Logo

धार्मिक पर्यटनमा देवघाट

नेपालको मध्यभागमा अवस्थित देवघाटधाम विश्वकै सर्वाेत्तम तीर्थस्थल हो । च्यवन, वशिष्ठ, विश्वावसु, नारद प्रभृति मुनिगणले निसेवित स्वर्गका देवताहरू प्रतिवर्ष माघे संक्रान्तिमा स्नान गरी सभा गर्ने, गन्धर्व किन्नरहरूको विहारभूमि, जहाँ भगवान् पशुपतिनाथ पनि सपरिवार पर्व–पर्वमा आई बस्ने कुरा पुराणहरूमा उल्लेख भएको छ । जगत्पावनी कृष्णागण्डकी र त्रिशूली नदी तथा देवगङ्गाको (देउती खोला) संगम बिन्दु देवघाटलाई शास्त्रमा सिद्धाश्रम, शम्भुतपोवन, सप्तर्षितपोवन, हरिहरक्षेत्र, शालग्रामक्षेत्र, देवाट, आदिप्रयाग, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, चक्रतीर्थ भनी वर्णन गरिएको छ । धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वले परिपूर्ण देवघाट सबै जीवित प्राणीको स्वर्गद्वार हो ।

नेपालको मध्यभागमा रहेको त्रिशूली र कृष्णगण्डकीको संगम क्षेत्रभित्र रहेको भूभागलाई देवघाट भनिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदर कुण्डबाट बगेर कागबेनी हुँदै आएको शालिग्रामगर्भा कृष्णागण्डकी गण्डक ऋषिको गण्डकस्थलबाट उत्पन्न भएको कृष्णधारा यी दुई नदीको मिलन वेणीसंगम हो । गण्डकी नदी समान विश्वमा पुण्यदायिनी कुनै नदी वा तीर्थ छैन, द्वादशी समान पुण्यतिथि अरू छैन भन्ने कुरा स्कन्दपुराणमा चर्चा गरिएको छ । सत्य युगमा उत्तम तीर्थ पुष्कर, त्रेतामा मिथिला, द्वापरमा मधुपुरी (मथुरा) हो भने कलियुगमा गण्डकी नदी र यसका आसपासका क्षेत्रहरू पुण्यदायी, कल्मष नाशक तथा वैकुण्ठादि लोक प्राप्त गराउने बताइएको छ । पछि सूर्यलोक प्राप्त हुनुका साथै शरीरका बाह्यभ्यन्तर रोगहरू पनि नाश हुने बताइएको छ । वराहपुराणमा वर्णन भएअनुसार शंकरले गण्डकी क्षेत्रमा पाँच दिन बसेर गाई चराउनुभएकाले गर्दा नै यस क्षेत्रलाई हरिहर क्षेत्र पनि भनिएको छ । विष्णुको प्रक्षलित जल भागीरथीको जो महत्व बुझिन्छ, उनै भगवान् साक्षात् कृष्णागण्डकीमा सर्वाङ्ग डुबेर बस्नुभएकाले भागीरथीभन्दा हजार गुणा पुण्यदायिनी छिन् भन्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । त्यस्तो जगत् पावनी कृष्णा गण्डकी र त्रिशूलीको संगम देवघाट हो ।

भगवान् शंकरले कालकूट विष पान गरेपछि असह्य हुँदा त्रिशूल प्रहारबाट उत्पन्न भएको गोसाइँकुण्डबाट प्रवाहित त्रिशूली, जसमा बूढीगण्डकी, मस्र्याङ्दी, मादी, चेपे, तादी, सेती, दरौँदी, वेत्रावती समाहित छन् भने दामोदरकुण्डबाट प्रवाहित कृष्णा गण्डकीमा रुरु, रुद्रमती, आँधी, सेतीवेनी, मोदीवेनी, मङ्गला, रहू, मृषा आदि नदीहरू मिलेका छन् । यसरी कृष्णागण्डकी, शुक्लागण्डकी र देवगङ्गा (देउती खोला) मिली बनेको संगमलाई देवघाटधामको त्रिवेणी पनि भनिन्छ । त्रिशूलीको पनि शास्त्रमा ठूलो महत्व बताइएको छ । त्योभन्दा बढी महत्व कृष्णागण्डकीको छ । स्वर्गको भर्‍याङ बनेकी कृष्णागण्डकी क्षेत्रमा यमदूतहरू प्रवेश गर्न सक्दैनन् भनी स्कन्दपुराणमा वर्णन गरिएको छ । गयामा पिण्डदान गर्दा जति पितृ खुसी हुन्छन् त्योभन्दा बढी देवघाट वेनीमा पिण्डदान गर्दा खुसी हुन्छन् । जीवनमा एकपल्ट काली नदीको दर्शन मानव भएर गरेको छैन भने त्यसका सबै प्रयास निष्फल हुन्छन् । अन्य तीर्थमा सय हजार पटक स्नान गरेको पुण्य देवघाट वेणी संगम वा कृष्णागण्डकीमा एक पटक स्नान गर्दा पुण्य मिल्छ । मुक्तिधारा पनि भनिएको देवताहरू वर्षैपिच्छे विशेष गरी माघे संक्रान्तिमा यस पवित्रतम देवघाटमा आएर विहार गर्ने, सभा गर्ने, स्नान गर्ने भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

देवघाट हरि र हरको साधनाभूमि, जसलाई हरिहर क्षेत्र पनि भनिन्छ, वर्षा ऋतुमा सबै नदी रजस्वला मानिए पनि शालिग्राम गर्भमा सदाबहार धारण गर्ने हुनाले कृष्णागण्डकीमा सधैँ स्नान गर्दा दोष नलाग्ने, अझ दोब्बर पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ । विश्वमा प्रसिद्ध जगत्पावनी तीन नदी छन् । एक नेपालमा रहेको कृष्णागण्डकी काली नदी हो । विश्वमा शालिग्राम प्राप्त हुने कुनै नदी छैनन् । त्यसैगरी दोस्रो जगत्पावनी नदी हो नर्मदा, जहाँ नदीको अन्तगर्भमा नै नर्मदेश्वर महादेव हजारौँ लाखौँ प्राप्त हुन्छन् । तेस्रो नदी भागीरथी गङ्गा, जसलाई स्वर्नदी (स्वर्गकी नदी) भनेर पनि चिनिन्छ । विश्वमा चर्चित ती नदीमध्ये कृष्णागण्डकी नेपालको देवघाट वेणी संगममा एकाकार भएर नारायणीको रुप धारा गर्न पुगेकी कृष्णधारा, जसको मिलन विन्दु क्षेत्रलाई देवघाट भनिन्छ ।

देवघाट क्षेत्रमा विभिन्न दर्शनीय मठ मन्दिर, गुफा र आश्रमहरू रहेका छन् जसमध्ये मुकुन्देश्वर महादेव चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, पागलबाबा अघोर आश्रम, हरिहर आश्रम, महेश आश्रम, प्राणनाथ अनाथ आश्रम, कालिका मन्दिर, पशुपतिनाथ मन्दिर, सीतागुफा, वशिष्ठ गुफा, सूर्यकुण्ड, नेछेन थार्वलिङ बौद्ध गुम्बा (देवपुर), साँढेबगरको जलकुण्ड (महादेव मन्दिर), सत्यनारायण मन्दिर, केदारनाथ मन्दिर, श्री बद्रीनाथ मन्दिर, साई आश्रम, श्री स्वस्थानी परमेश्वरी मन्दिर, राधाकृष्ण मन्दिर एवं दुर्गा पञ्चायन मन्दिर, अभय वेदान्त साधना कुटीर, बराहमूर्ति तथा विष्णुपादुका, गङ्गामाता मन्दिर, ॐ शान्ति मैयादेवी ट्रस्ट सेवा संस्था, इन्दिरा संन्यास आश्रम (श्री दुर्गापञ्चाङ्ग शक्तिपीठ मन्दिर), अद्वैत संस्था आचार्यपीठ, कौडिन्य ऋषि आश्रम, शंकराचार्य मठ (चितवन), सीताराम मन्दिर (चितवन), लक्ष्मीनारायण मन्दिर (चितवन) शरणागती आश्रम (चितवन) सङ्कल्पेश्वर हनुमान मन्दिर (चितवन), श्री वागीश्वरी आध्यात्मिक परिषद् (चितवन वागिश्वरी क्षेत्र), विश्वशान्ति यज्ञशाला मन्दिर, अखण्ड दीपज्योति शिव मन्दिर (चितवन), श्री हरिकीर्तन वैदिक धर्मशाला, आनन्द साई श्रीराम कुटी अखण्ड धुना आश्रम, लिङ्गेश्वर शिवमन्दिर, देवघाट एनआरएन वृद्धाश्रम आदि रहेका छन् भने नवलपुरतर्फ मौलाकालिका, लक्ष्मी नृसिंह दिव्यधाम, श्री निम्बार्क दर्शन केन्द्र (राधाकृष्ण मन्दिर), शुकदेव भागवत् आश्रम आदि रहेका छन् ।

देवघाटमा मनाइने धार्मिक चाडपर्वहरूमा नववर्ष, वैशाख शुक्ल पञ्चमी, बुद्धजयन्ती, अक्षय तृतीया, ज्येष्ठ शुक्ल तृतीया, ज्येष्ठ शुक्ल दशमी, गुरु पूर्णिमा, बोलबम मेला, जनैपूर्णिमा, हरिशयनी एकादशी, श्रीकृष्ण जन्माष्टमी, सोह्रश्राद्ध, नवदुर्गा पूजा, आश्विन शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, बाला चतुर्दशी, स्वस्थानी व्रतारम्भ, माघे संक्रान्ति, सरस्वती पूजा, स्वस्थानी पूर्णिमा समापन, महाशिवरात्रि, रामनवमी, सूर्यग्रहण, चन्द्रग्रहण, गङ्गा आरती आदि हुन् । यहाँ हरेक वर्ष माघ १ गतेदेखि मकर मेला लाग्ने गर्छ ।

हाम्रो देश धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधि विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । देवघाटजस्तो धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल हुँदाहुँदै पनि त्यस क्षेत्रमा आवश्यक मात्रामा भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण देवघाट क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गराउन सकिन्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै धार्मिक पर्यटन सर्किट बनाई देशको आवश्यकताअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो । यसका लागि विकासका संवाहक युवाको महत्वपूर्ण भूमिका रहन्छ ।

देवघाट क्षेत्रका लागि प्रभावकारी धार्मिक, सांस्कृतिक पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा सो क्षेत्रमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणको महत्व पहिचान गर्न, त्यस्ता आकर्षण स्थललाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई आवश्यक मात्रामा प्रभावकारी बनाउन अझै सकिएको छैन । यस क्षेत्रमा प्रभावकारी पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नसमेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देवघाट क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत प्रभावकारी संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय धार्मिक पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण एवं परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्न ढिला भइसकेको छ ।

देवघाटजस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको पहिचान गरी विश्व बजारमा प्रचारप्रसार गर्न सके पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर छ । हाम्रो देश नेपालमा मित्रराष्ट्र भारतका चारधामजस्ता कैयौँ धाम छन् । हिन्दू धर्मावलम्बीहरूको धार्मिक धरोहर हरिहर क्षेत्र, पुनःपुनः गया, बोधगया बनारस, काशी, विश्वनाथ, विन्धवासिनी, प्रयागराज, त्रिवेणी संगम, इलाहावाद, श्री राम जन्मभूमि अयोध्या, वर्षना, नैनीसारण्य, वृन्दावन, मथुरा, गङ्गाजमुना, प्रेम मन्दिर आदिमा धार्मिक भ्रमण गर्दा धर्मका नाममा विभिन्न विकृति भएको धार्मिक तीर्थयात्रीले बेलाबखत बताउने गरेको पाइएको छ ।

यस्तो विकृति धार्मिक स्थलहरूमा हुनु हुँदैन । यस्तो विकृति नेपालका धार्मिक स्थानहरूमा नभित्रिन सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ । सोका लागि विद्यमान नीति, कानुन र प्रक्रियालाई प्रभावकारी बनाई धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरी विकासका संवाहक युवा वर्गलाई रोजगारी दिनु आजको आवश्यकता हो । यसो भएमा राष्ट्रिय अर्थतन्त्रमा दरिलो टेवा पुगी हाम्रो जन्मभूमि पनि समृद्ध हुने थियो ।

प्रतिक्रिया दिनुहोस्