Logo

१९ वर्षदेखि सुन्तला उत्पादन वार्षिक १३ लाख आम्दानी

पर्वत– घरअगानलाई चारैतिरबाट सुन्तलाको बोटले ढाकेको छ । खोल्सा, भिरालो जमिन र बारीका डिल जताततै सुनजस्तै पहेँलपुर सुन्तला छ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मरेककी कर्णकुमारी थापा पुर्जाको घरको आगनबाट जता हेर्‍यो, उतै सुन्तला छ ।

कुनै समय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला खेती गर्दा हाँसोको पात्र बनेकी कर्णकुमारीको बगैंचामा पुग्दा मेहनतको फल छर्लङ्ग देखिन्छ । परम्परागत खेतीबाली लगाउन छाडेर १९ वर्ष अगाडि दुई सय बोट बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले खेती गरेको पहिलो उत्पादन बेचेर एक हजार ६ सय कमाइन् । अर्को वर्ष तीन हजार सात सयको सुन्तला बेचेर थप बिरुवा खरिद गरेकी कर्णकुमारीले नौ रोपनी क्षेत्रफलमा सुन्तला बगैंचा फैलिएको छ ।

कर्णकुमारीको बगैंचामा अघिल्लो वर्ष १० लाख र यस वर्ष १३ लाखको सुन्तला फलेको अनुमान छ । कोदो, मकै र अन्य अन्न फल्ने खेतबारीमा सुन्तलाको बोट लगाउँदा भोकै बस्नुपर्ला भनेर बचन लगाउनेले पनि अहिले कर्णकुमारीको सिको गर्दै सुन्तलाबाट मनग्य कमाइरहेका छन् । गाउँमा पुगेका ब्यापारीले बुधबारदेखि कर्णकुमारीको बारीमा प्रवेश गर्दा यस वर्ष अघिल्लो वर्षको तुलनामा तीन लाख बढी सुन्तला फलेको अनुमान छ ।

एकल महिला कर्णकुमारीको बगैंचा ब्यापारीको पहिलो रोजाइ बनेको छ । ‘मेहनत अनुसारको फल दिएको छ, श्रीमान् गएपछि मेरो आर्थिक अभाव सबै सुन्तलाको कमाइले पुगेको छ, केही बचत पनि गरेकी छु,’ कर्णकुमारीले भनिन् । विसं २०६७ साल चैत महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमान्लाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले घरखर्च चलाउन सहज भएको बताइन् । घरआगन, पाखामा लटरम्म सुन्तला फल्न थालेपछि अहिले घरखर्च चलाउन कुनै समस्या नभएको कर्णकुमारीको भनाइ छ ।

सुन्तलाखेती कर्णकुमारीको बुढेसकालको सहारा बनेको छ । बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य सुन्तलाको कमाइले गरिदिएको छ । महिलाले घरखर्च चलाउन श्रीमान्, छोराछोरीमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको तर्क छ । मरेकका अगुवा कृषक वीरबहादुर थापाले कर्णकुमारीले पुरुषले भन्दा धेरै सुन्तलाबाट कमाउने गरेको बताए ।

‘विदेशमा कमाउन गएकाले भन्दा बढी उहाँले आफ्नै बारीबाट कमाइरहनुभएको छ, हामी सबैलाई उहाँ प्रेरणाको स्रोत हो,’ राप्रपा म्याग्दीका अध्यक्षसमेत रहेका थापाले भने । गाउँमा २२ घरधुरीमा कर्णकुमारीले हरेक वर्ष धेरै सुन्तला उत्पादन गर्छिन् । म्याग्दीमा सुन्तला खेतीबाट आम्दानी गर्ने महिलाको सूचीमा कर्णकुमारीको नाम सबैभन्दा अगाडि आउँछ ।

एकल महिलाप्रति समाजमा अझै विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलनको आवश्यकतासँगै कर्णकुमारीले जस्तै आयर्आजनका क्षेत्रमा अगाडी बढ्न सकेमा घरका अन्य सदस्यमाथिको आर्थिक निर्भरता अन्त्य गर्न सकिने म्याग्दी बहुमुखी क्याम्पसकी सहप्राध्यापक रेखाकौशल रेग्मीले बताइन् ।

म्याग्दी जिल्लाको समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए । यस वर्ष म्याग्दीमा ८१० हेक्टरमा लगाइएको बोटमध्ये ४२० हेक्टरबाट फल दिइरहेको छ । म्याग्दीमा यस वर्ष उत्पादन बढेकाले करिब २५ करोडको सुन्तला बिक्री हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्