Logo

बुटवलको अन्तर्राष्ट्रिय सभाहल सञ्चालनको बाटो खुल्यो

बुटवल– बुटवलको अन्तर्राष्ट्रिय सभाहल व्यवस्थित रूपमा सञ्चालन गर्ने बाटो खुला भएको छ । २०६९ भदौ भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सभाहलको उद्घाटन गरेका थिए । सञ्चालनको कार्यविधि नबन्दा दुई वर्षभन्दा बढी समयसम्म यो कसरी सञ्चालन गर्ने भन्ने बारेमा अलमल थियो । पछिल्लो समय विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ तयार भएपछि सभाहल सञ्चालनको बाटो खुलेको हो ।

विकास समिति गठन आदेश गत मंसिर ३ गते राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएपछि अब सभाहल सञ्चालनको बाटो खुलेको अन्तर्राष्ट्रिय सभाहल निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । ‘गठन आदेशअनुसार समिति बनेपछि अब कानुनी रूपमा अन्तर्राष्ट्रिय सभाहल सञ्चालनको बाटो खुलेको छ । उहाँहरु आफूले नियमावली बनाउनुहुन्छ । त्यही समितिबाट स्वीकृत हुन्छ,’ उनले भने, ‘अब हलको भाडा तोक्ने, कर्मचारीको व्यवस्था दिने या लिजमा दिनका लागि मूल्यांकन गर्ने जिम्मा समितिको हुन्छ ।’

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको अध्यक्षमा सहरी विकास मन्त्रालयका सचिव रहने गठन आदेशमा उल्लेख छ । समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव, गृह मन्त्रालयका सहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, सहरी विकास मन्त्रालयअन्तर्गत आवास भवन तथा योजना महाशाखाका सहसचिव रहने छन् । त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा निजले तोकेको प्रतिनिधि र होटल संघ नेपालका अध्यक्ष पनि सदस्यको रूपमा रहने व्यवस्था छ ।

समितिले बुटवल अन्तर्राष्ट्रिय सभाहलसहित बुटवलकै अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, काठमाडौं बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुर गोदावरीको सनराइज सभाहल, काठमाडौँ सुनधाराको धरहरा र दमकको भ्यु टावरको संरक्षण, रेखदेख र सञ्चालनको काम गर्नेछ । समितिको बैठकमा जुन संरचनाको बारेमा छलफल र निर्णय हुन्छ सो संरचना रहेको स्थानीय तहका प्रमुख वा निजले तोकेको प्रतिनिधि पनि बैठकमा सदस्यको रूपमा रहने व्यवस्था छ ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहल अब छिटै विकास समिति मातहत जाने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । ‘एक दुई पटक आएर उहाँहरूले सभाहलको अवलोकन भ्रमण पनि गरिसक्नुभएको छ,’ उनले भने, ‘गठन आदेशअनुसार सभाहल सञ्चालन छिट्टै कार्यान्यन हुन्छ भन्नुभएको छ ।’ केही दिनअघि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि बुटवल आएका थिए । अन्तर्राष्ट्रिय सभाहलको अवलोकन र निरिक्षण गरेपछि सिंहले पनि छिट्टै व्यवस्थित रूपमा सञ्चालन हुने बताएको पन्थीले बताए ।

काठमाडौं नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि विकास समितिमार्फत् सञ्चालन हुने गरेको छ । सोही सैलिमा बुटवलको अन्तर्राष्ट्रिय सभाहल सञ्चालन हुने सहरी विकास मन्त्रालय अन्तर्गत आवास भवन तथा योजना महाशाखाका सहसचिव दिलिप भण्डारीले बताए । ‘बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गठन आदेशबाट सञ्चालनमा थियो । हामीले त्यो गठन आदेश संशोधन गरेर बुटवलको सभाहल लगायत ६ वटा संरचना विकास समितिअन्तर्गत ल्यायौं,’ उनले भने, ‘अब यही महिनाभित्र बुटवलको अन्तर्राष्ट्रिय सभाहल समितिअन्तर्गत सञ्चालन हुन्छ ।’

गठन आदेशअनुसारको समितिले आफ्नै कर्मचारी राखेर पनि बुटवलका अन्तर्राष्ट्रिय सभाहल चलाउन सक्छ । त्यसबाहेक समितिले नै कुनै प्रक्रियामा गएर लिजमा दिन पनि सक्ने सहसचिव भण्डारीले बताए । विकास समितिमा कार्यकारी निर्देशक चयन हुन बाँकी छ । कार्यकारी निर्देशकको नियुक्त प्रक्रियाका लागि केही समय लाग्न सक्छ । त्यसअघि मन्त्रिपरिषद्ले कोही सहसचिवलाई कार्यकारी निर्देशकको काम गर्ने गरी खटाउने तयारी गरेको छ ।

बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा एक अर्ब ११ करोड रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय सभाहल निर्माण भएको हो । बुटवल मण्डपको कुल १६ बिगा जग्गामध्ये नौ बिगा जग्गा सभाहल परिसरले ओगटेको छ । अन्तर्राष्ट्रिय सभाहलमा साना ठूला गरेर १३ वटा हल रहेका छन् । कार्यक्रम गर्नका लागि हजार सिट क्षमताको ठूलो हलमात्र तयार रहेको छ । अरु हलमा पर्दा, स्टेज माइकलगायत उपकरण र सजावटका काम भएको छैन । २०७१ सालमा निर्माण सुरु भएको अन्तर्राष्ट्रिय सभाहलको पहिलो प्याकेज २०७७ सालमा सकिएको थियो ।

दोस्रो प्याकेज २०७९ मा सम्पन्न भएको हो । अन्य हलमा उपकरण जडान तथा मर्मतका लागि १९ करोडको काम गर्न बाँकी रहेको आयोजना प्रमुख धर्वेन्द्र पन्थीको भनाइ छ । ‘स्रोत सुनिश्चितता नभएकाले थप कामका लागि ठेक्का लगाउन सकेका छैनौं । त्यसका लागि हामीले डिजाइनसहित साढे १९ करोडको बजेट प्रस्ताव गरेर पठाएको दुई वर्ष भइसक्यो,’ उनले भने, ‘यो वर्ष पनि दुई करोड रुपैयाँ आएको छ । त्यसले अलिकति पनि काम हुँदैन ।’ विशिष्ठ संरचना सञ्चालन तथा व्यवस्थापन समिति मातहत सभाहल गएपछि बाँकी काम समितिले पनि गर्न सक्नेछ ।

उक्त समितिले भवन विभागलाई निर्माण गर्न पनि भन्न सक्ने छ । उद्घाटन भएदेखि अहिलेसम्म बुटवलको अन्तर्राष्ट्रिय सभाहलले ७० लाख जति आम्दानी गरेको छ । त्यो रकम राजस्वमा दाखिला हुने गरेको छ । सञ्चालन विधि नहुँदा ठूलो हलबाहेक अन्य साना हल भाडामा जान सकेको छैन । साना हलको माग पनि निकै आएको र दिन नसकिएको आयोजना प्रमुख पन्थीले बताए । विकास समिति मातहत गएपछि सानाहलमा पनि उपकरण जडान र सजावट गरी भाडामा दिने हो भने अन्तर्राष्ट्रिय सभाहलले राम्रो आम्दानी गर्न सकिने आशा गरिएको छ । सभाहल परिसर खुल्ला ठाउँ र त्यहाँ पर्याप्त पार्किङको व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्