Logo

गोलिया काठबाट २२ करोड राजस्व

इलाम– डिभिजन वन कार्यालय इलामले गोलिया काठबाट वार्षिक २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । इलामबाट गत आर्थिक वर्षमा साढे २२ करोड बढी राजस्व संकलन भएको हो । आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युविक फिट काठबाट सो रकम संकलन भएको हो । जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठबाट उक्त रकम संकलन भएको जनाइएको छ । वन पैदावर आपूर्ति समिति, सामुदायिक वन विकास, वेवारिसे मुद्धामा बरामद भएको काठ बिक्री, निजी वनबाट गैरकाष्ठ वन पैदावर र राष्ट्रिय वनबाट उक्त राजस्व संकलन गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ४७ लाख ५१ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षमा ५८ लाख ७१ हजार क्युविक फिट काठबाट सो रकम संकलन भएको थियो । राजस्व घटबढ भइरने हुँदा २०८०/८१ मा राजस्व घटबढ भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार अघिल्लो वर्षमा साढे १२ करोड मात्र राजस्व संकलन भएको थियो । २०७८/७९ मा १२ करोड ७३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा ३४ लाख ४४ हजार क्युविक फिट परिणामको काठबाट राजस्व संकलन भएको जनाइएको छ । गोलिया कटान तथा निकासी गर्ने व्यवसायीहरूको संस्था वन पैदावर व्यवसायी संघले समेत बर्खाको समयमा किसानलाई विभिन्न जातका बिरुवा वितरण गर्दै आएको छ ।

व्यवसायी संघ इलामका कार्यालय सचिव सञ्जिव ठाकुरका अनुसार गत बर्खामा सूर्योदय नगरपालिका, इलाम नगरपालिकालगायतका किसानहरूलाई उत्तिस, मलातो, गुराँसलगायतका बिरुवा बितरण गरिएको थियो । व्यवसायी संघले गोलिया काट्ने मात्र नभएर किसानलाई बिरुवा लगाउन प्रोत्साहनसमेत गर्ने गरेको उनको भनाइ छ ।

२०५९ सालमा स्थापना भएको पैदावर व्यवसायी संघको केन्द्रीय कार्यालय नै इलाममा रहेको थियो । यहाँ तीन सय ५० व्यवसायी आवद्ध भएका छन् । तर निरन्तर काम गर्ने व्यवसायी हाल ६० देखी ७० जना मात्र रहेको बताइएको छ । जिल्लामा १० वटा पालिका रहेका छन् । चार वटा नगरपालिका र ६ वटा गाउँपालिकाबाट कटान भएका विभिन्न जातका काठहरू जिल्ला बाहिरका भेनियर उद्योगमा जाने गरेका छन् । पहाडी जिल्ला भएकाले यहाँ भेनियर उद्योगका लागि वातावरण अनुकूलन रहेको छैन ।

इलाम नगरपालिकाको ४ को पुवाखोला बजारमा मात्र भेनियर उद्योग रहेको छ । यहाँको वातावरणमा काठ सुकाउन समस्या हुने भएकाले पनि उद्योग सञ्चालन नभएको बताइएको छ । उद्योगमा काम गर्ने कर्मचारीको समेत यहाँ समस्या हुने भएकाले ठूलो ठाउँमा नै लगानीकर्ताले लगानी गर्ने गरेको बताइएको छ । जिल्लाबाट तराईका जिल्लामा गोलिया जाने र तराईमा रहेका उद्योगहरूबाट प्रशोधन भएर प्रयोग गरिने काठ तथा प्लाइउड निर्माण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्