीका विभिन्न मुलुकमा काम गर्ने नेपालीको संख्या वृद्धिसँगै ती मुलुकमा नेपालको निर्यात बढेको र त्यहाँका उत्पादनको आयात पनि बढेको सम्वद्ध व्यवसायीहरु बताउँछन् ।

भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म बहराइनसँग नेपालको कुल व्यापार २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने ओमनसँगको व्यापार २ अर्ब २५ करोड रुपैयाँ छ । यस्तै, कतारसँगको व्यापार ४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । युनाइटेड अरब इमिरेट्ससँग यो अवधिमा नेपालले ५ अर्ब ८३ करोड रुपैयाँको व्यापार गरेको छ । साउदी अरेबियासँग पनि नेपालको व्यापार पाँच महिनामै २ अर्ब ३५ करोड रुपैयाँ पुगिसेकेको छ । कुवेतसँगको व्यापार भने १३ करोड ६३ लाख रुपैयाँमा सीमित छ । यद्यपि, व्यापार बढ्दो क्रममा छ ।

खाडी मुलुकहरुसँग नेपालको व्यापार बढ्दै गए पनि निर्यात भने सन्तोषजनक छैन । पाँच महिनामा सबैभन्दा बढी निर्यात यूएईमा भएको छ । यो अवधिमा ८४ करोड ३७ लाख रुपैयाँको नेपाली वस्तु यूएई निर्यात भएको छ । कतारको निर्यात ५ करोड ५३ लाख र साउदी अरेबियाको ४ करोड ९५ लाख रुपैयाँ छ ।

नेपाल यूएई उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार अग्रवाल खाडी मुलुकमा निकासीको अथाह सम्भावना रहे पनि नेपाल त्यसमा चुक्दै आएको बताउँछन् । हाल ती मुलुकमा ४० लाख हाराहारीमा नेपाली रहेको अनुमान छ । नेपाली श्रमिकलाई नेपाली उत्पादनसँग जोड्न सके अहिलेभन्दा कैयौं गुणा बढी निर्यात गर्न सकिने उनको भनाइ छ । यसका लागि ती मुलुकमा प्रतिस्पर्धी मूल्यमा नेपाली वस्तु उपलब्ध गराउन सक्नुपर्ने अध्यक्ष अग्रवाल बताउँछन् । ‘नेपाल र खाडी मुलुकहरूबीचको व्यापारिक सम्बन्ध सन्तुलित छैन । नेपालले खाडी मुलुकबाट मुख्य रूपमा भारतको माध्यमबाट तेल, पेट्रोलियम उत्पादन र अन्य सामग्री आयात गर्छ । त्यो पनि जोड्ने हो भने त व्यापार घाटा भयावह छ,’ उनले भने, ‘हामीले खाडी मुलुकहरूमा कृषिजन्य उत्पादन, हस्तकला र जडीबुटी निर्यात गर्ने सम्भावना छ, तर यसको मात्रा सीमित छ ।’

खाडी मुलुकका लगानीकर्तालाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै गत वर्ष लगानी प्रवद्र्धन कार्यक्रम पनि आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल खाडी मुलुकहरू नेपालका विभिन्न परियोजनामा लगानी गर्न इच्छुक देखिएको बताउँछन् । खासगरी जलविद्युत, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा उनीहरुले लगानी गर्ने सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ छ । पछिल्लो समय खाडीका केही मुलुकले नेपालमा धार्मिक पर्यटनको क्षेत्रमा समेत लगानी गर्न थालेका छन् ।

नेपाल र खाडी मुलुकहरूबीचको आर्थिक सम्बन्धले केही चुनौती पनि सामना गर्नु परिरहेको सरोकारवाला बताउँछन् । श्रमिकको शोषणसम्बन्धी मुद्दा अन्तर्राष्ट्रियकरण भएका कारण यस्तो समस्या देखिएको हो । विभिन्न मानव अधिकारवादी संस्थाले नेपाली श्रमिकहरू खाडीमा काम गर्ने क्रममा शोषण, कम ज्याला र खराब कामका शर्तहरूको शिकार हुने गरेको भन्दै प्रचार गरेका कारण नेपालमा लगानी गर्न पनि उनीहरु सशंकित हुने गरेको निजी क्षेत्रको बुझाइ छ ।
महासंघ अध्यक्ष ढकाल भने खाडी मुलुकहरूसँग पारस्परिक लाभ हुने आर्थिक सम्झौता गरेर सम्बन्ध सुदृढ गर्न सकिने बताउँछन् । श्रम सम्झौता, लगानी सम्झौता लगायतले सम्बन्ध बलियो बनाउन सक्ने उनको भनाइ छ ।

‘खाडीको बजारलाई लक्षित गरेर कृषि, हस्तकला र अन्य उत्पादनको निर्यात वृद्धि गर्नु जरुरी देखिन्छ,’ ढकालले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको तालिम र सीप विकासमा जोड दिनु तथा दिगो रेमिटेन्स व्यवस्थापनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’ उनका अनुसार नेपाल र खाडी मुलुकहरूबीचको आर्थिक सम्बन्धले नेपाली समाज र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । यो सम्बन्धलाई दीर्घकालीन र सन्तुलित बनाउन सरकार र निजी क्षेत्र दुवैले समन्वयात्मक पहल गर्न आवश्यक रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्