Logo

केरा कृषकलाई बोटमै नगद

बारा– फलफूल व्यवसायीले बाराको विभिन्न क्षेत्रमा लगाइएको केराखेतीमै पुगी बोटमै नगद रुपैयाँ दिँदै केरा लैजान थालेका छन् । भारतबाट केरा ल्याउँदा ढुवानी लगायतमा लागत महँगो हुन थालेपछि देशका प्रमुख सहरका व्यवसायीले जिल्लाको निजगढ, सिंगौल, टागीयाबस्ती लगायतका क्षेत्रका किसानसंँग बोटमै नगदै दिएर केरा खरिद गरी लैजान थालेका हुन् ।

कृषकले बोटमै नगद रुपैयाँ पाउन थालेपछि उत्साहित बनेका छन् । बारामा प्रतिहेक्टर १६ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । एक बिगामा लगाइएको केराखेतीबाट सरदर दुईदेखि तीन लाखसम्म कृषकले आम्दानी गर्ने गरेका छन् । सामान्य अवस्थामा डेढ रुपैयाँ र बजार उच्च बन्दा पाँच रुपैयाँसम्म प्रतिकोसा केराको बोटमै नगदमा बिक्री हुने गरेको छ । केराको माग बढ्दै गएपछि बाँझो जमिन भाडामा लिएर केराखेती बढाएको सिंगौलका लक्ष्मण थापाले बताए ।

उनले खेतीपातीमा स्थानीय सरकारको प्रत्यक्ष सहयोग हुन थालेपछि बल्ल व्यावसायिक कृषकको परिचय बन्न पुगेकोमा उत्साहित भएको बताए । आयातीत भारतीय केराको बजार विस्थापन गर्न बाराका कृषकले गरेको केराखेतीले बलियो भूमिका निर्वाह गर्दै आएको देखेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जितपुर–सिमरा उपमहानगर तथा निजगढ नगरपालिकालाई केरा जोनको रूपमा विकास गर्न थालेको छ ।

परियोजनाले किसानसँग काम थाल्ने भएसँगै कृषकको २८ वटा समूह परियोजनामा सूचीकृतसमेत भएको छ । कति कृषक परिवार केराखेतीमा आश्रित छन् भन्ने तथ्यांक संकलन थालिएको बताउँदै परियोजनाका सूचना अधिकारी आर्या जोशीले केराको उन्नत जातका बीऊ, अनुदान, प्राविधिक सहयोग, तालिमजस्ता केराखेतीमा हुने समस्या सामधान गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोडिएकोे बताइन् ।

भारतीय केरा नेपाली बजारमा रोक लगाउन सरकारले केराका लागि बिमा नीति, बजार व्यवस्थापन, उचित सिंँचाइको सुविधा, बीऊबिजन, मलखाद, किटनाशक, अनुदान, प्राविधिक परामर्श केराखेती गर्ने किसानका लागि अतिआवश्यक रहेको केरा उत्पादक कृषक शंकर थापाले बताए । बाराको ५७६ हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको तथा कोहल्बी र सिम्रौणगढ पालिकामा समेत केराखेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रले जिल्लाको बजारको माग तीन वर्षअघि नै पूर्ति भए पनि हाल जिल्लाबाहिर प्रदेशका सहरमा बाराको केरा निर्यात हुन थालेको उल्लेख गरेको छ । केही वर्ष अघिसम्म निजगढले उत्पादन गरेको उखुले इन्दुशंकर चिनी मील सर्लाही तथा श्रीराम सुगर मिल गरुडा रौतहटका उद्योगको उत्पादन धानेकोमा उखुको पैसा लिन आन्दोलन गर्नु परेपछि किसानले केराखेती थालेको निजगढ नगरपालिका पूर्वमेयर शुरेसकुमार खनालले बताए । केराबाहेक तरकारी, उखु, माछा, धान, दूध तथा खाद्यान्नमा जिल्ला आत्मानिर्भर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्