साना दरका नोटले भरियो भल्ट, बैंकले लिन छोडे सयभन्दा तलका नोट
दोलखा– साना दरका नोटले सरकारी र निजी दुवै बैंकका भल्ट (पैसा राख्ने स्थान) भरिएपछि बैंकहरुले एक सय दरका भन्दा तलका नोट लिन छाडेका छन् ।
राष्ट्र बैंकले बजारमा ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा ल्याएको छ । १ र २ का नोट छपाइ बन्द भइसकेको छ । दोलखाका बैंकहरुमा एक सयका भन्दा तलका नोट थुप्रिएपछि राख्ने ठाउँको अभावमा साना दरका नोट निक्षेपका रुपमा लिन छोडिएको हो ।
दोलखाका लागि राष्ट्र बैंकको आधिकारिक प्रतिनिधि नेपाल बैंक हो । यो बैंकले राष्ट्र बैंकको नोट कोष चलाउँछ । अरुले नलिएका यस्ता नोट नेपाल बैंकले लिनुपर्ने हो । तर, यसको पनि भल्ट भरिएकाले नोट लिनै नसक्ने अवस्थामा पुगेको शाखाका उपप्रबन्धक मनोजकुमार ढुंगानाले जानकारी दिए । ‘सर्वसाधारणले ल्याएका साना दरका थोरै नोट अहिलेसम्म लिइराखेका छौं, धेरै ल्याए लिन नसक्ने अवस्थामा छौं,’ उनले भने, ‘राष्ट्र बैंकसँग साना नोट थुप्रिएको र राख्ने ठाउँ अभाव भएको बारेमा पटक–पटक जानकारी गराएका छौं ।’
उनका अनुसार राष्ट्र बैंकले यसका बारेमा सुनुवाइ गरेको छैन । यही कारण अहिलेको समस्या आएको हो । विगतमा नगद आवश्यक हुँदा ल्याउने र बढी हुँदा पठाउने गरिन्थ्यो । अहिले लैजान बन्द भएकाले अरु बैंकहरुबाट ल्याएको नगद लिनसमेत नसकेको ढुंगानाको भनाइ छ ।
बैंकमा साना दरका नोट थुप्रिएर समस्या परेको भन्दै बैंकरहरु प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेट्नसमेत पुगेका छन् । तर, समस्याको समाधान भएको छैन । चरिकोटमा सरकारी बैंकसहित १५ बैंकका शाखा छन् । सदरमुकाम बाहिर १४ बंैकका शाखा छन् । राष्ट्र बैंकका प्रवक्ता र सूचना अधिकारीसँग यसका बारेमा प्रतिक्रिया लिन फोन गर्दा उठेन भने ई–मेलमार्फत मागिएको जवाफ पनि आएन । सबै बैंकले ठूला दरका नोट राख्नका लागि साना नोट लिनै नमान्ने गरेको स्थानीयको गुनासो छ । बैंकहरुमा नगद राख्ने ठाउँ नहुँदा मन्दिरका भेटीसमेत केही समय नल्याउन भनिएको छ । दोलखामा मुख्य गरी कालिञ्चोक र भीमेश्वरमा धेरै भेटी संकलन हुन्छ ।
आधुनिक प्रविधिसँगै मोबाइल वालेटका कारण नगद नबोक्ने युवाहरुको बानीका कारण पनि साना दरका नोट बैंकमा थुप्रिन गएको हो । बजारमा साना नोट बढी भएकै कारण यस वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट छापेन । बजारबाट दैनिक रुपमा सहकारीले कर्मचारी खटाएर साना दरका नोट उठाउँछन् । दैनिक संकलन हुने तर बजारमा साना दरका पैसाको माग नहुँदा सहकारीमा पनि चाप परेको छ । अहिले सबै सहकारीका भल्ट भरिएको जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक राजकुमार दाहालले बताए । ‘सहकारीहरुले संकलन गरेको नगद विगतमा बैंकमै दैनिक जम्मा हुन्थ्यो,’ उनले कारोबारसँग भने, ‘अहिले बैंकले पैसा लिन मान्दैनन्, हामीले अन्तिमसम्म लियौं तर हामी पनि लिन नसक्ने अवस्थामा पुगेका छौं ।’
बजारबाट आएका वर्षौं पुराना साना दरका नोट भल्टमा रहेको राष्ट्रिय सहकारी बैंक दोलखा शाखाकी प्रबन्धक यशोदा पौडेलले जानकारी दिइन् । उनका अनुसार अहिले एक करोडभन्दा बढी एक सयभन्दा साना दरका नोट छन् । साना दरका नोटले भल्ट भरिँदा ठूला दरका नोट समेत लिन नसक्ने अवस्थामा पुगेको उनको दुखेसो छ । दशैंतिहारमा केही नोट सटही गरेर बजारमा पठाए पनि अहिले फर्किएर थुप्रिएको उनले बताइन् ।
बैंक र सहकारीले मात्र होइन, व्यापारीहरुले पनि साना नोट लिन छाडेका छन् । बैंकले साना नोट नलिने भएपछि व्यापारीले पनि यस्ता नोट लिन छोडेका हुन् ।