Logo

'विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छ'

केही महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु हुने

गण्डकी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले राष्ट्रिय ध्वजाबहाक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताए ।

”हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ”, मन्त्री पाण्डेले भने । भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए ।

हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदुतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राखे । चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशंका पनि हटेको उनले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताए । सोही कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताए ।

उनले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गरे । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताए । अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताए । उनले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताए ।

उनले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताए । अध्यक्ष ढकालले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताए । उनले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताए ।

साथै, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताए । संयोजक खनालले पोखरा विमानस्थलमा दीर्घकालिन लगानी भएकाले तत्काल चलेन भनेर पछुताउनुपर्ने अवस्था नभएको उल्लेख गरे । उनले १३ वर्षको अवधिमा सबै ऋण तिर्न नसकेको पनि विमानस्थल बिस्तारै चल्दै जाने विश्वास रहेको बताए ।

उनले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको पनि आन्तरिक यात्रुको चाप राम्रो रहेको बताए । संयोजक खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतसँग नयाँ हवाई रुटमा सहमति गर्नसके चाँडै चल्ने बताए । उनले सरकारले भारतसँग पहल गर्न नसकेको कारण नयाँ रुटमा सहमति हुन नसकेको बताए । उनले सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग पहल गर्न नसक्नुका कारण पोखरा विमानस्थल चल्नमा ढिलाई भएको बताए ।

उनले भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्तावेजमा भइसके पनि अहिलेसम्म प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग सहमति गर्न नसकेको बताए । उनले रुटका विषयमा सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्