खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन खुला, अवरोध कायमै
![](https://www.karobardaily.com/wp-content/uploads/2023/04/sagarmatha-2.jpg)
काठमाडौं– खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान खुला गरिएको भनिए पनि उडान भने हुन सकेको छैन ।
सोमबार साँझ सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा खलल नपर्ने गरी उडान भर्न हेलिकोप्टर कम्पनीहरुलाई अनुमति दिएको थियो । निकुञ्जले ११ वायुयान कम्पनीलाई पत्राचार गरेर उडान खुला गरेको जानकारी दिएको थियो । तर, स्थानीय अवरोध कायमै रहेको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै कम्पनीहरुले उडान गरेका छैनन् ।
निकुञ्जले सूचनामा भनेको छ, ‘निजी हेलिकोप्टर कम्पनीहरुलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान-अवतरण-होभरिड गर्न-गराउन हुन सबै हेलिकोप्टर कम्पनीहरुलाई अनुरोध गरिन्छ ।’
निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले सुरक्षा जोखिम भएकाले उडान नगरिएको बताए । उनले भने, ‘राष्ट्रिय निकुञ्ज तथा जिल्ला प्रशासन कार्यालयले उडान गर्न अनुमति दिएको भए पनि स्थानीय अवरोध कायमै रहेकाले उडान भर्न सकिएको छैन ।’ संघले यसअघि नै दुई चरण वार्ता गरेकोमा बिनानिष्कर्ष टुंगिएको थियो ।
खुम्बु क्षेत्रका हेलिप्याडमा अवरोध राखिएको र उडान सुरक्षालाई चुनौतीमा राखेर उडान भर्न सम्भव नभएकाले तीन दिनयता उडान भर्न नसकिएको पाण्डेले बताए । संघले हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडान आइतबारबाट स्थगन गरिएको जनाएको थियो ।
स्थानीय तहका प्रतिनिधिहरुसँग समन्वय गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले छलफल गरिरहेको तर निष्कर्षमा नपुगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । उनले भने, ‘स्थानीय पालिकासँग हामीले छलफल जारी नै राखेका छौं । समन्वय गरेर अगाडि बढ्न पालिकाहरुले पनि सरोकारवालासँग छलफल जारी राखेका छन् । चाँडै निष्कर्षमा पुग्ने विश्वास छ ।’
प्रशासन कार्यालयले सूचना जारी गरेर उडानमा अवरोध नगर्न र अवरोध भएमा कानुनअनुसार कारवाही गर्ने जनाएको छ । जिप्रकाले स्थानीय प्रशासन र प्रहरी निकायसँग समन्वय गरेर उडान भर्न भनेको छ । यही जनवरी १ बाट निकुञ्ज र गाउँपालिकाले हेलिकोप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने निर्णय गरेका थिए । गत मंसिर २६ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र स्थानीयको सहमतिमा निकुञ्जले लुक्लाभन्दा माथि उद्धार र ढुवानी बाहेकका हेलिकोप्टर उडानमा जनवरी १ बाट रोक लगाउने निर्णय गरेको थियो । निकुञ्जले नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर कम्पनीहरुलाई पत्राचार गर्दै उडानले वन्यजन्तुको बासस्थान सुरक्षामा खलल पुर्याउनुका साथै स्थानीयको रोजगारीमा प्रतिकूल प्रभाव पारेको बताएको थियो । प्राधिकरणले भने मंसिर २८ मा विज्ञप्ति जारी गर्दै आकाशमा कसैको अधिकार नहुने जानकारी गराउँदै हेलिकोप्टर कम्पनीहरुलाई उडान यथावत् राख्न भनेको थियो ।
पुस २१ गते वायुसेवा सञ्चालक संघले सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय गरेको थियो । प्राधिकरणले उडान जारी राख्न भने पनि स्थानीय अवरोधका कारण उडान सुरक्षामा नै समस्या आउने देखेपछि सगरमाथा आसपासको उडानमा रोक लगाउने निर्णय संघले गरेको थियो । सगरमाथा क्षेत्रमा सामान्य समयमा दैनिक करिब १५ र सिजनमा ५० वटा उडान हुन्छ ।