Logo

सरकारी पहल नहुँदा नेपाली सिमेन्टको बजार गुम्दै

भैरहवा– सरकारी पहल नहुँदा नेपाली सिमेन्टको बजार गुम्दै गएको छ । भारततर्फ सिमेन्ट निर्यातमा देखिएको समस्या निराकरणका लागी सरकारी स्तरबाट पहल नहुँदा बजार गुम्न थालेको हो । नेपालबाट भारत निर्यात हुने वस्तुको सूचीमा अघिल्लो स्थानमा रहेको सिमेन्टलाई भारतीय बजारमा पठाउनका लागि सरकारले कूटनीतिक तवरमार्फत पहल गर्नु पर्ने सिमेन्ट उद्योगीहरुले बताएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक २०७९ असार २५ गते सुनवल नगरपालिका–७ मा रहेको पाल्पा सिमेन्टले तानसेन ब्राण्डका ३ हजार बोरा सिमेन्ट भारततर्फ निर्यात गरेको थियो । त्यसपछि अर्घाखाँची, घोराही, सर्वोत्तम, बालाजीलगायतका अन्य सिमेन्ट उद्योगहरुले पनि निर्यात प्रक्रिया पूरा गरी भारत निर्यात गरिरहेका थिए । भारत सिमेन्ट निर्यातका लागि बिआईए (ब्युरो अफ इण्डियन स्टयाण्डर्स)बाट गुणस्तर प्रमाणपत्र अनिवार्य गरिएको छ ।

तर, पछिल्लो समय भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयअन्तर्गत उपभोक्ता मामिला विभाग मातहत रहेको बिआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यात रोकिएको छ । भारतीय बजारमा स्थापित भइसकेका नेपाली सिमेन्टहरु एक्कासी उपभोक्ताबाट हराउँदा राम्रो सन्देश नजाने बालाजी सिमेन्ट उद्योगका निर्देशक ऋषी अग्रवाल बताउँछन् ।

‘आफ्नो उत्पादन चिनाउन समय लाग्छ, वितरक, सव वितरक खोज्नु पर्‍यो, प्रचारप्रसारलगायत उपभोक्तामा आफ्नो उत्पादनको पहिचान र स्थापित गराउन समय खर्च गर्नु पर्छ, त्यो सबै प्रक्रिया एक चोटी रोकिँदा फेरि शून्यबाटै सुरुवात गर्नु पर्ने जस्तै हुन्छ,’ अग्रवालले भने । नवीकरण अवधि सकिनु तीन महिना अघिनै नवीकरणका लागी निवेदन दिएका थियौं, तर अहिलेसम्म नवीकरण नभएको उनले बताए ।

अर्घाखाँची सिमेन्ट नेपालबाट भारततर्फ निर्यात गर्नेमा दोस्रोमा पर्छ । २०७९ कात्तिक १ देखि १४ सय बोरा पिपिसी सिमेन्ट निर्यातबाट कारोबार सुरु भएको यसको गत असोजदेखि नवीकरण नहुँदा निर्यात ठप्प रहेको उद्योगका नायव महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले बताए । सिमेन्ट निर्यात गर्नु पूर्व बनाएको भारतीय बजार सिमेन्ट निर्यात नहुँदा गुम्दै गएको छ ।

‘राम्रो बजार बनेको थियो, फेरि गुमेको बजार बनाउन समय लाग्छ’ नायव महाप्रबन्धक पाण्डेले भने । पश्चिम नेपालको भैरहवा नाका हुँदै अर्घाखाँची, पाल्पा र सर्वोत्तम सिमेन्ट भारत निर्यात भइरहेको थियो । अर्घाखाँची सिमेन्टको निर्यात रोकिए पनि बिआइएस नवीकरण अवधि बाँकी रहेका पाल्पा र सर्बोत्तम सिमेन्टले निर्यात गरिरहेका छन् । ती दुई उद्योगको पनि नवीकरण अवधि केही समय मात्र बाँकी छ ।

उता कपिलवस्तुको कृष्णनगर नाका हुँदै बालाजी, घोराही र सम्राट सिमेन्ट निर्यात हुँदै आएकोमा बालाजी र सम्राटको निर्यात रोकिएको छ । अब पनि समयमै राज्यले पहल गर्न नसके नेपाली सिमेन्टको भारतमा निर्यातको जुन सम्भावना बढिरहेको थियो । त्यो ध्वस्त हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । निर्यातमा अग्रस्थानमा आउँदै गरेको नेपाली सिमेन्ट निर्यात रोकिएपछि भारतमा बजार गुम्दै गएको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिआईएस नवीकरणमा कुनै पहल नगरिदिँदा निर्यात प्रभावित भएकोले तत्काल कूटनीतिक पहल गरी निर्यात सुचारु गर्नु पर्ने श्रेष्ठले बताए । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सिमेन्टको निर्यात बढेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब ८५ करोड २८ लाख रूपैयाँबराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्