वैदेशिक रोजगारीको योगदान रकम नियमित गराउन चुनौती
सामाजिक सुरक्षामा आर्कषण गराउन कार्यविधि संशोधनको तयारी
काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनाको योगादान रकम नियमित गराउन कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांक्ष श्रमिक श्रम स्वीकृतिको प्रक्रियाका लागि मात्र योजनामा सूचिकरण हुने गरेको देखिएपछि सामाजिक सुरक्षा कोषले कार्यविधिमा संशोधन गर्ने तयारी गरेको हो ।
कोषका निर्देशक विवेक पन्थीले योगदान रकमलाई नियमित गराउन तथा कोष सूचिकृत गराउने अभिप्रायले कार्यविधिमा संशोधन गर्न समिति बनेको बताए । समिति दिएको सुझावका आधार कार्यविधि संशोधन गरी सुविधा बढाइने छ । सरकारले सबै वर्गका श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा अनिवार्य सूचिकरण भएर नियमित योगदान रकम जम्मा गर्ने प्रावधान बनाएपनि वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान रकम नियमित हुन सकेको छैन ।
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि संचालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागि मात्र रकम जम्मा गर्नेे गरेका छन् । श्रम स्वीकृति लिन मात्र कोषमा रकम जम्मा गर्नु पर्ने बुझाइका कारण रकम नियमित हुने गरेको छैन । सामाजिक सुरक्षा योजनाको फाइदा भन्दा पनि श्रम स्वीकृति पाउन बाध्य भएर रकम जम्मा गर्ने गरेको जस्तो देखिएको छ ।
रोजगारीका लागि विदेश जाने अधिकांक्ष्श युवाले विदेश पुगेपछि सामाजिक सुरक्षाको योगदान रकम नियमित नगर्दा सूचिकरण हुनेको संख्या औपचारिक श्रमिक भन्दा दोब्बर भएपनि रकम संकलन भने न्यून रहेको छ । अहिलेसम्म यो योजनामा सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् । यो तथ्यांकले विदेश जानका लागि मात्र मजदुर योजनामा आवद्ध भएको देखाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेको छ । गएको मंसिर २८ सम्म १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएका छन् । अघिल्लो वर्षको चैतदेखि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने योजना कार्यन्वयनमा ल्याएपछि यो संख्यामा श्रमिक आवद्ध भएका हुन् । यसरी आवद्ध भएका श्रमिकले मंसिरसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । वैदेशिक रोजगारीमा गएका श्रमिकको नियमित योगदानको सुनिश्चितता गराउने विषय कोषका लागि प्रमुख चुनौती बनेको छ । सरकारले वैैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागी गराउन प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरिरहेका कारण योगदानकर्ता बढ्ने कोषको विश्वास छ ।
हालसम्म सूचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । सरकारले औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा अघिल्लो वर्षको चैतबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको थियो । सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको हो । नयाँ जाने श्रमिक श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आवद्ध हुने गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।