पर्यटक आकर्षण गर्न जीपलाइन र साइक्लिङ
दाङ– पर्यटक आकर्षित गर्न पछिल्लो समय जीपलाइन र साइक्लिङप्रति आकर्षण बढ्न थालेको छ । साहसिक खेलका रूपमा लिइने जीपलाइन र साइक्लिङप्रति आकर्षण बढ्दा लगानीसमेत थपिँदै गएको हो । जीपलाइन र साइक्लिङ राखिएका स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत आकर्षण बढेको छ । जिल्लामा निर्माण भएका तीन जीपलाइन र साइक्लिङमा करिब दुई करोड ९२ लाख रुपैयाँ लगानी भएको छ ।
दाङमा सुरुमा गत जेठमा गढवा गाउँपालिका–८ कोइलाबासमा वडाले २७ लाख रुपैयाँको लगानीमा साइक्लिङ सञ्चालनमा ल्याएको थियो । नेपाल–भारत सीमाअन्तर्गत जिल्लाको मुख्य नाकाका रूपमा रहेको कोइलाबासमा भारतीय पर्यटकलाई आकर्षण गर्ने गरी साइक्लिङ सञ्चालनमा ल्याइएको गढवा गाउँपालिका– ८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताए । उनका अनुसार स्काइ साइक्लिङ ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको छ ।
प्रचारप्रसार बढ्दै जाँदा नेपाल तथा भारतबाट साइक्लिङप्रति रहर गर्ने पर्यटक बढ्दै गएको बताए । उनका अनुसार महिनामा १५/३० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । साइक्लिङका लागि प्रति व्यक्ति दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सार्वजनिक बिदाका दिन भीड लग्ने गरेको उनको भनाइ छ । सहज रूपमा नाकामा आवतजावत हुन नसक्दा सोचे अनुसार पर्यटक आउन नसकेको स्थानीय बासिन्दाले बताए ।
कोइलाबाससँगै जिल्लाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्ली कोटमा जीपलाइन सञ्चालनमा आएको छ । छिल्लीकोटको विकास र विस्तारसँगै जिल्लामा पर्यटकलाई नयाँपन दिन करिब एक करोड ६५ लाखको लागतमा जीपलाइन सञ्चालनमा ल्याइएको छिल्लीकोट रिसोर्ट एण्ड एडभेन्चर प्रालिका सञ्चालक शिव श्रेष्ठले बताए । जीपलाइन एक हजार एक सय मिटर लामो दुरीमा छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३२ डिग्री एलिभेसनमा रहेको छ ।
सञ्चालक श्रेष्ठका अनुसार आफूसँगै दुई जना युवा मिलेर जीपलाइन सञ्चालनमा ल्याएका हुन् । जीपलाइन सुरु भएसँगै साहसिक पर्यटनमा रम्न चाहने आन्तरिक पर्यटकको छिल्लीकोटमा वृद्धि हुने विश्वास गरिएको छ । जीपलाइनको साहसिक यात्रामा रमाउन चाहने पर्यटकका लागि प्रति व्यक्ति दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी र कर्मचारीलाई भने परिचयपत्रका आधारमा तोकिएको टिकट शुल्कमा १० प्रतिशत छुट दिने भएको छ ।
प्रत्येक टिकट बिक्रीबाट स्थानीय भुल्के सामुदायिक वन उपभोक्ता समितिलाई पाँच प्रतिशत र कालिका मालिका मन्दिर व्यवस्थापन समितिलाई पाँच प्रतिशत रकम दिने सम्झौता भएको सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार २० वर्षका लागि जीपलाइन सञ्चालन गर्ने गरी भुल्के सामुदायिक वनसँग सम्झौता भएको अर्का सञ्चालक श्रीधर न्यौपानेले बताए । यसैगरी घोराही उपमहानगरपालिका– १८ घोरदौरामा जीपलाइन र साइक्लिङ सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
घोराही–१८ का सुभास गौतमले घोरादौरामा जीपलाइन तथा साइक्लिङ परीक्षणका क्रममा रहेको बताए । घोराही बजारदेखि नजिकै रहेको घोरादौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले जीपलाइन सञ्चालनमा ल्याउन लागेको सञ्चालक गौतमले बताए । जीपलाइन सञ्चालनको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । सञ्चालक गौतमले भने,‘जीपलाइन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ, अबको केही समयपछि पूर्णरूपमा सञ्चालन गर्ने तयारीमा जुटेका छौं ।’
साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने अनुमान गरिएको छ । स्काई साइक्लिङ एक सय ५५ मिटर लामो रहने छ । घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनका लागि हालसम्म एक करोड बढी लगानी भएको सञ्चालक गौतमले बताए । जीपलाइनका लागि एक हजार आठ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।