भारतमा असारदेखि रोकिएको सिमेन्ट निर्यात अझै खुलेन
भैरहवा– भारतले गुणस्तर प्रमाणपत्र ब्युरो अफ इन्डियन स्टयान्डर्ड (बिआईएस) नवीकरण नगर्दा गत असारदेखि रोकिएको नेपाली सिमेन्ट निर्यात अझै खुलेको छैन ।
भारतले गत वर्ष नेपाली सिमेन्ट निर्यातका लागि बिआईएस प्रमाणपत्र नवीकरण गरेको थियो । यो वर्ष असारदेखि नवीकरण रोकेको छ । नवीकरणको अवधि सकिएका कुनै पनि उद्योगले अहिले भारतमा सिमेन्ट निर्यात गर्न पाएका छैनन् ।
२०८० जेठ ३१ बाट बाहुबली र श्रृष्टी ब्रान्डको सिमेन्ट भारत निकासी गर्दै आएको बालाजी सिमेन्ट उद्योगले असारदेखि निर्यात गर्न नपाएको उद्योगका सञ्चालक ऋषि अग्रवालले बताए । ‘सात महिनादेखि निर्यात रोकिएको छ । बिआर्ईएस नवीकरणका लागि सोधखोज गर्दा प्रक्रियामा छ, हुन्छ भन्छन् तर कहिले हुन्छ थाहा छैन,’ अग्रवालले कारोबारसँग भने, ‘निर्यातलाई बिआईएस प्रमाणपत्र नवीकरण अनिवार्य गरिएको छ । नवीकरण नहुँदासम्म निर्यात गर्ने अवस्था छैन ।’ अग्रवालका अनुसार कपिलवस्तुको कृष्णनगर नाका हुँदै बाहुबली र श्रृष्टी ब्राण्डको सिमेन्ट मासिक डेढदेखि दुई लाख बोरासम्म निर्यात हुँदै आएको थियो । बिआईएस नवीकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भइरहेको सम्राट सिमेन्टको निर्यात पनि रोकिएको छ ।
अर्घाखाँची सिमेन्टको निर्यात पनि चार महिनादेखि रोकिएको छ । उद्योगले दुई वर्षदेखि अर्घाखाँची ओपिसि र पिपिसी सिमेन्ट भारत निर्यात गर्दै आएकोमा गत असोजदेखि ठप्प छ । उद्योगका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार बिआईएस नवीकरण नहुँदा सिमेन्ट निकासी रोकिएको हो । अर्घाखाँची सिमेन्टको असोज ९ देखि बिआईएस नवीकरण नभएको पाण्डेले जानकारी दिए । ‘नेपालमा खपत कम भएका बेला भारत निर्यातले केही राहत भएको थियो । निर्यात रोकिएपछि उद्योगहरु अप्ठ्यारोमा परेका छन्,’ पाण्डेले भने ‘बिआईएस नवीकरणको प्रतीक्षामा छौं, तर कहिले हुन्छ थाहा छैन ।’
भैरहवा नाका हुँदै सर्वोत्तम र पाल्पा सिमेन्टको निर्यात भने भइरहेको छ । दुवै उद्योगको बिआईएस अवधि बाँकी रहेकाले निर्यातमा समस्या छैन । यस्तै, नवलपुरमा उद्योग रहेको होङ्सी सिमेन्टले भारतमा क्लिंकर निर्यात गरिरहेको छ । क्लिंकरमा भने भारतको अवरोध छैन ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बिआईएस नवीकरण रोकिएको विषयमा सम्बन्धित निकायमा भनिसकेको जानकारी दिए । उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघले पनि यसमा पहल गरिरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले अहिले सर्वोत्तम र पाल्पा सिमेन्ट निर्यात भइरहेको जानकारी दिए । भारतले आफ्नो गुणस्तर कायम हुने सामानमात्र आयात गर्न अनुमति दिने गरेको बताउँदै उनले गत वर्ष पनि गुणस्तर नभएको भन्दै प्लाइउड आयात रोकेको र पछि यही फेब्रुअरीसम्मका लागि फुकुवा गरेको बताए । ‘फेब्रुअरीपछि भारतले चाहेअनुसारको गुणस्तर नभए फेरि प्लाइउड आयात रोक्ने देखिएको छ,’ उनले भने, ‘हामीले पनि भारतबाट आयात हुने तयारी छड, सिमेन्ट, ग्यास रेगुलेटर आदि सामानको गुणस्तर हेर्ने गरेका छौं । आयातका लागि एनएस (नेपाल स्टयान्डर्ड) अनिवार्य छ,’ रेग्मीले भने ।
सन् २०१६ मा स्थापना भएको बिआईएस १२ अक्टोबर २०१७ देखि कार्यान्वयनमा छ । भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत उपभोक्ता मामिला विभागले यसलाई हेर्ने गर्छ ।
भैरहवा नाकाबाट अर्घाखाँची, पाल्पा, बालाजी, सर्वोत्तम र सम्राट उद्योगले सिमेन्ट भारत निर्यात गर्दै आएका थिए । भैरहवा भन्सार नाकाबाट आव २०७९–८० मा ३१ करोड ६ लाख रुपैयाँको ४१ हजार ९ सय ३ टन सिमेन्ट निर्यात भएको थियो । यस्तै, ४० करोड ९१ लाख रुपैयाँको ६२ हजार ३ सय ५८ टन क्लिंकर निर्यात भएको थियो ।
यसैगरी गत आवमा एक अर्ब ६५ करोड रुपैयाँको २ लाख ३१ हजार ७ सय ८४ टन सिमेन्ट र एक अर्ब २० करोड रुपैयाँको २ लाख ८ सय ३० टन क्लिंकर निर्यात भएको थियो । चालु वर्षको ५ महिनामा ४३ करोड ४० लाख रुपैयाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट निर्यात भएको छ । क्लिंकर निर्यात भने नगण्य छ । नेपाली क्लिंकरभन्दा भारतीय सस्तो भएकाले निर्यात कम भएको हो ।