Logo

महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

चितवन महोत्सव सुरु

चितवन– चितवनको नारायणी नदी किनारमा चितवन महोत्सव सुरु भएको छ । १५औं संस्करणको महोत्सव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

मन्त्री भण्डारीले उद्योगीहरुको समस्या समाधान गर्न ऐन बनाएर अगाडि बढ्ने बताए । ‘अहिले साना उद्योग होस्, घरेलु उद्योग होस् अन्य व्यवसायी हुन् । सबैलाई साथ दिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री भण्डारीले भने, ‘सरकार तपाईहरुको समस्यालाई सामाधान गर्न तयार छ ।’ संघ र प्रदेशको धेरै कुरामा अन्तर विरोध रहेको भन्दै ऐन सच्चाउनुपर्ने उनले बताए ।

भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताए । उनले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिनुपर्ने धारणा राखे । ‘नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातवरण तयार गर्नुपर्छ भनेर सरकारले गृहकार्य सुरु गरिसकेको छ’, उनले भने । उनले शासकीय व्यवस्थामै आवश्यकता अनुसार नीतिगत, प्रशासन सुधार गरेर पनि देशमा लगानीको वातवरण बनाउने बताए ।

महोत्सव माघ १० गतेसम्म आयोजना हुनेछ । महोत्सवमा पहिलो पटक चिनियाँ एक्सपोसहित सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसर गरी ४३० वटा स्टल रहको उवासंघ चितवनका अध्यक्ष एवंम् संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए । केराको थामबाट रेखा निकाल्ने कामको यो वर्ष प्रत्यक्ष अवलोकन गराइएको छ ।

केराको थामको रेखालाइ कपडा बनाउने धागोका रुपमा प्रयोगमा ल्याउन सकिने भएकाले यसको प्रवर्द्धन गर्न म प्रहोत्सवमा यो प्रत्यक्ष अवलोकनका लागि राखिएको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओलीले जानकारी दिए ।

अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएको थियो । पर्यटन र कृषिलाई मुख्य प्रथामिता दिएको महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्नेर ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रमले यो पटक नयाँ रौनकता थपेको बताए ।

प्रतिक्रिया दिनुहोस्