कोशी प्रदेशकै लामो झोलुंगे पुल सञ्चालन
बिर्तामोड– झापाको बुद्धशान्ति गाउँपालिका–६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ को वडा कार्यालयनजिकै टिमाई खोलामाथि निर्माण गरिएको ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’को झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
२०८१ साल असार २४ गते कोलबुङ–रमिते गौडा झोलुंगे पुलको शिलान्यास गरेका झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ महिनामै झोलुंगे पुलको निर्माण सम्पन्न भएपछि बिहीबार उद्घाटन गरे । संघीय सरकारको पाँच करोड ९८ लाख रुपैयाँ लागतमा काठमाडौंको थानी जगदम्बा जेभीले २०८३ साल जेठ २३ गतेसम्म उक्त झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने सम्झौता गरेकोमा ६ महिनामै झोलुंगे पुलको निर्माण सम्पन्न गरेकोमा कार्यक्रममा सहभागीले निर्माण कम्पनीको खुलेरै प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका साँसद शर्माले झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरेर झापाको गौरव बढाएको बताए । उनले वर्षौंदेखि आवागमनमा सकस भोगिरहेका बुद्धशान्तिको वडा नं. ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्नसमेत झोलुंगे पुल निर्माणले सहज भएको बताए ।
उनले दुई वडाका बासिन्दाको आवतजावतका लागि झोलुंगे पुलले सहजमात्र नबनाएर यहाँका बासिन्दाको जीवनस्तर उकास्ने बताउँदै झोलुंगे पुलले गर्दा पर्यटकको संख्यामा वृद्धि हुनुका साथै यहाँको व्यापार व्यवसायसमेत फस्टाउने जनाए । आफू जनताको ऋण तिर्न आएको बताउँदै आफूले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको बताए । जनप्रतिनिधिले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले बुद्धशान्ति गाउँपालिकाले कोशी प्रदेशमै नमुनायोग्य काम गरेको बताउँदै नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरेर विकासपथमा आफूलाई अब्बल सावित गरेको जनाए । कोशी प्रदेशमा स्थिर सरकार नहुँदा विकास निर्माणलगायतका काम अघि बढ्न नसकेको बताउँदै अब दुई ठूला दल मिलेर स्थायी सरकार बनेकाले अधुरा विकास निर्माणका काम पूरा हुने तथा नयाँ आयोजना सञ्चालन हुने जनाए ।
कोशी प्रदेश साँसद तथा पूर्वमन्त्री निर्मला तावा, साँसद सविना बजगाईंले झापाको बुद्धशान्ति गाउँपालिका–६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएकोमा खुसी व्यक्त गर्दै यसको संरक्षण गर्न जरुरी रहेको बताइन् । उनीहरूले बुद्धशान्तिका बासिन्दाले अब पुल अभावमा कष्टकर जीवन बिताउनु नपर्ने बताउँदै पुल निर्माणले आवतजावत सहज बनाएको बताए ।
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले झापामा विकासको मूल फुटेको बताउँदै जनप्रतिनिधिले साथ दिँदा गाउँगाउँमै सिंहदरबार आउने जनाए । रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएर रोङ गाउँपालिका–५ र ६ का बासिन्दालाई आफ्नो कृषि उपज झापाको बजारमा पुर्याउनसमेत सुविधा पुगेको बताए । उनले पुल निर्माणले आवतजावतमा सहज बनाएको बताए ।
स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनका पूर्वमहानिर्देशक कुमार थापाले बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुंगे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको तथा पुलले एकपटकमा ६४७ पदयात्रीको भार थेग्ने क्षमता रहेको बताए । कुनै पनि भौतिक पूर्वाधारको निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारितामा निर्भर हुने बताउँदै उनले ठेकेदारको अटेरी प्रवृत्तिका कारण कतिपय भौतिक पूर्वाधारको निर्माणको काम ढिलो हुने जनाए । सबैको सहयोग हुने हो भने विकास निर्माणका काम समयमै पूरा हुने उनको भनाइ छ ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डी–आकृतिको’को झोलुंगे पुल रहेको बताउँदै यसले वुद्धशान्तिको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए । उनले झोलुंगे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडालाई मात्रै जोड्ने नभई यसले त्यहाँका बासिन्दाको जीवनस्तर उकास्ने बताए ।
बुद्धशान्ति गाउँपालिका–६ का वडाध्यक्ष शिवराज पौडेलले दुई वर्षमा बनिसक्ने भनिएको झोलुंगे पुल ६ महिनामै निर्माणकार्य सम्पन्न गरेर ठेकेदारले बुद्धशान्तिबासीको मन जितेको जनाए । वडाध्यक्ष शिवराज पौडेलले ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ बनेपछि बुद्धशान्तिका वडाबासीलाई आउजाउका लागि मात्र नभएर आफ्नो कृषि उपज बजारमा पुर्याउनसमेत सुविधा पुगेको बताए ।
बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र भण्डारीले निर्माण अवधिअघि नै झोलुंगे पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदारलाई धन्यवाद दिँदै यसले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको जनाए । झोलुंगे पुल निर्माण हुनुअघि बुद्धशान्तिको वडा नं. ६ बाट बुद्धशान्तिको वडा नं. ७ जान स्थानीयबासीले ठूलो सकस भोग्दै आएकोमा अब झोलुंगे पुल निर्माण भएपछि त्यो समस्या हटेर आवागमन सहज हुने उनले बताए । ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ सञ्चालनमा आएसँंगै त्यहाँ आन्तरिक तथा वाह्य पर्यटकको भीड हुन थालेको बताउँदै उनले त्यसले बुद्धशान्तिलाई विश्वमाझ चिनाएको जनाए ।
कार्यक्रममा ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता कुन्तीदेवी कार्की, खगेन्द्रप्रसाद गड्तौला, निर्माण व्यवसायी, इन्जिनियर, पुल निर्माण गर्ने श्रमिकलगायतलाई सम्मान गरिएको कार्यपालिका सदस्य दिनेश लेप्चाले बताए । ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माण भएकोमा त्यस क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरूले बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति भएको जनाएका छन् ।