खाल्टेका हरेक घरमा सुन्तलाबाट आम्दानी «

खाल्टेका हरेक घरमा सुन्तलाबाट आम्दानी

पोखरा-स्याङजाको वालिङ तिरासी बजारदेखि उत्तरपूर्व ७ किलोमिटर कच्ची सडकको यात्रा गरेपछि खाल्टे पुष्गिन्छ । जहाँ सुन्तला वारीले घर गाँउ नै ढाकिएको छ । वालिङको एलादी–४ खाल्टेमा ३२ घर परिवार भएको पर्यटकीय गाँउका स्थानीय सुन्तला खेतीमा सक्रिय छन् ।
हरेक घर परिवारले परिश्रम गरेर सुन्तला बगैँचा विस्तार गर्दै सुन्तलाको आम्दानीबाटै घरयासी काम गर्दै आएका छन् । एक सय ४० वर्ष अघिदेखि सुन्तला खेती हुँदै आएको उक्त क्षेत्रमा ४० वर्षदेखि व्यावसायिक सुन्तला खेती हुँदै आएको स्थानीयले बताए ।
खल्टेका हरेक घर परिवारले यस वर्ष न्यूनतम एक लाख ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको स्थानीय कृषक क्या.डिलक्रिकम गुरुङले बताए । उनले यस वर्ष ५ सय सुन्तलाको बोटबाट करिब ५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताए ।
उनले गत वर्ष राम्रो सुन्तला फल्दा करिब ८ लाख रुपैयाँ आम्दानी भएको बताए । स्थानीय जातको सुन्तला लगाएका क्या. गुरुङसहितका गाँउलेको सुन्तला बारीमा हालसम्म रोग नलागेकाले राम्रो आम्दानी भएको बताए । सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्षसमेत रहेका क्या.गुरुङले सुन्तला उत्पादनसँगै गाँउमा भएको होमस्टेले गाउँ बस्तीलाई बसाइँ सराइबाट भने रोक्न सफल भएको बताए ।
स्थानीय कृषक सुवेदार मेजर खेमराज गुरुङले यस वर्ष करिब ९ लाख ५० हजारको सुन्तला उत्पादन गर्ने लक्ष्य राखेका छन् । गत वर्ष उनले करिब ८ लाखको सुन्तला बिक्रि गरेका थिए ।
खाल्टे क्षेत्रमा यस वर्ष करिब ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको सुन्तला बगैंचा व्यवस्थापन समितिका संस्थापक पूर्व सचिव शेरबहादुर गुरुङले बताए ।सुन्तलावारी होमस्टेका संयोजक मोहन खनालले यस वर्ष उक्त क्षेत्रमा करिब ८० लाखको सुन्तला उत्पादन हुने बताए । उनका अनुसार हाल समय अनुसार सुन्तला वारी होमस्टेमा सुन्तलाको मूल्य निर्धारण गरिएको छ । हाल सुन्तलावारी होमस्टे क्षेत्रमा प्रतिकेजी ६० देखि ६५ रुपैयाँमा सुन्तला बिक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस्