Logo

भूकम्पः पुनर्निर्माणबाट आर्थिक लाभ

माघ २, भूकम्प सुरक्षा दिवस, भूकम्पका धक्काहरू सम्झँदै आङ जिरिङ्ग गर्छ । पंक्ति तयार गरिरहँदा पुसमा कैयन् भूकम्पका धक्का महसुस गरियो । दैनिक औसत दर्जन पल्ट भूकम्प भइरहन्छन्, तर ४ रेक्टर स्केलभन्दा कम हुँदा हामी थाहै पाउँदैनौँ । गत वर्ष जाजरकोटलाई ध्वस्त बनायो भूकम्पले, ०७२ सालको भूकम्पले देशैभरि तहसनहस गरायो । विश्वमा उच्च भूकम्पीय क्षेत्रमध्ये एघारौँमा पर्छ नेपाल । नेपालको भूगोल भारतीय र तिब्बतीय टेक्टोनिक प्लेटहरूको सिमानाको बीचमा पर्छ । कति बेला कुन क्षेत्रमा ठूलो धक्का दिन्छ, पूर्वअध्ययन गर्न सकिएको छैन, भूकम्प मापन केन्द्रहरू पनि आफ्नै प्राविधिक दक्षतामा छैनन्, विदेशको भर पर्नुपरेको छ ।

यहाँ भएको पुरानो मापन मेसिन १९७८ मा पेरिस विश्वविद्यालयको सहकार्यमा स्थापित हो र राष्ट्रिय सञ्जाल अन्य देशहरूको सहकार्यमा धेरै पछि मात्र । फ्रान्सकै सहकार्यमा फुल्चोकीको पहाडमा भूकम्प मापन केन्द्र सेस्मिक स्टेसन स्थापना भयो, पछि २०१२ मा अन्य ७ स्टेसन स्थापित भएका हुन् । हाल देशका विभिन्न क्षेत्रमा ४२ वटा यस्ता स्टेसन छन्, तर धेरै २२ वटा फ्रान्सकै सहयोगमा छन् । कास्की, पाल्पा, प्युठान, गोर्खा, दामन, ककनी, सिन्धुपाल्चोक, फुल्चोकी, जिरी, उदयपुर, धनकुटामा स्टेसनहरू छन् । चीनले १० वटा स्टेसनमा सहयोग गरेकोमा जुम्ला, सुर्खेत, बाजुरा, दार्चुला, काठमाडौं, लमजुङ, सोलु, संखुवासभा छन् भने थाइल्यान्डको एक संस्थाले सहयोग गरेको दाङ, महोत्तरी आदि क्षेत्र छन्, तथापि उच्च हिमाली क्षेत्र मनाङ आदिमा स्टेसन स्थापना गर्न सकिएको छैन ।

अझसम्म पनि सञ्चालनका लागि मेसिन र सफ्टवेयर आफ्नो हुन नसक्नु, विदेशकै भर पर्नु हाम्रो कमजोरी पक्ष भन्नुपर्छ । पूर्वीय दर्शनमा पृथ्वीलाई शेष नागले काँधमा अड्याएको र अधिक भार भई काँध फेर्दा भूमिकम्पन हुन्छ र भुइँचालो जाने गर्छ भनिएको छ । आधुनिक विज्ञानले जमिनमुनि प्लेट छ, त्यसको घर्षण हुँदा भूमि कम्पन हुने गर्छ भनेको छ । शेष भन्नु सर्प हो, विज्ञानले भनेको प्लेट पनि लामो आकारको हुँदा कुरो उस्तै–उस्तै, खालि प्रस्तुतिको तरिका फरक भन्न असहज हुँदैन । जे भए पनि माघ महिना नलाग्दै वा वैशाख नलाग्दै हाम्रो मन भने बढी हल्लने गरेको छ ।

हाम्रो भू–सतहको ९ माइल तलको चट्टानमा दिएको कम्पनका कारण काठमाडौं पूरै हल्लिने गर्छ । काठमाडौंलाई ताकेर हान्ने यो धक्काको शक्ति २० आणविक हतियार फाट्दा हुने शक्तिभन्दा कम हुँदैन । हिन्दू यार्लिङ रेखामा पर्ने नेपाल क्षेत्रमा औसत ७५ वर्षमा ८ रेक्टर स्केलमा महाभूकम्प जाने गरेको छ । यसको मूल कारण नेपालको दक्षिणी सीमा सतहमुनिको लामो धाँजामा हुने नियमित हलचल हो । यहाँ तीन–चार करोड वर्षपूर्व भारतीय उपमहाद्वीपको चट्टान युरेसिया (तिब्बतीयन) चट्टानसँग जुधेको थियो रे । यसैकारण यो भू–सतहमुनि रहेको भारतीय प्लेट हरेक वर्ष एक इन्चका दरले उत्तरतिर सरेको र दुवै प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो भागमा चिरा नपरुन्जेल ऊर्जा र तनाव पैदा भइरहने र यो ऊर्जा र तनाव आणविक हतियारसरहको हुने गर्छ । ०७२ को भूकम्पका कारण काठमाडौं २ मिटरले दक्षिणतिर सरी १ मिटरको थप उचाइ प्राप्त गरेको कुरा सार्वजनिक भएको थियो ।

पृथ्वीको सतहमुनिको लामा धाँजाका कारण नेपाल उच्च भूकम्पको जोखिममा छ । यो धाँजाको लम्बाइ १४ सय माइलसम्मको भएको, भारतीय र तिब्बतीयन प्लेटको निरन्तर घर्षणले यहाँको उचाइ हरेक वर्ष १ सेमिका दरले उठिरहेको, ४०–५० वर्षको औसत समयमा दक्षिणी र उत्तरी प्लेटबीच घर्षणको गति बढ्नाले नेपालमा महाभूकम्प जाने गरेको तथ्य पनि सार्वजनिक भएको छ । पृथ्वीमा तीन तह छन्— क्रस्ट, मेन्टल र कोर । ठोस चट्टानभित्र प्लेट बनी बसेको भाग क्रस्ट हो, यो बाहिरी सतह भएको र मानव बस्ती यहीँ हुने गर्छ । हिमाली क्षेत्रमा यसको मोटाइ ७० किमिसम्म र समुद्री सतहमा ५ किमिसम्मको हुने गर्छ । क्रस्टभन्दा तलको मेन्टलको मोटाइ त २९ सय किमिसम्मको हुने गर्छ । मेन्टल पग्लिएर पाक्ने १३ सय डि.से.सम्म म्याग्माको लेदोमाथि ठूला प्लेटहरू तैरिएका हुन्छन् । म्याग्मा छचल्किएर प्लेटले ठक्कर दिँदा जमिनमुनिबाट बम पड्केझैं गरी पटक–पटक आवाज आएको त हामीले ०७२ को भूकम्पबाट सुन्यौँ नै । यस किसिमको नराम्रो आवाज र कम्पन त हामीले अहिलेसम्म देखे, भोगे, सुनेका पनि थिएनौँ ।

भारतीय प्लेट तिब्बतीयन प्लेटमुनि छिरेको, अघि बढ्न नसकेको, दुवै प्लेट रड्किँदा चट्टानमा चाप परेकाले नेपालमा भूकम्पको ठूलो धक्का बेहोर्नुपर्‍यो । भारतीय र तिब्बतीयन प्लेट मिली हाम्रा हिमश्रृंखलाहरू बनेका छन् । यी श्रृंखला पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्म छ । २४ सय किमि भू–सतहमुनि रहे पनि सबैतिर कम्पन भने हुने गर्दैन । जहाँ कम्पन हुन्छ, त्यो पनि ७५–१०० वर्षको अन्तरालमा मात्र । विश्वभरि रहेका सात प्लेटमध्ये जापान र इन्डोनेसियाका आफ्नै प्लेट छन् । चिलीको पनि स्वतन्त्र प्लेट छ । कुनै एक प्लेट अर्काे प्लेटमा छिरेपछि तल्लो भागभित्र छिर्ने र माथिल्लो भाग माथि उठ्ने हुन्छ । भारतीय प्लेट तलतिर उत्तरतिर छिरेको र तिब्बतीयन प्लेट माथितिर दक्षिणतिर छिर्न पुग्यो ।

तलतिर गएको शक्ति थाम्न नसकी विस्फोट हुन पुग्यो, नेपालमा कम्पन भयो । हामी मात्र होइन, संसारैभरिका दुईतिहाइ भाग भूकम्पकीय जोखिममा छन् । तर, तिनले पूर्वसतर्कता अपनाएका छन् । हामीले यसबारे खासै ध्यान दिएनौँ । हाम्रा विकास आधारहरू पूरै ध्वस्त हुन पुगे । एउटा प्लेट अर्काेमा च्यापिँदा मात्रै होइन, प्लेटहरू दायाँ–बायाँ सर्दा पनि यस्ता कम्पन हुन्छन् भने एउटा प्लेट अर्काेबाट टाढा हुँदा पनि भूकम्पको धक्का महसुस हुन्छ ठूलै । नेपालको आफ्नो अवस्था यकिन गरेर मात्र विकासका पूर्वाधार तय गर्दा बढी जोखिम सहनु पर्दैन । भूकम्पकै कारण हाल हाम्रा रमणीय हिमाली श्रृंखलाको उचाइ घटेका र राजधानी उपत्यकालगायत पहाडी सतहका भूभागको उचाइ बढेकाले पनि सबैले यसबारे सोच्नुपर्ने बेला आएको छ ।

निर्माणकर्ता, सिकर्मी, डकर्मी, ठेकेदारलाई यसबारे चेतना र कुनै तालिम दिइएन, पैसा फालाफाल हुँदैमा वा सिंगापुर, जापान, थाइल्यान्डको नक्कल गर्दै भूमिले धान्नै नसक्ने गरी महलहरू तयार भए । नेपाली शैलीका घर, नेपालीपनका भवनहरूबाटै जिन्दगी राम्ररी चल्छ भन्ने कुरा कसैले बुझेन । सरकारले राजस्वतिर मात्र ध्यान दियो, प्रविधि र डिजाइनतिर, अध्ययन र अनुसन्धानतिर ध्यान दिएन । दुबईमा समुद्रभित्रै सयौँ तला घर बन्न सक्छन् भनेकै भरमा राजधानी काठमाडौंमा विदेशी शैलीको नक्कल गरियो, लगत्तै भ्युटावरहरू बन्न थाले । गोंगबुजस्तो तरकारी खेत, बारी, अन्न उब्जनीको उर्वर अनि अत्यन्त हिलो र कमलो माटो दुई अढाई दशकअघिसम्मको अवस्थालाई मध्यनजर गरिएन । लगानीकर्ताहरूले पनि कत्ति होस् पुर्‍याएको पाइएन । फलतः धेरैको ज्यान गयो भने आकलनै गर्न नसकिने भौतिक संरचनाहरू ध्वस्त भई अपुरणीय क्षति भयो, पुनर्निर्माणमा यसको मूल्य थप चर्को भयो, जुन हामी सबैले भोग्दै छौँ अहिले । आजको बजार त्यसै अकासिएको होइन । वैशाख १२ को प्रलयकारी भूकम्पले हाम्रो आर्थिक विकासलाई ठाडै चुनौती दियो भने राजधानीवासीहरू दिन–रात खुला आकाशमुनि रहे । थिचिएर, पिसिएर सो भूकम्पले ८ हजार बढी मानिसलाई त सर्लक्कै निल्यो नै, तर बाँचेकाहरूको हालत मरणको भन्दा कम भएन । धेरैले भने, यस्तो देख्नुभन्दा त मृत्युवरण नै ठीक थियो ।

सबैलाई अवगत छ, नेपाल भूकम्पीय जोखिम क्षेत्रमा छ । तर, सास फेर्नेसम्मको खुला जमिन कतै बाँकी छैन । शनिबार सार्वजनिक बिदा, मौसम अनुकूल, मध्याह्नको समय भएकाले मानवीय क्षति कम भयो, नभए त धेरै–धेरै मानिसको स्वाहा हुने थियो । राम्रै भयो कि लाइफलाइनहरू बिग्रेनन्, अन्तर्राष्ट्रिय विमानस्थल, ठूला भनिएका राजमार्ग, अस्पताल भवन, विद्युत् प्रसारणलाइन, टेलिफोनका ठूला टावर, खानेपानीका ठूला लाइन, विद्युत्का ठूला जलाशयहरू फुटेका, भत्केका भए हाम्रो हालत के हुने थियो ? सो भूकम्पले हाम्रा बालबालिकाहरू धेरै जोगिए, विद्यालय बन्द भएका कारण । तर पनि मनोवैज्ञानिक असर धेरै परेको छ अहिलेसम्म, कारण त्यसपछि लगत्तै वैशाख २९ को भूकम्पले पनि धेरैको ज्यान लियो, करोडौँ सम्पत्तिको क्षति भयो । त्यसपछि हालसम्म सयौँ पराकम्प भई नै रहेका छन् । जापानमा ९ रेक्टर स्केलसम्मको भूकम्प गइरहन्छ, तर ठूलो क्षति हुन्न ।

बालबालिकाहरूलाई यसबारे पाठ्यपुस्तकदेखि नै सचेतना गराइएको हुन्छ । भूकम्पमा के गर्ने भनी सिकाइएको हुन्छ । यस्तो कार्यमा प्रधानमन्त्रीदेखि आमनागरिक बालक, वृद्ध सबैलाई सहभागी गराइन्छ । नयाँ भवनमा कसैको प्रवेशपूर्व नै आगलागी, भूकम्प वा आपत्कालीन अवस्थामा भाग्ने इस्केप रुटबारे सूचना दिइन्छ, रुटहरूबारे जानकारी गराइन्छ । आपत्का बेला घर, विद्यालय, सपिङ सेन्टर, मलहरूमा भाग्ने बाटो पहिले नै तय गरिएको हुन्छ । घरेलु सामानको कोठामा सजावट गर्दा पनि यसको पूर्णतयारी तालिम दिइएको हुन्छ । तर, हाम्रो अवस्था यस्तो रहेन र अझै छैन । ठूला भवनदेखि धरहरा चढेकाले समेत निमेष भरमै ज्यान गुमाए ।

भूकम्पको स्केल कम हुँदैमा क्षति कम हुन्छ भन्ने पनि होइन । सन् २०१० मा हाइटीमा गएको ७ रेक्टर स्केलको भूकम्पले अढाई लाख मान्छेलाई निलेको थियो । काठमाडौं उपत्यकाको भूमि सतहभन्दा ५ सय मिटर तलसम्म माटो र बालुवा छ, त्यसमुनि चट्टान छन् । चट्टानमा आउने कम्पनभन्दा माटो, बालुवामा १० गुणा कम्पन बढी हुन्छ । तरंग बढ्छ, त्यसैले काठमाडौं बढी जोखिममा छ । अनियन्त्रित र अव्यवस्थित बसोबासले भू–सतहको पानीलाई जबर्जस्ती निकाल्ने गर्नाले काठमाडौं उपत्यकालाई थप कमजोर बनाएको छ । भारतसमेत भूकम्पको जोखिममा छ । जमिन सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरतिर दुई सेमिले धकेलिरहने गर्नाले हिमालको फेदीमा बढी शक्ति सञ्चय हुने गरेको र त्यो शक्ति चट्टानले थेग्न नसकेपछि चट्टान काटेर ऊर्जा तरंगित हुँदा कसैले नसोचेको कम्पन महसुस हुने गर्छ, काठमाडौंमा त्यही भयो । नेपाली भूभागमध्ये चुरे क्षेत्रको १ सय ७० किमि पूर्वी–पश्चिमी भाग नसर्ने तर दक्षिणतिरबाट धकेलिरहने गर्दा उत्तरतिरको युरोसियन तिब्बती प्लेटसँग ठक्कर खाँदा हामीकहाँ भूकम्प हुने, कहालीलाग्दो र बिर्सनै नसक्ने त्यो वैशाख १२ र २९ को कालो दिनको अनुभूति गरिरहनुपरेको छ, अहिलेसम्म हामी सबैले । पछिका पराकम्पनहरूले पनि तर्साउन छोडेको छैन ।

सिंगो नेपाललाई हल्लाउने गरी आएको भूकम्पको घाउ पुरिन अझै धेरै समय लाग्छ । सम्पूर्ण आर्थिक संरचनाको तहसनहस भएको वैशाख १२ को भूकम्पले ठूलै मानवीय क्षति भयो । सन् २०११ को गणनाअनुसार राजधानीको जनसंख्या २१ लाख ७९ हजार १ सय ७१ भए पनि झन्डै यसको तेब्बर जनसंख्याको बसोबास भएको काठमाडौं उपत्यका अहिलेसम्म जोखिममा छ र भोलि पनि रहने नै छ । ०७२ पछि हजारौँ बढी पराकम्प भइरहेका छन्, हामी अझै निदाएका छौँ, विकास निर्माण गर्छौं भन्छौँ, आफ्नै खुट्टामा बन्चरो हान्ने गरी ।

प्रतिक्रिया दिनुहोस्