लन्डन परेड, हामी र हाम्रो रोगी राजनीति !
सामान्यतः अंग्रेजी नयाँ वर्ष पुस महिनाको मध्यतिर परेको हुन्छ । राजधानी वा अन्य सहरी क्षेत्रका हुनेखाने वर्गले यस दिनलाई कुनै विशेष पर्वकै रूपमा मनाउने गरेको जगजाहेरै छ । अहिलेसम्म यसले नेपालका धेरैजसो ग्रामीण भेगका जनसंख्यालाई आकर्षित गर्न सकेको छैन । तापनि त्यहाँ इसाई धर्मावलम्बीहरूको बाहुल्यता र बोर्डिङ विद्यालयहरूको उपस्थितिका कारण क्रिसमस र हेप्पी न्यू इअरको असर फैलिँदै गएको देखिन्छ ।
धर्मनिरपेक्ष राष्ट्रमा राज्यले पनि यस्ता बाह्य सांस्कृतिक पर्वहरूलाई नियन्त्रण गर्ने सवालै उठ्दैन । हाम्रा साना नानीबाबुहरूले नयाँ वर्षका दिन बिहानै उठेर आफ्ना आमाबाबुलाई साष्टाङ्ग ढोग गरेर आफ्नो दिन सुरु गर्ने परम्परा हामी बाजे भइसकेकाहरूको स्मृतिपटबाहेक अन्यत्र छैन । धन्य छन् ती नेपाली युवा, जसले अंग्रेजी नयाँ वर्षलाई राष्ट्रिय पोसाक अथवा आ–आफ्नो जातीय पोसाक र राष्ट्रिय टोपी दिवसका रूपमा मनाएर समाजमा सद्भाव फिँजाउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् । गत पुस १७ गते देशैभर र अनेक विदेशी मुलुकहरूमा नेपाली मूलका नागरिकको टाउकोमा सगरमाथासरि ढाकाटोपी ढल्केको दृश्य जुन विभिन्न सञ्चारमाध्यमबाट प्रसारित भए, त्यो अत्यन्तै गौरवपूर्ण रहेको सबैले अनुभव गरे । अझ ऐतिहासिक कुरो त के भयो भने नेपालको सदियौँदेखिको मित्रराष्ट्र बेलायतमा प्रत्येक जनवरीका दिन हुने नयाँ वर्षको परेड (न्यू इअर परेड) मा त्यहाँ बस्ने नेपाली जनसमुदाय पनि सर्वथा पहिलो चोटि बडो उत्साहका साथ हजारौंको संख्यामा सहभागी भए ।
के पुरुष, के महिला, के युवायुवती, के वृद्ध, के गुरुङ, के मगर, के नेवार, के बाहुन–छेत्री सबै उमेर समूहका, सबै जातजातिका नेपाली समुदायको आ–आफ्नै सांस्कृतिक वेशभूषा, झाँकी र सांगीतिक प्रस्तुतिहरूको अभूतपूर्व मिश्रण देखिन्थ्यो त्यहाँ । लन्डन परेडका नामले प्रसिद्ध त्यस परेडको ऐतिहासिक महत्व छ बेलायतमा । यो सन् १९८७ देखि सुरु भएको हो । वेस्ट मिनिस्टरका मेयरले यो महत्वपूर्ण कार्यक्रमको थालनी गर्नुभएको बताइन्छ । सन् २००० मा यसको नाम ‘मिलेनियम परेड’ राखिएको थियो । रोयल वोरोफ ग्रिनविचका मेयर जित रानाभाटको नेतृत्वमा यसपटक भएको नेपाली सांस्कृतिक परेडको आकर्षणमा कुमारीसहितको खट (रथ), धिमे बाजा, नौमती बाजा, लाखे नृत्य, घाटु र विभिन्न जातजातिका मौलिक पोसाक एवं नृत्य तथा गीतहरू प्रस्तुत गरिएका थिए । कसैको पनि विश्वास गर्न सकिन्छ तर भनाइ छ, लन्डनको मौसमको विश्वास छैन ।
धेरैजसो सहभागीसँग छाता थियो । नभएकाहरूलाई स्वयंसेवीले प्लास्टिकका रेनकोट बाँडिरहेका थिए, एक जना सहभागी चन्द्र गुरुङ, जो यस कार्यक्रमका संयोजक पनि थिए । उनी नेपाल र बेलायतको सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमाथि आफ्ना विचार पोख्दै हिँडिरहेका थिए । परेड अहिले ट्राफलगर स्क्वायरदेखि वेस्ट मिनिस्टिरतर्फ अग्रसर भइरहेको थियो । पानी परिरहेको थियो । बाटोका दुवैतर्फ दर्शकको अपार भीडले नेपाली सहभागीको अभिवादन र अभिनन्दन गरिरहेको दृश्यले छाती स्वतः फराकिलो भएको अनुभव भइरहेको थियो । त्यहाँ प्रस्तुत गरिएका नेपाली सांस्कृतिक झाँकीहरूले कुनै बेला हामी पनि नेपाली वेशभूषामा सजिएर नेपाली सांस्कृतिक धरोहरको झाँकीसहित कहिले टुँडिखेल र कहिले दरबारमार्ग हुँदै नारायणहिटीतर्फ गएको स्मरण हुन्छ । त्यस्तो अन्तिम झाँकी सम्भवतः नेपाल भ्रमण वर्ष १९९८ को पहिलो दिन थियो अथवा त्यसपछि सन् २०११ मा नेपाल पर्यटन वर्ष २०११ को पहिलो दिन थियो । सडकका गल्ली–गल्लीबाट जनसमुदायले चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डा लिएर लस्कर बाँध्दै टुँडिखेलतिर गइरहेको दृश्य अत्यन्तै आकर्षक रहेको र सम्पूर्ण देशवासीलाई ऐक्यबद्ध हुन आह्वान गरिरहेको भान हुन्थ्यो ।
भिडियोमा हेरिएको उपयुक्त लन्डन परेडको दृश्यले एउटै कुरालाई मनभित्र प्रतिध्वनित गरिरहेको थियो । हाम्रा अनेकन् दाजुभाइ र इष्टमित्रहरू प्रवासमा गएर बसोबास गरे पनि केवल सुखको खोजीमा सीमित नरहेर आफ्नो देश नेपाललाई पनि कसरी सुख र समृद्धि उपलब्ध हुन सक्छ, त्यसतर्फ अहोरात्र चिन्तित छन् । उनीहरूले सामूहिक वा संस्थागत रूपमा नेपालमा विकासका अनगिन्ती आवश्यक भौतिक पूर्वाधारहरूको निर्माणमा सहयोग जुटाइदिएका छन् । आ–आफ्नो गाउँ–सहरलाई कसरी सुख–सुविधासम्पन्न बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रित रहेको पाइन्छ । आजको लन्डन त्यही लन्डन हो, जहाँ बाटाघाटा अत्यन्तै साँघुरा हुन्थे र कुनै पनि घरमा आफ्नै शौचालय हुँदैनथ्यो, आजभन्दा झन्डै अढाई सय वर्षपहिले ।
देशको नेतृत्व र जनताले चाहे भने देशको मुहार फेरिन कहाँ समय लाग्छ र ? राष्ट्र निर्माणका विषय र जनताले चाहेका सामान्य कुराका विषयमा आफ्नो समय खर्चन नचाहने नेतृत्वबाट जनताले पनि आफ्ना अपेक्षा बिर्सन खोजिरहेको एवम् विभिन्न मोडमा हाम्रो पनि देश छ र ? भन्ने प्रश्न आफैंलाई गरिरहेको परिदृश्यबाट विचलित हुँदै गइरहेको प्रस्टै छ । जनाकांक्षालाई राम्ररी बुझेर देश बचाउन लागिपरेका केही युवालाई पनि देशको नेतृत्वले सहन नसकेको तथ्य प्रस्टै छ त देशभरि बेरोजगारीको वर्तमान वीभत्स अवस्था रहँदारहँदै पनि समाचारपत्रहरूमा छपाइन्छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा झन्डै ९ लाख ठाउँ छँदाछँदै पनि १ हजारको आवेदन पर्यो अरे । यस्ता अरेका कुरामा अब आम मानिसको विश्वास छैन । नेतृत्व नकचरो भयो भने किसानले आफ्नो तथा आफ्नो परिवारको श्रम र समयसँगै भएको सानो धन खर्चेर फलाएको धानजस्तो अन्नबाली खेतमै गएर आगो बालिदिने किसिमको राजनीतिक प्रशिक्षण दिने राजनीतिक दलहरूको भत्र्सनाबाहेक अरू केही गर्न सकिने वातावरण छैन ।
पञ्चायतकालमा बाटोका रेलिङहरू उखेलेर फाल्दा जनताले नै भन्थे, त्यो कुकृत्य हो । खेतमा सुकाएको धानमा आगो लगाइदिने काम के कुकृत्य होइन ? आफ्ना अनुयायी वा झोले समर्थकहरूलाई राजनीतिक प्रतिशोधको यस्तो निकृष्ट काम गर्न लगाउने सम्पूर्ण मानव जातिको नै अक्षम्य शत्रु हो । त्यस्ता शत्रुलाई नेतृत्वको सम्मान दिनुपर्ने ? कस्तो दूषित राजनीतिक संस्कार र संस्कृतिले हामीलाई विक्षिप्त बनाउँदै गइरहेको छ ? नेता त त्यो हो, जो आफ्ना जनतामाझ निर्धक्कसँग जनताका कुरा सुन्दै हिँड्न सक्छ, न कि सुरक्षा भ्यानहरूलाई अघि र पछि लगाउँदै आफ्नो ज्यानको सुरक्षाको शतप्रतिशत प्रत्याभूति लिएर । पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरबारे एउटा आलेखमा पढेको स्मरण छ, राष्ट्रपति पदबाट निवृत्त भएपछि उनी आफ्नो सामान्य घरमा सामान्य व्यक्तिझैं बस्थे । र, विभिन्न ठाउँमा शैक्षिक कार्यक्रममा प्रस्तुतीकरण दिएर आएको सम्पत्तिबाट उनले कार्टर फाउन्डेसन स्थापना गरे, जसले आज संसारका करोडौं विपन्नलाई नियमित रूपले आवश्यक सेवा प्रदान गरिराखेको छ ।
त्यहींकै पूर्वराष्ट्रपति ओबामा पनि अहिले एउटा सामान्य फर्ममा जागिरे छन् । राष्ट्रपति भएपछि पनि खर्च जुटाउन किताब लेखे । वैदेशिक ऋणमा भर परेर राज्य सञ्चालन गर्नुपर्ने नेपालजस्तो मुलुकमा नेताहरूलाई उनको जीवनकालभरि जनताले राज्यलाई तिरेको तिरोबाट पाल्नुपर्ने । अढाई करोड जनसंख्या भएको मुलुकलाई सात–सातवटा प्रान्तमा विभाजित गरी प्रत्येक प्रान्तमा आफ्ना कार्यकर्ताको देवत्वकरण गर्नुपर्ने । राज्यका प्रत्येक अंगलाई राजनीतीकरण गरी दुई–चार जना टाठाबाठाले पालैपालो राज्यको दोहन गर्नुपर्ने, ठूल्ठूला महत्वाकांक्षी सपनाको वाटिकामा कृत्रिम फूल टाँसेर देखाउँदै यो स्वर्ग हो भन्नुपर्ने ? स्वर्गरूपी वाटिकाको संरक्षणमा कर्तव्यनिष्ठ भएर इमानदारीपूर्वक काम गर्ने कर्मीहरूलाई राजनीतिक आक्षेप लगाएर वा अन्य कुनै तरिकाले हुन्छ, आरोपित बनाएर स्याक गर्न खोजिएका खबरहरूले सचेत नेपाली जनता दुःखी छन् । अनि स्वयं अख्तियारको अनुसन्धानमा परेका बेला कुनै संस्थानका निर्देशकलाई मन्त्रीद्वारा एकपछि अर्को गर्दै नौ–नौवटा स्पष्टीकरण सोधिन्छ ।
हेक्का रहोस्, म काठमाडौंवासीका मनमा मेयर बालेन बसेझैं डा. सन्दुक रुइत, कुलमान घिसिङ, डा. महावीर पुनहरू सम्पूर्ण देशवासीको मनमा स्थायी बसोबास गर्ने ऐतिहासिक वीर पुरुषका रूपमा स्थापित भइसकेका छन् । भ्रष्टाचारीहरूको फाइलको सन्दर्भ कहाँ पुग्यो ? देशको सुशासनले कति पाइला चालिसक्यो । एउटा व्यक्तिको अनुसन्धानमा संसदीय छानबिन समितिदेखि लिएर कतिवटा जिल्लामा अदालती प्रक्रिया अघि बढाइयो ? यही हो, नेतृत्वको कार्यशैली । सोफिज वल्र्डको अलबर्टोझैँ बनेर हामीलाई सोफीजस्तै अनभिज्ञ पात्रको स्वरूपमा नहेर्न हाम्रा नेतृत्ववर्गलाई हामी अनुरोध गर्छाैं । मुलुकमा गरिब छन् नागरिक, दुःखी छन्, शोषित छन्, उत्पीडित छन्, निरुपाय र निःसहाय छन् र नेतृत्वका प्रत्येक क्रियाकलापबाट परिचित र प्रभावित पनि छन् । हाम्रो संसद्भित्रबाट गुञ्जेका डा. चन्द्र भण्डारी, सुमना श्रेष्ठ, चित्रबहादुर केसी, प्रेम सुवाललगायत अन्य कैयौं जनप्रतिनिधिको स्वर राष्ट्र प्रमुखसम्म पुग्ने कुनै माध्यम छैन ? देशभित्र शैक्षिक सुधारको माग राख्दै अहिले एकल आन्दोलनमा रहेका युवाको आवाज के त्यत्तिकै दबिएर जाने हो ?
बालेन र सुनिताहरूको धपधप बलिरहेको व्यक्तित्वले हाम्रा कृत्रिम र आडम्बरी नेतृत्वलाई अझै पनि लज्जित तुल्याएको छैन ? पहुँच नपुगेका कालीकोट अथवा सिमीकोटका हर्कबहादुर र बलबहादुरहरूलाई जेल कोचेर देशको शासन बाग्डोरलाई सन्तुलित राख्ने सपना देख्न हुँदैन । आफ्नै दाहिने अथवा बायाँतर्फ पनि हेर्न पर्यो । माओवादीको सच्चिने प्रयासको जनस्तरबाटै सराहना भइरहेको अवस्थामा एमाले र कांग्रेसभित्र किन असन्तुष्टिका तरंगहरू आइरहेका छन् । हिन्दीमा एउटा भनाइ छ, तलाउ (पोखरी) की एक मछली (माछा) सारे तलाउको गन्दा (फोहोरी) बना देती है । त्यस्ता माछालाई पोखरीबाट बाहिर ननिकालीकन देशमा अमनचैन र सुशासनको कल्पना निरर्थक हुन्छ ।
मुलुकमा अहिले पर्यटन दशकको चहलपहल छ । देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी विदेशी पर्यटकलाई आकर्षित गर्ने होडबाजी छ । पर्यटकको गणितीय लक्ष्य पूरा गरेपछि गुणस्तरीय लक्ष्यको शुभारम्भ गर्ने ध्येयका साथ निजी क्षेत्रले पूरा गर्दै आएको लगानीका आँकडाले एकातिर रोजगारीका अवसर र अर्कातिर आर्थिक सुधारका संकेत देखाइरहेको पाइन्छ । गत वर्ष (सन् २०२४ मा) हवाई मार्ग हुँदै नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार ५ सय ६७ रहेको तथ्यांक प्रकाशित भएको छ । वर्षारम्भमा पर्यटन मन्त्रीलगायत अन्य सम्बन्धित निकाय प्रमुखहरूले सन् २०२४ मा १६ लाख पर्यटकलाई नेपाल भित्र्याउने आकलन ओकलेका थिए । लागेको थियो, नेपाल सरकारले नेपाल वायुसेवा निगमलाई कम्तीमा पनि अहिले दुईवटा जहाजको उपहार ल्याउनेछ । तर, हाम्रा अहिलेका नेतृत्ववर्गलाई राष्ट्रिय ध्वजावाहक सुरक्षित छ जस्तो अझै लागेको छैन । आफ्नो राष्ट्रिय गौरवको प्रवद्र्धनका लागि त्यस प्रकारको प्रवृत्तिले पर्यटनको श्रीवृद्धिमा हाम्रा प्रयासहरूलाई नकारात्मक बनाइदिन्छ ।
सन् २०२२– २३ मा राज्यले पर्यटनबाट ६१ अर्ब ५२ करोड २७ लाख रुपैयाँ आर्जन गर्न सफल रहेको हामीले बिर्सनु हुँदैन । पंक्तिकारले धेरैचोटि यसै स्तम्भमा लेखिसकेको छ । पर्यटन हाम्रा निम्ति कामधेनु गाईजस्तै हो । राजनीतिक अस्थिरताले होइन, हामीलाई पछि धकेलेको राजनीतिक रुग्णताले हो । अन्त्यमा, लन्डन परेडमा नेपालको सहभागिताबाट हामीले लाखौं डलरको माइलेज पाएका छौं । हामी अब मात्र सगरमाथा, बुद्ध र जलस्रोतको देशका रूपमा होइन, यहाँको जैविक विविधता र अन्य अनेक विशेषताका बाबजुद वीर गोर्खाली, आफ्नो अमूल्य जातीय संस्कृति र जीवनशैलीका लागि सम्पूर्ण विश्वभरि परिचित भइसकेका छौं, त्यसमा कुनै सन्देह छैन् ।
(लन्डननिवासी राम शर्माले पठाएको भिडियो र फोन वार्तामा आधारित)