सिमेन्टको मूल्य बोरामै २ सयले बढ्यो
दाङ– एक महिनामा सिमेन्टको मुल्यप्रति बोरा २ सय रुपैयाँले वृद्धि भएको छ । सिमेन्ट उद्योगहरूले सिण्डीकेट गरी मूल्य बढाएको स्थानीयले बताएका हुन् । सिमेन्टको मूल्य वृद्धिसँगै अभाव पनि सिर्जना भएको छ ।
‘सिमेन्टको मूल्य केही दिन यता दैनिक वृद्धि भएको छ,’ घोराहीका एक उपभोक्ताले भने,‘मुल्य वृद्धिसँगै सिमेन्ट नपाउने समस्या रहेको छ ।’ मंसिर पहिलो साताप्रति बोरा सिमेन्ट ४ सय २५ रुपैयाँमा किनेकोमा अहिले ६ सय ६० रुपैयाँमा किन्नु परेको उनले बताए । ‘मूल्य वृद्धिसँगै समयमा सिमेन्ट नपाउँदा कामसमेत रोकिएको छ,’ उनले भने,‘जिल्लामा यति धेरै सिमेन्ट उद्योगहरू रहेका छन्, तर हामीले सिमेन्ट नपाएर काम रोक्नु पर्ने अवस्था रहेको छ ।’
घरको काम गर्न थालिएको र सिमेन्ट नपाउँदा कति काम रोक्नु परेको उनले बताए । त्यसैगरी मूल्य वृद्धि हुँदा लागतसमेत वृद्धि भएको उनी बताउँछन् । सिमेन्ट उद्योगले सिमेन्ट कम उत्पादन गरेको कारण अभाव समेत देखिएको छ । सिमेन्ट उद्योगहरूले उत्पादन घटाएको कारण सिमेन्टमा समस्या भएको घोराही हाडवेयर व्यवसायी समितीका अध्यक्ष दामोदर केसीले बताए ।
‘उद्योगहरूले विभिन्न वाहानामा उत्पादन घटाएका छन् भने मुल्य वृद्धि पनि गरेका छन्’ उनले भने,‘यसका बारेमा सरकारी निकायसमेत मौन भएका छन् ।’ उद्योगले मूल्य वृद्धि गरेको र समयमा सिमेन्टसमेत नदिएको भनेर सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘हामीले पटकपटक जानकारी गराउँदा पनि राज्यको निकायबाट कुनै सुनाइ हुन सकेन’ उनले भने,‘राज्यले ध्यान नदिदा यसको मारमा नागरिक परेका छन् ।’
अहिले व्यवसायीहरूले माग गरेको समयमा सिमेन्ट उद्योगहरूले सिमेन्ट नदिने गरेको समेत उनको भनाइ छ । ‘हामीले माग गरेको समयमा सिमेन्ट उद्योगबाट पाउँदैनौं’ उनले भने,‘पैसा बुझाएको करिब एक हप्तापछि मात्र सिमेन्ट पाउने गरेका छौ’ । हप्ता दिनसम्म कुर्न पर्दा व्यसायीहरूले उपभोक्ताले भनेको समयमा सिमेन्ट दिन नसकेको उनको भनाइ छ ।
पछिल्लो केही दिन यता जिल्लामा सिमेन्ट सहज रूपमा पाउन नसक्दा विकास निर्माणमा समेत समस्या भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारीले जानकारी दिए । ‘अहिले कतिपय निर्माण व्यवसायीहरूले सिमेन्ट नपाउँदा काम समेत रोक्नु परेको छ’ उनले भने,‘ सिमेन्ट उद्योगले सिण्डीकेट गराउँदा समस्या भएको छ’ ।
विभिन्न समस्या भोग्दै आएका निर्माण व्यवसायीहरूलाई सिमेन्ट सहज रुपमा नपाउने र मूल्य वृद्धिले गर्दा थप समस्या भएको छ । ‘सिमेन्टको मूल्य वृद्धि हुँदा काम गर्नसमेत नसक्ने अवस्था भएको छ । करिब एक महिनाअघि चार सय २५ रुपैयाँमा पाइने सिमेन्ट अहिले ६ सय ६० रुपैयाँमा किन्नु परेको छ । कसरी काम गर्न सकिन्छ ?’ अध्यक्ष भण्डारीले भने । अहिले बजारमा सिमेन्ट अभाव सिर्जना जस्तै भएको उनले बताए ।
सिमेन्ट मात्र नभइ सबै स्थानमा सहज रूपमा विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री नदी जन्य पदार्थको ठेक्का सम्झौता हुन नसकेको कारण पाउन समस्या भएको उनको भनाइ छ । काम गर्ने स्थान नजिकै सामग्री पाउँदा सहजता हुने अध्यक्ष भण्डारीले बताए । ‘टाढाबाट ल्याउँदा मूल्य पनि बढी पर्ने र ल्याउँदा धेरै समस्या भोग्नु परेको छ’ उनले भने । नदीजन्य वस्तु पाउन नसक्दा अहिले साना ठूला आयोजनामा समेत प्रभाव परेको छ ।
सिमेन्ट उद्योगले मूल्य वृद्धि गरेको र उत्पादन घटाएको विषयमा सिमेन्ट उद्योगका प्रतिनिधिहरू भने मौन बस्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सिमेन्टको मूल्य वृद्धिको गुनासो प्राप्त भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सिमेन्टको मूल्य वृद्धिका बारेमा गुनासो आएको बताए । ‘नागरिकबाट गुनासो आएको छ । नागरिकबाट आएको गुनासोको बारेमा समाधान गरेर अगाडि बढने छौ’ प्रमुख जिल्ला अधिकारी लम्सालले भने,‘यस प्रकारको समस्या देश भरीकै हो वा स्थानीय स्तरको हो पहिचान गरेर अगाडि बढ्ने छौं’ ।
सिमेन्ट उद्योगका उद्योगी, व्यवसायी, अधिकारकर्मी सरोकारवाला सबैसँग यसका बारेमा छलफल गरेर समस्याको समाधान गरिने उनले बताए । छलफलका लागि सरोकारवालाहरूलाई आउँदो आइतबार बोलाएको प्रमुख जिल्ला अधिकारी लम्साल बताउँछन् । आइतबार सरोकारसँगको छलफलपछि समस्याको समाधान गर्नेतर्फ लाग्ने उनले बताए ।