आलु र गोलभेडा डढुवाको सङक्रमणले किसान चिन्तित «

आलु र गोलभेडा डढुवाको सङक्रमणले किसान चिन्तित

धनगढी-वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेडा खेतीमा डढुवा रोगको संक्रमण भइ नष्ट हुन थालेको छ । बालीमा डढुवाको संक्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेडा बाली नोक्सान पु-याएको गुनासो गरे । उनले भने, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु-याएको छ ।”
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताए ।
“ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरूको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको छ”, भट्टले भने ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गइ शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय भएर डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।
डढुवा रोगले गोलभेडाको तुलनामा आलुबालीमा बढी नोक्सान पु-याएको छ । डढुवा रोगका कारण यी दुवै जिल्लाको झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बालीमा नोक्सान पु-याएको बताइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा डढुवाको संक्रमणबाट आलु र गोलभेडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव दिन्छन् ।
टिप्न तयार भइसकेको आलु र गोलभेडा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह उनको छ । हिउँदे आलु कैलाली जिल्लामा पाँच हजार २३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५०० हेक्टर जग्गामा खेती गर्ने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्