तयार हुँदै मन्त्री निवास «

तयार हुँदै मन्त्री निवास

भैरहवामा प्रदेश नम्बर ५ का मन्त्री तथा उपसभामुखको निवास बनाउने निर्णय भएसँगै निर्माणकार्य सुरु भएको छ । भैरहवास्थित तत्कालीन भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजना कार्यालयको हाताभित्र रहेका भवनमा मन्त्रीहरूका लागि निवास तयार भइरहेका छन् ।
। मन्त्रीहरू भैरहवा आउने भएपछि निवास धमाधम सिंगारिँदै छ । सुरक्षाका दृष्टिले राम्रो मानिएका यहाँका भवनलाई द्रुत गतिमा सिंगार्ने काम भइरहेको छ । मन्त्रीहरूका लागि तोकिएको ८ वटा भवनमध्ये २ वटा निवास तयार भए पनि अहिलेसम्म यहाँ कुनै पनि मन्त्री आइपुगेका छैनन् । उपसभामुख कृष्णी थारु पनि नेपाल राष्ट्र बैंक भैरहवाको गेष्ट हाउसमा बसिरहेकी छन् ।
सिद्धार्थनगर नगरपालिकास्थित अञ्चलपुरमा रहेको भैलुभुजका १३ वटा भवनमध्ये ८ वटा भवनमा मन्त्री निवास तोकिएको छ । ८ मध्ये २ वटा भवन तत्काल प्रयोग योग्य छन् । बाँकी ६ वटा भवनको मर्मत भइरहेको छ । ८ वटा निवासमध्ये ४ वटामा २ वटा आगन्तुक कोठा, एउटा बैठक कक्ष तथा भान्छा घर र शौचालय एवं स्नान घरसमेत छन् भने बाँकी ४ वटामा आगन्तुक कोठा, एउटा बैठक कक्ष तथा भान्छा घर र शौचालय एवं स्नान घर छन् । ८ वटा भवनमध्ये २ वटा भवन जोडिएकाले त्यहाँ बढीमा १० जना मन्त्री बस्न मिल्ने बताइएको छ ।
करिब साढे ८ बिघामा फैलिएको यो क्षेत्र सुरक्षित रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । उनले सरकारले सकभर सरकारी भवन प्रयोग गर्ने र भाडा तिर्न निरुत्साहित गर्ने उद्देश्य लिएकाले भैलुभुज मन्त्री निवासका लागि उपयुक्त स्थान हुने प्रजिअ मैनालीको भनाइ छ ।
मन्त्रीहरूकै निवासका लागि सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाले निवास क्षेत्रको मर्मत कार्यलाई तीव्रता दिएको छ । प्रदेश सरकारको मन्त्री निवास, संसद् सचिवालय, मन्त्रालयलगायतका पूर्वाधार मर्मतका लागि सरकारले ५ करोड तथा नयाँ निर्माणका लागि १ करोड गरी ६ करोड रुपैयाँ विनियोजन गरेको डिभिजन प्रमुख सुरेश ठाकुरले बताए ।

मनोरञ्जन शर्मा 

प्रतिक्रिया दिनुहोस्