काँकडभिट्टाबाट १२ हजार पर्यटक भित्रिए
बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपाल घुम्न आउने पर्यटक संख्या ११ हजार ७ सय ५६ पुगेको छ । सन् २०२४ मा नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपाली विद्यार्थीसहित विदेशी पर्यटक नेपाल प्रवेश गरेका अध्यागमन कार्यालय काँकडभिट्टाले बताएको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा काँकडभिट्टा भएर नेपाल प्रवेश गर्नेको संख्या ३ हजार ३ सय जतिले बढेको देखिएको छ ।
सन् २०२३ मा ५ हजार ३ सय नेपाली विद्यार्थीसहित ८ हजार ४ सय जतिले नेपाल भ्रमण गरेका थिए । गत वर्षको जनवरीदेखि डिसेम्बरसम्म काँकडभिट्टा भएर अध्ययनका लागि विभिन्न देश गएर फर्केका ५ हजार ६ सय ५५ जना नेपाली विद्यार्थी तथा ४ हजार ९ सय १६ जना भुटानी र १ हजार १ सय ८५ जना अन्य मुलुकका नागरिक नेपाल प्रवेश गरेको कार्यालयले जनाएको छ ।
कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका नागरिकहरूलाई सबै भिसा दिन बन्द गरेको र एक अगष्ट २०२४ देखिमात्र भारतीय पक्षले तेस्रो मुलुकका पर्यटकका लागि नाका खुलाएकाले ती संख्यामा पर्यटक नेपाल आएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
कोरोना भाइरसको कारण देखाएर पूर्वी नाका काँकडभिट्टा हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ नदिँदा त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको बताउँदै उनले एक अगष्ट २०२४ सम्म ओभरसिज सिटिजन अफ इण्डिया (ओसिआई) र प्रवासी भारतीय नागरिक (कार्ड) भएकाहरू मात्र भारतीय भूमि भएर पैदलमार्ग हुँदै नेपाल आउने गरेका थिए । एक अगष्ट २०२४ देखि भारतीयपक्षले तेस्रो मुलुकका पर्यटकका लागि पनि नाका खुलाएकाले पर्यटक आउन सहज भएको छ ।
तेस्रो मुलुकका नागरिकका लागि लामो समयसम्म नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकडभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानी ट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानी बाहेक तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल नहुँदा पर्यटन व्यवसायी मारमा परेका थिए ।
कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानी ट्यांकीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति नदिएको कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन नपाएकोमा सन् २०२४ को अगस्ट एक तारिखबाट मात्र भारतले पानी ट्यांकी नाका पर्यटकका लागि खुला गर्न साथ नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नाट्टा कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।
पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बंगलादेशी पर्यटकहरूको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै उनले कोभिड–१९का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने आशा पलाएको जनाए । नेपालमा पर्यटक आगमन बिस्तारै लयमा फर्किदै गएको बताउँदै उनले नेपाली पर्यटनमा आगामी दिन थप सुनौलो हुने उनको भनाइ छ ।
पर्यटन उद्योगको विकास र बिस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै नाट्टा कोशी प्रदेशका उपाध्यक्ष सजित तामांगले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । विदेशी पर्यटक आगमन बढाउन नेपाल सरकार पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि गर्नुपर्ने निवर्तमान अध्यक्ष श्रेष्ठको भनाइ छ । कोरोनाका कारण सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन घटेको नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेलले बताए ।
पूर्वी नाका काँकडभिट्टा भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेको र उनीहरूले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, गोर्खा, मनकामनालगायतका धार्मिक एवं पर्यटकीयस्थल घुम्न मन पराउने गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ । नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटन व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको र विदेशी पर्यटक आगमन निरन्तर वृद्धि हुँदा पर्यटन व्यवसायमा बढोत्तरी आएको पर्यटन व्यवसायी खरेलको भनाइ छ । कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेसँगै पर्यटन व्यवसायीहरू पनि उत्साहित बनेको उनले बताए ।