एक करोड बढीको कृषि उपज निर्यात
बाजुरा– दुर्गम जिल्लाको रूपमा परिचित बाजुरा केही वर्षदेखि कृषिजन्य वस्तु निर्यात गर्ने अभियानका रूपमा अगाडि बढेको छ । कृषकले अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भई निर्यात हुन थालेको हो । जसमा बाजुरा जिल्लाबाट २०८१/०८२ को आर्थिक वर्षमा मात्रै एक करोड ४० लाख ७३ हजार बढीको कृषिजन्य वस्तु निर्यात गरेको तथ्यांक छ ।
भोकमरी र समस्याको जिल्लाको रूपमा रहेको बाजुराबाट पनि निर्यात हुन्छ भन्ने यो तथ्यांकले बाजुरा भोकमरी र समस्याको मात्र जिल्ला होइन भन्ने देखाएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्म एक करोड ४० लाख ७३ हजार बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात भएको उनको भनाइ छ ।
चालु वर्षको नौ महिनामा मात्र १० करोड ४० हजार बराबरको कोदो निर्यात भएको तथ्यांक छ, जिल्लाको हिमाली क्षेत्रमा पाइने कोदोसमेत सहरमा निर्यात हुन थालेपछि कृषकहरू कोदो उत्पादनमा हौसलाका साथ लागेको र आगामी वर्षमा अझै उत्पादनमा वृद्धि भई निर्यात बढी हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहानीले बताए । त्यसैगरी १५ लाख ३० हजार बराबारको सिमी निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लाबाट यो वर्षमा १८ लाख ९० हजारको स्याउ, ६५ लाख ४५ हजार बराबारका आलु, २४ लाख २८ हजारको बन्दा र ६ लाख ४० हजार बराबरको कागती जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहानीले बताए । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको २६ मेट्रिक टन कोदो जिल्ला बाहिर निर्यात भएको छ । जसको मूल्य १० करोड ४० हजार रुपैयाँ कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख छ ।
बाजुरामा उत्पादन भएको ३२ मेट्रिक टन स्याउ निर्यात हुँदा कृषकले १८ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन् । बाजुरामा उत्पादन भएको १५ लाख ३० हजार रुपैयाँ बराबरको नौ मेट्रिक टन सिमी काठमाडांै लगायतका सहरमा पठाएको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय प्रदेश सरकार र स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरेसँगै बाजुराका कृषक कृषिजन्य उत्पादनतर्फ आकर्षित भएको बडिमालिका नगरपालिका नगरप्रमुख अमर खड्काले बताए ।
स्थानीय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नबाली दाल र फलफूल निर्यात भएको तथ्यांक छ । स्थानीयले व्यावसायिक रूपमा उत्पादन गरेको तरकारी काठमाडौं, पोखरा नेपालगन्ज धनगढी लगायतका सहरमा माग बढ्दै गएको छ कृषि खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रूपमा तरकारी तथा फलफूल र नगदेबाली खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् ।
परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका बाजुराबासीले पछिल्लो समय व्यावसायिक कृषि खेतीतिर आकर्षित हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैनथ्यो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए ।
पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेसंँगै आम्दानीको स्रोतको रूपमा रहेको छ । कतिपय व्यापारीले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् । अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रूपमा लिने गरेकोले पछिल्लो समय कोदोको माग बढेको छ ।
जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिरसमेत कोदो बिक्री भएको छ । अहिले ठेकेदारहरूले कोदोको प्रतिकिलोको २५ देखि ४० रुपैयाँ दिने गरेको छन् । अहिले देशका विभिन्न तारे होटलमा अर्गानिक खानाको माग बढेसँगै कोदोलगायतका अर्गानिक खाद्यवस्तुको माग बढिरहेको छ । यहाँ पनि अर्गानिक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।