Logo

बगैंचामै पुगेर स्याउ किसानलाई तालिम

जुम्ला– किसानलाई बिरुवा काँटछाँट तथा बगैंचा व्यवस्थापनबारे सिकाउन तातोपानी गाउँपालिकाका कृषि प्राविधिक किसानका बगैंचामै पुग्न थालेका छन् । उत्पादन वृद्धि, बोट बिरुवामा लाग्ने रोग कीराको नियन्त्रण, मलजलको व्यवस्थापन लगायतका विषयमा सिकाउन कृषि प्राविधिक बगैंचामै पुगेर किसानलाई सिकाउन थालेका हुन् ।

जुम्लामा यतिबेला स्याउ बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँटको चटारो सुरु भएको छ । अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र रोग कीरा नियन्त्रण, मल कति बेला हाल्ने, सिँचाइ कतिबेला गर्ने, खाडल कति दूरीमा खन्नेजस्ता प्राविधिक कुरा थाहा नपाउँदा मेहनत र लगानीअनुसारको आम्दानी लिन सकेका छैनन् ।

जुम्लाको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेको स्याउखेतीको विस्तार तथा आवश्यक सीप र प्रविधि हस्तान्तरणमा राज्य चुकिरहेको छ । पटकपटक बिरुवामा लाग्ने रोगले किसान हैरानीमा छन् । हचुवामा गरिने स्याउखेतीले मेहनतमात्रै खेर जान गरेको अवस्थामा बगैंचामै पुगेर स्याउ बगैंचा व्यवस्थापनबारे सिक्न पाउँदा तातोपानी–८ भेरीखोलाका किसान खुसी भएका छन् ।

भौगोलिक रूपले विकट भेरीखोलाका किसानलाई बगैंचामै पुगेर बिरुवा काँटछाँट, रोग कीरा नियन्त्रण, सिँचाइ लगायतका विषयमा सिकाइएको तातोपानी गाउँपालिकाका कृषि प्राविधिक भैरव चनाराले बताए । उनले भने, ‘परम्परागत खेतीले जुम्लामा स्याउमात्र होइन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार हुँदैन । पछिल्लो समय जुम्ली स्याउको बढ्दो माग र आम्दानी पनि राम्रो हुँदै गएपछि किसान स्याउखेतीमा बढी आकर्षित भएका छन् । किसानको परिश्रम खेर नजायोस् भनेर स्याउखेतीको प्राविधिक कुरा सिकाउन बगैंचामै पुग्ने गरिएको छ ।’

अधिकांश समय भेरीखोलाका किसानका बगैंचा र बारीमै पुगेर खेतीापतीबारे सिकाउने गरिएको कृषि प्राविधिक चनाराले उल्लेख गरे । तातोपानी गाउँपालिकाका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ । जसले गाउँगाउँमा पुगेर सिजनअनुसार स्याउ बगैंचा व्यवस्थापनदेखि तरकारी खेती, बालीनाली संरक्षण तथा रोग कीरा नियन्त्रणबारे सिकाउने गरेका छन् ।

जुम्लामा स्याउखेतीको क्षेत्र विस्तार भए पनि उत्पादन घटिरहेको अवस्थामा आधुनिक खेती प्रणालीलाई बढवा दिन जरुरी छ । जुम्लाको ४२ सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ । विगतको तुलनामा स्याउखेतीको क्षेत्र विस्तार भए पनि उत्पादन बढेको छैन । यस जुम्लामा १९ हजार बढी मेट्रिक टन स्याउ उत्पादन हुँदा करिब १५ हजार बढी मेट्रिक टन स्याउ निर्यात भयो ।

जसबाट जुम्लामा हालसम्मकै बढी ६१ करोड भित्रियो । तर जुम्लामा स्याउबाट मात्रै वर्षमा एक अर्ब बढी आर्थिक भित्रिने सम्भावना छ । तर परम्परागत खेती प्रणालीले रोग कीरा लाग्ने, अपेक्षित उत्पादन नहुने, ग्रेडिङ नहुँदा उत्पादित सबै स्याउ बजारमा नजाने जस्ता समस्याले जुम्ली किसान मारमा छन् । खेतीको सुरुवातदेखि तालिम, मूल्य निर्धारण, ढुवानीमा सहुलियत, कोल्ड स्टोर निर्माणलगायतका कुरामा सरकारले सहयोग गर्नुपर्ने जुम्लाका किसानको माग छ ।

प्रतिक्रिया दिनुहोस्