Logo

नदीजन्य पदार्थ उत्खनन् ठेक्का लाग्न नसक्दा विकास निर्माण प्रभावित

दाङ– चालु आर्थिकको ६ महिना सकिन थालेको छ । यतिबेला ठूला तथा साना योजनाको ठेक्का आह्वान गरेर विकास निर्माणका कामले तीव्रता पाउनुपर्ने समय हो । तर निर्माण व्यवसायीले विकास निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ पाउन नसक्दा काम गर्न समस्या भएको बताउँछन् । जिल्लामा सबै पालिकाले नदीजन्य पदार्थ उत्खनन्को ठेक्का सम्झौता गरी नसकेको कारण सहज रुपमा नदीजन्य पदार्थ पाउन नसक्दा काम गर्न समस्या भएको निर्माण व्यवसायीको भनाइ छ ।

लमही नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का आह्वान गरे पनि सम्झौता हुन नसकेको जनाएको छ । नगरपालिकाले १६ स्थानमा नदीजन्य पदार्थ उत्खनन्का लागि सूचना प्रकाशित गरे पनि सम्झौता नभएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले जानकारी दिए । ‘नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का आह्वान गरिएको छ तर हालसम्म ठेक्का सम्झौता भएको छैन्,’ उनले भने ।

ठेक्का आह्वान गर्नका लागि सबै प्रक्रिया सकेर ठेक्का लगाइएको उनको भनाइ छ । जिल्ला समन्वय समितिको अनुगमनपछि राष्ट्रपति चुरेमा स्वीकृतिका लागि पत्र पठाइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटा बताउँछन् । नदीजन्य पदार्थ उत्खनन्को ठेक्का सम्झौता नहुने यसले विकास निर्माणमा समेत प्रभाव पार्ने उनी बताउँछन् । ‘सहज रूपमा सामग्री नहुँदा समस्या हुन्छ,’ उनले भने, ‘योजनाको काम रोकिएको अवस्था भने छैन ।’ नगरपालिकाका योजना सम्झौता भएर काम भइरहेको उनले बताए ।

अहिले नगरपालिकामा उत्खनन् नभए पनि क्रसरबाट भए पनि काम निर्माण व्यवसायी तथा उपभोक्ताले काम गरिरहेको उनले बताए । दंगीशरण गाउपालिकाले नौ स्थानका लागि ठेक्का आह्वान गरेको थियो । तर हालसम्म तीनवटा ठेक्कामात्र स्वीकृत भएका छन् । अन्यका लागि फेरि ठेक्का आह्वान गरिएको गाउपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए । ‘पालिकाले ठेक्काको प्रक्रिया सुरु भएको छ केही स्वीकृत भएका छन् केही पुन ठेक्का आह्वान गरिएको छ,’ सूचना अधिकारी खत्रीले भने, ‘ठेक्का स्वीकृत भएपछि उत्खनन्को काम सुरु हुनेछ ।’

सबै प्रक्रिया पूरा गरेर अगाडि बढ्दा केही ढिला भएको उनले बताए । नदीजन्य पदार्थ उत्खनन्को ठेक्का सम्भौता नभए पनि योजना कार्यान्वयनमा प्रभाव नपरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका योजना नदीजन्य पदार्थका कारण नरोकिएको सूचना अधिकारी खत्री बताउँछन् । जिल्लाका अन्यपालिकाको अवस्था पनि उस्तै छ । जिल्लामा दुई उप महानगरपालिका, एक नगरपालिकार र सात गाउँपालिका छन् ।

जिल्लामा नदीजन्य पदार्थ उत्खनन्को काम ढिला हुँदा निर्माणका काममा कतै रोकिएको कतै टाढाबाट ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको निर्माण व्यवसायी बताउँछन् । नदीजन्य पदार्थ सहज रुपमा पाउन नसक्दा तथा सिमेन्ट सहज रुपमा पाउन नसक्दा विकास निर्माणका गर्न समस्या भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीण भण्डारीले जानकारी दिए । सबै स्थानमा सहज रुपमा विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री नदीजन्य पदार्थको ठेक्का सम्झौता हुन नसकेको कारण पाउन समस्या भएको उनले बताए ।

काम गर्ने स्थाननजिकै सामग्री पाउँदा सहजता हुने अध्यक्ष भण्डारीले बताए । ‘टाढाबाट ल्याउँदा मूल्य पनि बढी पर्ने र ल्याउँदासमेत धेरै समस्या भोग्नु परेको छ,’ उनले भने । नदीजन्य वस्तु पाउन नसक्दा अहिले साना ठूला आयोजनासमेत प्रभाव परेको छ । निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट सहज रुपमा नपाउदा, मूल्य वृद्धि हुँदा काम रोक्नुपर्ने बाध्यता भएको अध्यक्ष भण्डारीले बताए । ‘काम गर्नका लागि सिमेन्ट सहज पाइँदैन मूल्यसमेत बढदै गएको छ,’ उनले भने, यस कारण निर्माण व्यवसायी धेरै मारमा परेका छन् । काम रोकिँदा मजदुरले समेत रोजगारी गुमाउने गरेका छन् ।’

वर्षाको समयमा काम गर्न समस्या हुने त्यसपछि चाडपर्व हुने भएकाले काम नहुने गरेको उनको भनाइ छ । असोजमा नै नदीजन्य पदार्थको ठेक्का आह्वान गरेर यो समयमा सहज रूपमा काम गर्नका लागि सामग्री पाउने व्यवस्था मिलाउनु पर्ने व्यवसायी बताउँछन् । राज्यले तोकिएको स्थानमा राजस्व तिरेर उठाउन पाउनु पर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । निर्माणको काम नहुँदा आर्थिक चलायमान समेत हुन सकेको छैन । काम रोकिँदा निर्माणमा प्रयोग गरिएका सवारीसाधन समेत खाली बस्न बाध्य भएका छन् भने मजदुरले समेत रोजगारी गुमाएका छन् ।

अघिल्लो आर्थिक वर्षको भुक्तानी हालसम्म पाउन नसक्दा पनि निर्माण व्यवसायी विकास निर्माणका काम गर्न उत्सुक नदेखाएको अध्यक्ष भण्डारीले बताए । ‘राज्यले ठेक्कामात्र खोल्ने गर्दछ काम गरेको रकम पाइँदैन भनेर सार्थीहरूमा काम गर्न जाँगर देखिँदैन,’ उनले भने । बजेटको सुनिश्चितता गरेर मात्र योजनाको ठेक्का आह्वान गरिनुपर्ने उनी बताउँछन् । चालु आर्थिक वर्षमा पनि धेरै योजनामा पर्याप्त मात्रामा बजेट नहुँदा काम गर्न समस्या हुने गरेको निर्माण व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्