Logo

ट्रेजरी व्यवस्थापनमार्फत मुनाफा

के हो ट्रेजरी व्यवस्थापन ?
संस्थागत होस् या व्यक्तिगत रूपमा ट्रेजरी व्यवस्थापनले आफूसँग भइरहेको वा नभएको स्रोतलाई बढीभन्दा बढी मात्रामा परिचालन गरेर सम्पत्तिमा वृद्धि गर्नु नै ट्रेजरी व्यवस्थापन हो । यसका माध्यमबाट बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका जोखिम व्यवस्थापन गर्दै मुनाफा कमाउने र गुणस्तरीय सम्पत्तिमा वृद्धि गर्ने ध्येय रहेको हुन्छ । ट्रेजरी व्यवस्थापनले कुनै पनि व्यक्ति वा संस्थाको आर्थिक स्रोतको दक्षतापूर्वक व्यवस्थापन सुनिश्चित गर्छ ।

यसको मुख्य उद्देश्य संस्थासँग भएको पुँजीको तरलता सुनिश्चित गर्नु, अधिकतम मुनाफामा वृद्धि गर्नु, जोखिमको व्यवस्थापन तथा गुणस्तरीय सम्पत्तिमा वृद्धि गर्नु हो । यसको कार्यक्षेत्र विशाल भए पनि खासगरी ठूला–ठूला कम्पनी तथा वित्तीय संघ–संस्थामा महत्वपूर्ण देखिन्छ । जहाँ वित्तीय उपकरण तथा गतिविधिहरू बढी चलायमान हुन्छ, त्यहाँ बढी जटिलता तथा जोखिम उत्पन्न हुन्छ । तिनीहरूको उपयुक्त व्यवस्थापन गर्नु नै ट्रेजरी व्यवस्थापन हो । यसले नगदको मात्र व्यवस्थापन नगरी तरलता व्यवस्थापन, नगद प्रवाहको पूर्वानुमान गर्ने, जोखिम व्यवस्थापन, लगानीको निगरानी, मुनाफामा वृद्धि र संस्थालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक हरेक पक्षको व्यवस्थापन गर्छ । यसले आर्थिक संकटका बेला संस्थालाई समस्यामा आउन नदिन र बजारमा प्रतिस्पर्धीको रूपमा खरो उत्रनसमेत मद्दत गर्छ ।

ट्रेजरी व्यवस्थापनको मुख्य उद्देश्य भनेको कम्पनीको वित्तीय सम्पत्ति र दायित्वको समुचित व्यवस्थापन पनि हो, जसले गर्दा संस्थालाई सम्पत्ति र लगानीमा उचित प्रतिफल प्राप्त होस् । जसले गर्दा संस्थालाई दायित्वको भुक्तानीमा समस्या नहोस् र ग्राहकमा विश्वासको वातावरण बनिरहोस् ।

ट्रेजरी व्यवस्थापनका मुख्य क्षेत्र
ट्रेजरी व्यवस्थापनको दायरा कति हो भनेर जान्नका लागि यसको कार्यक्षेत्र बुझ्न जरुरी छ । व्यापक क्षेत्र समेटेको भए पनि यसका मुख्य–मुख्य क्षेत्रमा नगद र तरलता व्यवस्थापन, लगानी व्यवस्थापन, ऋण र पुँजी व्यवस्थापन, जोखिम व्यवस्थापन, बैंक सम्बन्ध व्यवस्थापन, संस्थागत सुमधुर सम्बन्ध व्यवस्थापन, उचित उपकरणहरूको प्रयोग व्यवस्थापन, नोस्ट्रो खाता अध्यावधि तथा व्यवस्थापन, पुँजीको अधिकतम प्रयोग र प्रतिफलमा वृद्धि, सम्पत्ति र दायित्वको व्यवस्थापन, प्रविधि र प्रणालीको व्यवस्थापन, नियामक निकायहरूको निर्देशन पालन र रिपोर्टिङ, नाफामूलक उपकरणहरूमा लगानीजस्ता क्षेत्र पर्छन् । यसका क्षेत्रहरूको दायराबाट यसको कार्य तथा महत्वलाई अझ फराकिलो रूपमा बुझ्न सकिन्छ ।

ट्रेजरी व्यवस्थापनका उपकरण तथा प्रविधि
ट्रेजरी व्यवस्थापनलाई प्रभावकारी ढंगले सञ्चालन गरी नाफामूलक बनाउन र सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन गर्न विभिन्न किसिमका प्रविधि, सफ्टवेयर र उपकरणहरूको प्रयोग गर्नुपर्छ, जसले गर्दा दैनिक कार्यलाई व्यवस्थित र भरपर्दो बनाउँछ । जसमा ट्रेजरी व्यवस्थापन प्रणाली (टिएमएस) रहेको छ, जसले गर्दा नगदको उचित व्यवस्थापन र पूर्वानुमान, जोखिम विश्लेषण, लगानी व्यवस्थापन र विवरणको सुनिश्चितता, निर्णय क्षमताको विकास र अनुगमन तथा नियन्त्रण गर्न सहजीकरण गर्छ । यस्तो प्रणाली विभिन्न किसिमका हुन सक्छन्, जुन निर्माता कम्पनीअनुसार फरक–फरक शब्दले व्याख्या गर्न सकिन्छ ।

यस्तै वित्तीय संस्थाका लागि विभिन्न किसिमका बैंकिङ प्लेटफर्म उपलब्ध छन् । जसले गर्दा ट्रेजरी डिल गर्ने, नगदको खरिद–बिक्री गर्ने, विदेशी मुद्राको खरिद–बिक्री र व्यवस्थापन गर्ने र ड्राफ्ट तथा टिटी ट्रान्सफर, ट्राभल चेक जारी गर्ने तथा आयात र निर्यातसम्बन्धी कार्यमा सहजीकरणजस्ता कार्यहरू पनि भइरहेका हुन्छन् । संस्थामा भएका इआरपी प्रणालीसँग इन्ट्रिग्रेट गरी आवश्यक रिपोर्टिङ पोर्टलको व्यवस्था गर्ने, जसले गर्दा नियामकको निर्देशन पालना गर्न सहज हुन्छ । उपकरण र प्रविधिको कुशल प्रयोगले कम जनशक्ति तथा कम लागतमा बढी प्रतिफल प्राप्त गर्न सकिन्छ ।

कार्य स्वचालनः कम जनशक्तिको परिचालन गरी स्वचालित प्रविधिबाट धेरै काम सहजै गर्न सकिन्छ, तसर्थ त्यस्ता प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । यसको माध्यमबाट भुक्तानी प्रक्रिया सहजीकरण गर्दै ट्र्याक गर्न पनि सजिलो हुन्छ । मानवीय त्रुटि कम गर्न र दोहोरो कार्यबाट छुट्कारा दिन पनि स्वचालित प्रविधिले सहयोग गर्छ ।

आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोगः यसको प्रयोगले हाल भइरहेको र भविष्यमा हुने नगद प्रवाह तथा उपलब्धता र जोखिमको भविष्यवाणी गरी सोहीअनुसारको योजना बनाउन सकिन्छ । यस्तो प्रविधिले सही निर्णय लिन सहयोग पुर्‍याउने र स्वचालित रूपमा अनुगमन गरेर विश्लेषणसमेत प्रदान गर्ने हुँदा हामी मानव स्रोतलाई अति आवश्यक हुन सक्छ ।

क्लाउडमा आधारित स्टोरेजः अहिलेको समय प्रविधि र उपकरण प्रयोगको समय हो, जसले कामलाई छिटोछरितो र विश्वसनीय बनाउँछ । अहिले डाटा स्टोरेज प्राप्तिको समस्या समाधानका लागि क्लाउड प्रविधिको प्रयोग भइरहेको छ । यसलाई थप विश्वसनीय बनाई दीर्घकालसम्म प्रयोगमा ल्याउन सके अझ संस्थाका लागि लाभ हुन सक्छ ।

प्रविधि र प्रणाली व्यवस्थापन ट्रेजरी व्यवस्थापनको महत्वपूर्ण पाटो हो, यसले संस्थाका हरेक वित्तीय क्रियाकलापलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्छ । यसका साथै ट्रेजरीका हरेक कार्यलाई स्वचालित, विश्वसनीय र योजनामूलक बनाउँछ । यसका माध्यमबाट हरेक संस्थाको व्यवस्थापन कार्य सहज बनाउन सकिन्छ ।

ट्रेजरी व्यवस्थापनको महत्वपूर्ण कार्य
ट्रेजरी व्यवस्थापनको सही प्रयोग र मार्गदर्शनले कुनै पनि कम्पनीको वित्तीय स्थिरता र दीर्घकालीन सफलता सुनिश्चित गर्न सक्छ । नगदको व्यवस्थापन, नगदको पूर्वानुमान तथा अधिकतम र न्यून नगद भएका बेला पनि लगानी व्यवस्थापन, त्यसको जोखिम व्यवस्थापन, ऋण तथा बैंकहरूसँगको सम्बन्ध व्यवस्थापन महत्वपूर्ण पाटो हो, जसका माध्यमबाट अपेक्षित परिणाम हासिल गर्न सकिन्छ ।

नगद व्यवस्थापन गर्नुः यसका माध्यमबाट दैनिक रूपमा आवश्यक पर्ने नगद रकम कति हो, सोको योजना बनाउँदै सुनिश्चित गर्नु यसको महत्वपूर्ण कार्य हो । साथै, नगद प्रवाहको पूर्वानुमान गरी बैंक खातामा पर्याप्त मौज्दात राख्नु र सोको भुक्तानी प्रणालीलाई विश्वसनीय बनाउनु पनि यसको कार्य हो ।

तरलता व्यवस्थापन गर्नुः संस्थाका लागि कति तरल योग्य रकम आवश्यक पर्छ र नियामक निकायका लागि कति पर्याप्त हो भन्ने कुरा यकिन गरी बाँकी रकम प्रतिफल प्राप्त गर्ने ठाउँमा परिचालन गर्ने र अपुग रकमको विभिन्न माध्यमबाट परिपूर्ति गर्नु पनि यसको प्रमुख कार्य मानिन्छ ।

जोखिम व्यवस्थापनः ट्रेजरी व्यवस्थापनको महत्वपूर्ण पाटो भनेको हाल वा भविष्यमा आउन सक्ने सम्भावित वित्तीय जोखिमको पहिचान र न्यूनीकरण गर्नु हो । विनिमय जोखिम, ब्याजदर जोखिम, बजार जोखिम, ऋण जोखिमजस्ता विषयहरूलाई समयमै डेरिभेटिभ कारोबारका माध्यमबाट अप्सन, फरवार्ड र स्वापको प्रयोग गरी नियामक निकायले तोकेका नीति तथा निर्देशनहरूको पालना गर्न मद्दत मिल्छ ।

रणनीतिक योजना बनाउनेः आवश्यक वित्तीय र स्रोत व्यवस्थापन गर्न आवश्यक रणनीतिक योजना बनाउने हुँदा समयमै स्रोत र साधन जुटाउन मद्दत मिल्छ ।

लगानी व्यवस्थापन गर्नेः आवश्यकभन्दा बढी भएको नगदलाई उचित परिचालन गरी उच्च प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने तथा संस्थाको सम्पत्ति र दायित्वका आधारमा आवश्यक पोर्टफोलियो बनाई लगानी व्यवस्थापन गर्नु ।

आवश्यक प्रविधि र प्रणालीको व्यवस्थापनः ट्रेजरीको उपयुक्त व्यवस्थापनमार्फत अधिकतम मुनाफा कमाउनका लागि उपयुक्त प्रविधिको खोजी र आवश्यक सिस्टमको समुचित प्रयोगका लागि मार्गप्रशस्त गर्छ ।

नियामक निकायको निर्देशन पालनः नेपालमा नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायहरूले पालना गर्न निर्देशन दिएका नीति तथा नियमहरूको हुबहु पालना गर्ने विषयमा आवश्यक मार्गनिर्देशन प्रदान गर्छ ।

कर्पोरेट वित्तको रूपमा सहजीकरणः ठूला–ठूला कम्पनीका व्यवस्थापकहरूलाई आवश्यक पर्ने वित्तीय विश्लेषण, मर्जर, एक्विजिसन तथा प्राप्तिका विषयमा आवश्यक निर्देशन तथा सल्लाह प्राप्त हुन सक्छन्, जसले गर्दा उच्च व्यवस्थापकलाई समयमै सही निर्णय लिन सहयोग पुग्छ ।

बैंकिङ सम्बन्धहरूको व्यवस्थापनः बैंक तथा वित्तीय संस्थाहरूसँगको सम्बन्ध सुमधुर बनाउने तथा नोस्ट्रो खाताहरूको नियमित सञ्चालनबाट मुनाफा प्राप्त गर्ने विषयमा मार्गप्रशस्त गर्ने कार्य गर्छ, जसले गर्दा आयात–निर्यात र संस्थाका लागि आवश्यक पुँजीको जोहो गर्न सहयोग गर्छ ।

ट्रेजरीको आय बढाउन प्रयोग हुने उपकरण
ट्रेजरी व्यवस्थापनको उद्देश्य भनेको अधिकतम जोखिम व्यवस्थापन गर्दै बढीभन्दा बढी मुनाफा आर्जन गर्नु हो । यसका लागि केही ट्रेजरी उपकरणको प्रयोग अपरिहार्य देखिन्छ, जसमा,
ट्रेजरी बिल्सः कम जोखिम भएका सरकारी ऋणपत्रको खरिद–बिक्रीबाट छोटो समयमा सञ्चित रहेको नगदबाट आय आर्जन गर्न सकिन्छ । यस्ता उपकरण बजारमा सजिलै किनबेच गर्न सकिन्छ ।
कल डिपोजिटः यसका माध्यमबाट पनि छोटो समयका लागि आइडल रहेको रकमबाट ब्याज आर्जन गरेर मुनाफा कमाउन सकिन्छ ।
इक्विटी र डिभिडेन्डः केही कम्पनीको सेयर खरिद गरी इक्विटी र डिभिडेन्डमार्फत पनि आय आर्जन गर्न सकिन्छ, यस्तो किसिमको लगानी भने दीर्घकालीन समयका लागि गरिन्छ ।
तोकिएको आय हुने उपकरणः यसमा दीर्घकालीन रूपमा सरकारी वा निजी क्षेत्रले जारी गर्ने ऋणपत्रहरू पर्छन्, जसको ब्याजदर तोकिएको रेटमा हुन्छ । ब्याजदर सुनिश्चित हुने भएकाले बजार कस्तो अवस्थामा छ, विश्लेषण गरेर लगानी गर्न सकिन्छ ।
डेरिभेटिभ्सः यसअन्तर्गत फर्वार्ड र फ्युचर्सको माध्यमबाट विदेशी विनिमय दर वा वस्तुको मूल्यमा हुने उतारचढावबाट बच्न यस्तो उपकरणको प्रयोग गरिन्छ । ब्याजदर वा मुद्रामा हुने जोखिम व्यवस्थापनका लागि स्वाप उपकरणको प्रयोग गर्न सकिन्छ भने भविष्यको निश्चित मूल्यमा सम्पत्ति किन्ने वा बेच्ने अधिकार खरिद गर्न अप्सन प्रयोग गरिन्छ ।
वैदेशिक मुद्रा किनबेचः प्रशस्त मात्रामा विदेशी मुद्रा सञ्चिति भएमा त्यसबाट पनि वर्तमान र भविष्यमा समेत आम्दानी गर्ने गरी विदेशी बचतमा निक्षेप तथा विदेशी मुद्रा हेजिङ गर्दै आय आर्जन गर्न सकिन्छ । आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी बढ्दो र घट्दो दरको आकलन गर्ने र सोबाट मनग्य मुनाफा आर्जन गर्न सकिन्छ ।
अल्पकालीन ऋणको माध्यमबाट आय आर्जनः रिपो र रिभर्स रिपोको माध्यमबाट पनि बैंक तथा वित्तीय संस्थाहरूले ब्याज आर्जन गर्न सक्छन् । आपत् परेका बेला इन्टरबैंक लेन्डिङ गरेर समेत आय आर्जन गर्न सकिन्छ ।
ब्याजदरः निक्षेपमा ब्याजदर बढी भएका बेला आवधिक निक्षेप तथा परिवर्तित ब्याजदरमा समेत निक्षेप लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ ।
म्युचुअल फन्ड तथा लिक्विड सम्पत्तिमा लगानी गरेर समेत आय आर्जन गर्न सकिन्छ । आफूसँग भएको तरलतालाई मध्यनजर गरी समयका आधारमा लगानी व्यवस्थापन गरेर समेत आय आर्जन गर्न सकिन्छ ।
कमोडिटिजमा लगानीः सुन, चाँदी, हीरा मोतीजस्ता बहुमूल्य धातुमा समेत लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ, जसमा जोखिम कम हुन्छ ।
यसका साथै रियलस्टेट तथा हाइब्रिड फन्डहरूमा समेत लगानी गरेर समयअनुसार पुँजीको लाभ प्राप्त गर्न सकिन्छ । माथि उल्लिखित उपकरणहरूको कुशल विश्लेषण र लगानीले मात्र प्रतिफल प्राप्त गर्न सकिन्छ, जसमा धेरै विषयको अध्ययन र ज्ञान हुन जरुरी देखिन्छ ।

ट्रेजरी व्यवस्थापनमार्फत विदेशी मुद्राको आय आर्जन कसरी गर्ने ?
विशेषतः विदेशी मुद्राको कारोबारमार्फत आय आर्जन वृद्धि गर्न सजिलो हुन्छ । अप्रत्यक्ष रूपमा विदेशी मुद्राको विनिमयबापत आउने विनिमय दर र सोबापतको आयले कुल आम्दानीमा वृद्धि गर्छ । प्रभावकारी वित्तीय रणनीतिको माध्यमबाट विदेशी मुद्राको कुशल व्यवस्थापन गर्दै नगद प्रवाह, त्यसको व्यवस्थापन र डेरिभेटिभ्सका माध्यमबाट पनि आय आर्जन गर्न सकिन्छ ।

विदेशी मुद्राको नगद व्यवस्थापनः हाल रेमिटेन्समा वृद्धि भइरहेकाले हरेक बैंक तथा वित्तीय संस्थाको विदेशी नोस्ट्रो खातामा विदेशी मुद्रामा नगद बढी रहेको देखिन्छ । त्यस्तो रकमलाई अल्पकालीन तथा दीर्घकालीन रूपमा उच्च ब्याज दिने उपकरणहरूमा लगानी गर्न सकिन्छ । त्यसै गरी विदेशी मुद्राको सञ्चय घटेका बेला बढी ब्याजदरमा त्यसलाई बेचेर मुनाफा आर्जन गर्न सकिन्छ । तसर्थ यस प्रयोजनका लागि नगद व्यवस्थापन जरुरी देखिन्छ ।

निर्यातजन्य व्यापारमा ऋण लगानीः निर्यातजन्य उद्योग वा व्यापारमा लगानी गर्नाले व्यवसायीलाई ऋण उपलब्ध गराउँदै विदेशी मुद्राको कारोबारमा वृद्धिसँगै विदेशी विनिमयका माध्यमबाट राम्रो कमिसनसमेत आम्दानी गर्न सकिन्छ ।

हेजिङमार्फत आम्दानी गर्नेः विनिमय दरको अस्थिरतालाई नियन्त्रण गर्न फर्वार्ड, अप्सन र स्वापको प्रयोग गर्ने । यसका साथै विदेशी मुद्रासँग सम्बन्धित जोखिम कम गर्नका लागि कर्पोरेट हेजिङ रणनीति लागू गर्ने । विदेशी मुद्राको जोखिम कम गर्न विभिन्न मुद्राको सञ्चयमा जोड दिन सकिन्छ ।

ब्याजदर आम्दानीः सञ्चित रहेको विदेशी मुद्रालाई अधिकतम ब्याज आउने खातामा राखेर पनि ब्याजदर आम्दानी बढाउन सकिन्छ ।

विदेशी मुद्रामा ऋणः सस्तो ब्याजदरको विदेशी मुद्रा ऋण लिएर उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सकिन्छ । यस्तो ऋण सस्तो हुने भएकाले सोको लागत कम गरी बढी प्रतिफल प्राप्त गर्न सकिन्छ ।

कारोबार प्रणालीलाई सहज बनाउनेः विदेशी मुद्रासँग सम्बन्धित कारोबारलाई ग्राहकमुखी बनाई ग्राहक आकर्षण बढाउने । सोको माध्यमबाट विदेशी मुद्राको विनिमयमार्फत पनि आम्दानी बढाउन सकिन्छ । ग्राहकलाई चाहिने डलर कार्ड, ड्राफ्ट, ट्राभल्स चेक तथा विदेशी मुद्रा रकमान्तरको सुविधालाई सहज बनाएर पनि आम्दानी बढाउन सकिन्छ । यसका साथै बैंकले विभिन्न किसिमका भुक्तानी एजेन्सीको कार्य पनि गर्न सक्छ ।

वैदेशिक व्यापारमा सहयोगः आयात तथा निर्यात व्यापारलाई प्रोत्साहित गरी सम्भावित ग्राहकलाई आकर्षित गर्ने र उनीहरूको व्यापारलाई सहजीकरण गरिदिने ।

विदेशी मुद्राको व्यापारः विशेषतः बैंक तथा वित्तीय संस्थाले ट्रेजरीको कुशल व्यवस्थापनका माध्यमबाट दैनिक रूपमा हुने विदेशी मुद्राको डिलमार्फत कारोबार गर्न सकिन्छ । छोटो समयको कारोबार तथा अन्तरबैंक विदेशी मुद्राको कारोबारलाई प्रोत्साहित गर्दै सञ्चित रहेको आइडल विदेशी मुद्राबाट मनग्य आम्दानी गर्न सकिन्छ ।

अन्त्यमा ट्रेजरी भनेको यस्तो कुरा, जहाँबाट संस्थाको उन्नति र अवनति दुवै हुन सक्छ । कुशल ट्रेजरी व्यवस्थापकका माध्यमबाट संस्थाले कमाइरहेको हुन्छ भने दीर्घकालीन रूपमा संस्थाको सम्पत्ति तथा दायित्वको पनि सुरक्षा भइरहेको हुन्छ । सबल, सक्षम र कुशल व्यवस्थापनबाट स्वदेशी तथा विदेशी बजारको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्दै तरल तथा सञ्चित सम्पत्तिलाई सही रूपमा अल्पकालीन तथा दीर्घकालीन आयस्रोतको रूपमा परिचालन गरी कोष तथा मुनाफा बढाउँदै लैजान सकिने कुरालाई नकार्न सकिँदैन । विदेशी मुद्रा सञ्चितिको जोखिम कम गर्दै नगद प्रवाह र आय स्थिरता सुनिश्चित गर्न व्यावसायिक दक्षता, प्रभावकारी नीति निर्माण तथा सर्वसुलभ प्रविधि र आत्मीय सेवा प्रभावको खाँचो अपरिहार्य पर्छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभागीय प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्