तराइमा फल्न थाल्यो स्ट्रबेरी ! «

तराइमा फल्न थाल्यो स्ट्रबेरी !

झापाको बाह्रदशी गाउँपालिका–१ मा लगाइएको स्ट्रबेरी खेतीले उत्पादन दिन सुरु गरेको छ । गोल्यन गु्रपको गोल्यन एग्रो प्रालिले ३८.५ एकड (करीब ३२ बिघा) जग्गामा लगाएको स्ट्रबेरीले उत्पादन दिन सुरु गरेको हो । उक्त स्ट्रबेरी गत कात्तिक ११ गते रोपिएका हुन् । व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो भएको दावी गरिएको छ । अहिले स्ट्रबेरी कुनै फुल्दैछन् भने कुनै बोटमा फल लाग्न थालिसकेका छन् ।
ड्याङ बनाउर व्यवस्थित रुपले स्ट्रबेरी रोपिएका छन् ।
चिस्यान सुक्न नदिनका लागि ड्याङलाई प्लाष्टिकले छोपिएको छ । प्लाष्टिकलाई प्वाल पारेर त्यही प्वालमा ३० सेन्टिमिटरको दुरीमा स्ट्रबेरी रोपिएको गोल्यन एग्रो प्रालिका प्राविधिक विवेक शुक्लाले बताए । “आफ्नै बेर्नाबाट उत्पादित ६ लाख विरुवा रोपेका छौँ” उनले भने । कामारोजा, विन्टरडाउन, नेभिला र स्वीट्स सेसेसन गरी स्ट्रबेरी चार प्रकारको हुन्छ । चारै प्रकारका स्ट्रबेरीहरु त्यहाँ लगाइएको प्राविधिक शुक्लाले बताए । गोलो खालको स्ट्रबेरी पनि फलाउने तयारी गर्दैछ ।
स्ट्रबेरीका लागि चिसो हावापानी उपयुक्त मानिन्छ । “तराईको हावापानी पनि उपयुक्त नै छ” शुक्लाले भने, “तर पनि जाडो मौसमको सदुपयोग गरी हिउँदमै फसल निकाल्ने तयारी गर्दैछौँ ।” एक साता पछिबाट कम्पनीले स्ट्रबेरी ग्राहकसमक्ष पु¥याउने भएको छ । उत्पादित स्ट्रबेरी नेपाललगायत भारत, दुवइ, कतारमा आपूर्ति गरिने कम्पनीमा कार्यरत नेत्र श्रेष्ठले बताए ।
बजार अध्ययनले बजारमा स्ट्रबेरीको माग राम्रो रहेको उनी बताउँछन् । हाल स्ट्रबेरीको बजार मूल्य प्रतिकिलो सात सय रुपैयाँको दरले बिक्री हुने गरेको छ । स्ट्रबेरी स्टकका लागि धमाधम कोल्डस्टोर निर्माण भइरहेको छ । गोल्यन कम्पनीले पूर्ण अर्गानिक रुपमा स्ट्रबेरी खेती गरेको जनाएको छ । “हामी विषादी र रासायनिक मल प्रयोग गर्दैनौँ” प्राविधिक शुक्लाले प्राङ्गारिक मल देखाउँदै भने, “यो उखुको मल हो, हामीले वीरगञ्जबाट ल्याएका हौँ ।”
स्ट्रबेरी दुई महिनामा फल्ने गर्छ । रातो स्ट्रबेरीले जो कोहीको मन लोभ्याउने गरेको छ । बाह«दशीमा स्ट्रबेरी अवलोकन गर्न जानेको संख्या पनि बढ्दै छ । “सबैले उत्सुकताका साथ स्ट्रबेरीका बारेमा सोध्ने गर्छन्, दिनमा ४०—५० जनाका दरले हेर्न आउनुहुन्छ” स्ट्रबेरी खेतीको हेरचारका लागि खटिएका मानबहादुर थापाले भने, “आगन्तुक चासो लिएर हेर्ने र सोध्ने गर्नुहुन्छ ।” स्ट्रबेरीको अवलोकनका लागि स्थानीयसँगै अन्य जिल्लाबाट पनि आउने गरेको थापाले बताए ।
मस्ट्रबेरी खेतीभित्र अवलोकनकर्तालाई गुट्का र सुपारी प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । गुट्का र सुपारीले स्ट्रबेरीको बोटमा विषको काम गर्ने गरेकाले प्रयोग गर्न प्रतिबन्ध लगाइएको थापाले जानकारी दिए । खेतीका लागि शुरुमा सय जना कामदार खटिन्थे भने अहिले ६५ जनाले दैनिक काम गरिरहेका छन् । पाँच सय रुपैयाँको दरले स्थानीयहरुलाई नै रोजगारमा लगाइएको कम्पनीले जनाएको छ ।
गत पुस १५ गते झापाको कमल गाउँपालिकाका तीनवटा सहकारी संस्थाका ३५ जना सदस्य स्ट्रबेरीको अवलोकनका लागि बाह«दर्शी गएका थिए । पूर्व नेपाल, नवोदय र इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्ट्रबेरी खेती अवलोकन गराएको हो । सहकारीकर्मीलाई कृषि ज्ञान केन्द्र भद्रपुरका बाली संरक्षण अधिकृत खिरबहादुर श्रेष्ठले गाइड गरेका थिए । उनी पनि पहिलोपटक त्यहाँ गएका हुन् ।
“पहाडी भेगमा मात्र हुँदै आएको स्ट्रबेरी तराइ क्षेत्रमा पनि व्यवस्थित रुपले खेती गरेको देख्दा राम्रो लाग्यो” अधिकृत श्रेष्ठले भने, “आम्दानी राम्रो भएमा झापाकै अन्य ठाउँहरुमा पनि विस्तार गर्न सकिन्छ ।” स्ट्रबेरी फललाई बहुउपयोगी मानिन्छ । झापाको बाह«दर्शीमा स्ट्रबेरी खेती सुरु भएसँगै कृषि क्षेत्रमा नयाँ आयाम थपिएको स्थानीय बताउँछन् । स्ट्रबेरी खेतीले कृषिमा प्रविधि भित्रिएको साथै रोजगारी सिर्जना भएकाले अर्थतन्त्रमा सघाउ पुग्ने कृषि विज्ञ बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्