Logo

व्यावसायिक प्रतिष्ठानलाई सीएसआरको पूर्ण विवरण पेश गर्न परिपत्र

आफूखुसी खर्चमा कडाइ गर्ने सरकारको तयारी

काठमाडौं– निजी क्षेत्रले आफूखुसी सञ्चालन गर्दै आएको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) सम्बन्धी कार्यक्रममा सरकारले हस्तक्षेप गर्ने भएको छ ।

ऐनमा नियमनको व्यवस्था भए पनि अहिलेसम्म निजी क्षेत्रलाई खुला छाडिएको सीएसआरलाई अब भने कडाइ गर्न लागिएको हो । उद्योग विभागले चालु आवदेखि सीएसआरको अध्ययन सुरु गरिने र यसका निमित्त सबै व्यावसायिक प्रतिष्ठानहरुलाई सीएसआरको पूर्ण विवरण पेश गर्न परिपत्र जारी गरिएको जनाएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ बमोजिम प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यस्तो कार्यक्रममा खर्च गरेको रकमको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्बन्धित उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने कानुनी प्रावधान छ । जसअनुसार मझौला र ठूला उद्योग सबैले यस्तो विवरण पेश गर्नुपर्ने व्यवस्था छ भने वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने घरेलु तथा साना उद्योगले पनि विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । यसरी वार्षिक रुपमा सीएसआर वहन गर्ने प्रयोजनार्थ प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यस्तो कार्यक्रममा खर्च गरेको रकमको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्बन्धित उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने कानुनी प्रावधान छ । यसको स्मरण गराउँदै विभागले परिपत्र जारी गरेको निर्देशक तथा सूचना अधिकारी अर्जुन सेन ओलीले जानकारी दिए ।

विभागका अधिकारीहरुका अनुसार उद्योगमन्त्री दामोदर भण्डारीले सीएसआरको रकममा भइरहेको खर्चका सम्बन्धमा चासो राखेपछि मन्त्रालयको निर्देशनमा विभागले विवरण संकलनको काम सुरु गरेको हो । विभागले हाल दर्ता रहेका र हालसम्म विवरण पेश गर्न बाँकी उल्लेखित वर्गभित्र रहेका उद्योगहरुले तोकिएको समयभित्र अनिवार्य रुपमा विवरण पेश गर्न सूचित गरेको छ । तोकिएको विवरण पेश नगरेमा औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४३ को उपदफा (७) बमोजिम कारबाही हुने चेतावनी पनि विभागले दिएको छ ।

ऐनमा भएको कारबाहीको व्यवस्थाअनुसार समयमा विवरण उपलब्ध नगराए ठूलो परिमाणमा जरिवाना तिर्नुपर्ने अवस्था छ । कुनै उद्योगले व्यावसायिक सामाजिक जिम्मेवारी वहन नगरेमा उद्योग दर्ता गर्ने निकायको सिफारिसमा मन्त्रालयले त्यस्तो उद्योगको वार्षिक मुनाफाको १.५ प्रतिशतले हुन आउने रकम जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ । त्यस्तो जिम्मेवारी एक आर्थिक वर्षभन्दा बढी अवधिमा वहन नगर्ने उद्योगलाई प्रतिवर्ष वार्षिक खुद मुनाफाको ०.५ प्रतिशतका दरले थप जरिवाना हुनेछ ।

निजी क्षेत्र भने नेपालमा सीएसआर सम्बन्धी कुनै स्पष्ट र बलियो कानुनी प्रावधान नरहेको बताइरहेको छ । औद्योगिक व्यवसाय ऐनका अतिरिक्त हाल कम्पनी ऐन, २०६३ अनुसार ठूला कम्पनीहरूले समाजप्रति जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइएको छ । यदि सीएसआर गतिविधि अन्तर्गत समाजको हितका लागि खर्च गरिन्छ भने कर प्रणालीमा पनि केही छुट दिइन्छ । नेपालमा सीएसआर अन्तर्गत सञ्चालन हुने गतिविधि विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यावरण, समुदाय विकास लगायतका क्षेत्रहरूमा केन्द्रित छन् । छात्रवृत्ति कार्यक्रम, विद्यालय निर्माण, शिक्षण सामग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर, अस्पताल निर्माण, स्वास्थ्य सेवा उपकरण वितरणमा पनि सीएसआरको रकम खर्च हुने गरेको छ । यसैगरी वृक्षरोपण, स्वच्छता कार्यक्रम, जलस्रोत संरक्षण, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरण कार्यक्रम, विपद् व्यवस्थापन लगायतमा पनि खर्च हुने गरेको पाइन्छ ।

नेपालमा सीएसआरसम्बन्धी स्पष्ट नीतिको अभावले गर्दा व्यापारिक संस्थाहरूमा यसलाई प्रभावकारी रूपमा लागु गर्न समस्या रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल बताउँछन् । उनका अनुसार सीएसआरको महत्वबारे व्यवसायी र जनतामा अझै पूर्ण जानकारी छैन । यस्तै, सीएसआर कार्यक्रमको प्रभाव मूल्यांकनको अभाव छ । कतिपयले सीएसआरलाई ब्रान्ड प्रवद्र्धनको उपकरणको रूपमा मात्र प्रयोग गर्ने गरेको टिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्