पर्यटक सहजताका लागि कार्ड सिस्टम लागू गर्ने गृहकार्य
वीरगन्ज– नेपालको प्रमुख प्रवेशद्वारबाट भित्रिने पर्यटकहरूको सहजताका लागि एकीकृत जाँच र कार्डको व्यावस्था गर्ने तयारी गरिएको छ । वीरगन्ज नाकाबाट खास गरी नेपाल आउने भारतीय पर्यटकहरूले सुरक्षाको दृष्किोणबाट धेरै झमेलाहरू व्यहोर्नु परेको र यसले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भएकोले यसको सुधारका लागि स्थानीय स्तरबाट जिल्ला प्रशासन कार्यालयको तर्फबाट एकीकृत सुरक्षा जाँच केन्द्र बनाएर सेवा दिने तयारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले नेपालमा आउने भारतीय पर्यटकहरूको सहजता र व्यवस्थित अभिलेखीकरणका लागि तीन जिल्लाको दुई ठाउँमा मात्रै चेक गर्ने व्यवस्था मिलाउने गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘शंकराचार्य गेटदेखि नै हामीले हैरानी गर्न थालियो । एक किलोमिटरदेखि नै डिकी खोल भनेर भन्न थालियो भने उनीहरूले कस्तो खालको व्यवहार लिएर जालान, त्यो हामीले बुझ्नुपर्छ ।’ शंकराचार्य गेटबाट भित्र पसिसकेका पर्यटकहरूलाई झमेलामा पार्न नहुने उनले बताए । यसको लागि एकीकृत चेक प्वाइण्ट राखेर कार्ड सिस्टम लागू गर्ने तयारी गरेको उनले जानकारी दिएका हुन् ।
उनका अनुसार एकीकृत चेक प्वाइण्टमा जिल्लाका तीन वटै सुरक्षा अधिकारीहरू हुन्छन् । तीन जना अधिकारीहरूले सुरक्षा जाँच गरेपछि पहेलो कार्ड पर्यटकलाई दिएर पठाउने र त्यसकै आधारमा पर्यटक गन्तव्यमा पुगेर फर्किन सहज बनाउने उनको भनाइ छ । वीरगन्जबाट चेक गरेर गएका पर्यटकहरू कम्तीमा तीन जिल्लाको दुई स्थानमा मात्रै चेक गर्दा पुग्ने गरी कार्डको व्यवस्था गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
त्यसको लागि वीरगन्ज नाकाबाट कति पर्यटक आउँदा रहेछन् अध्ययन गर्न पर्साका प्रहरी प्रमुख र सशस्त्र प्रहरीलाई अभिलेख गर्न लगाएको जानकारी दिँदै त्यसपछि पहेँलो कार्ड लिने पर्यटकहरूलाई सुरक्षा जाँचको आवश्यकता नपर्ने गरी सहजीकरण गर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यहाँ आएको पर्यटक चितवनको सौराहा, मकवानपुरको दामन जान आएका हुन्छन् । कमसेकम त्यहाँबाट फर्किने पर्यटकहरूले निर्वाध रुपमा भ्रमण गरेर फर्किने वातावरण बनाउनुपर्छ ।’
एकीकृत चेक प्वाइण्ट र पहेँलो कार्डका लागि बारा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग समेत संवाद भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले तीन जिल्लामा दुई ठाउँमा मात्रै चेक गर्ने व्यवस्था लागू गर्ने गरी गृहकार्य गरिरहेको बताए । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पर्साका पत्रकारहरूलाई सम्मान गरिएको थियो । पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र समस्याहरूको बारेमा पत्रकारहरूले सञ्चार माध्यममार्फत विषय उठान गर्ने र व्यावसायिक र पेशागत सम्बन्ध स्थापित गर्नका लागि पत्रकारहरूलाई सम्मान गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष पन्तले बताए ।