प्रभास क्षेत्र संरक्षणमा नगरपालिकाको चासो «

प्रभास क्षेत्र संरक्षणमा नगरपालिकाको चासो

प्रभास क्षेत्र संरक्षणमा नगरपालिकाको चासो प्रभास क्षेत्र संरक्षणमा नगरपालिकाको चासो अमृत अधिकारी पाल्पा, १५ फागुनसीमसार क्षेत्रको रूपमा रहेको ऐतिहासिक प्रभास क्षेत्र, लामिडाँडा, चुच्चेबारीलगायतका क्षेत्रममा बढेको भू–अतिक्रमण रोक्न तानसेन नगरकार्यपालिकाले अग्रसरता देखाएको छ । सडक क्षेत्राधिकार तथा सिमसार क्षेत्रमा डोजर लगाएर गरिएको माटो उत्खनन् तथा प्रभासमा रहेको सीमसार क्षेत्रको प्लटिंगप्रति सञ्चार माध्यममा समाचार प्रकाशन तथा विभिन्न निकायले ताकेता गरेपछि नगरकार्यपालिकाको बैठकले रोक्ने निर्णय गरेको हो ।प्रभास क्षेत्रमा माटो उत्खनन् तथा विस्तारको विषयमा तानसेन नगरपालिकाले गत माघ १० गते पत्र काटेर ऐतिहासिक महत्वको सीमसार क्षेत्र पुरिन गएको विषयमा सम्बन्धित जग्गाधनीलाई सीमसार क्षेत्र अतिक्रमण हुनेगरी के कति कारणले काम गरेको हो ? कानुनको पालना भएनभएको विषयमा २४ घण्टे पत्र काटेर तत्काल निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । स्थानीय दधिराम ढुंगाना, फणिन्द्र ढुंगाना, दिलिप ढुंगानालगायत लुम्बिनी मेडिकल कलेजलाई नगपालिकाले पत्राचार गरेको हो । त्यसपछि स्थानीय बासिन्दाको निवेदन, जिल्ला प्रशासन कार्यालय, सर्तकता केन्द्र, अख्तियारलगायतको पत्राचारपछि माघ २६ गते बसेको नगरकार्यपालिकाको बैठकले जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिएको छ । सीमसार क्षेत्रको रूपमा रहेको तानसेन नगरपालिका–७ मा अवस्थित प्रभास ताल विगत केही समय यता स्थानीयस्तरमा भएको पूर्वाधार विकासको क्रमसँगै अतिक्रमणको चपेटामा परी अस्तित्व नै लोप हुने अस्थामा पुगेको देखिन्छ । त्यसैले कार्यपालिकाको बैठकले तत्काल काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख अशोककुमार शाहीले बताए । पछिल्लो समयमा स्थानीय व्यक्तिहरूले आफ्नो स्वामित्वको जग्गा उपयोग गर्ने नाममा ठूलो परिमाणमा माटो ल्याई पुर्ने कार्य गरेकाले प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रमण हुन गएको छ । स्थानीय सरकारको अधिकार क्षेत्रभित्रका प्राकृतिक सम्पदा तथा धरोहरहरूको संरक्षणको दायित्व पनि स्थानीय सरकारकै रहेकाले नगरपालिकाको स्वीकृतिबिना तालको प्राकृतिक स्वरुप नै लोप हुने गरी पुरिएको माटो तत्काल हटाउन सम्बन्धित जग्गाधनीलाई बैठकले आग्रह गरको छ । बैठकले नगरपालिकाको अनुरोधलाई बेवास्ता गरी हटाउन आनाकानी गरेमा वा नहटाएमा तालमा पुरिएको माटोको परिमाण मापन गरी प्रतिघन फिट २ रुपैयाँका दरले जरिवाना गर्ने र माटो हटाउँदा लागेको खर्च सम्बन्धित जग्गाधनीबाट सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णय गरेको छ । जैविक विविधता तथा सीमसार क्षेत्रको रूपमा रहेको प्रभास तालको संरक्षणको लागि जिल्ला प्रशासन कार्यालय पाल्पा, भू तथा जलाधार संरक्षण विभाग, वन तथा भू संरक्षण मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउने तथा आवश्यक कारबाहीका लागि कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । ज्ञवालीका अनुसार प्रभास क्षेत्र सीमसार क्षेत्र, ऐतिहासिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले त्यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए । 
माटो नखन्न पत्राचार
 यस्तै प्रभास लामिडाँडा, चुच्चेबारी लगायतक्षेत्रमा सडक क्षेत्रभित्र रहेको जग्गामा स्वीकृतिबिनै माटो उत्खनन् र कटानी भएपछि डिभिजन सडक कार्यालय पाल्पाले तुरुन्तै रोक्न आग्रह गरेको छ । माघ १२ गते एक पत्र काटेर उसले सम्बन्धित पक्षलाई सडक ऐनविपरीत, बिनास्वीकृति सडक क्षेत्रको माटो उत्खनन् गरेको विषयमा सम्बन्धित व्यक्तिलाई तत्काल रोक्न र नरोकेमा ऐन र कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । स्थानीय रामप्रसाद पोखरेल, भेषराज नेपाल, रामजी ढुंगाना लगायतका व्यक्तिहरुले सडक क्षेत्रभित्रको माटो कटान गरी सडक तथा वातावरण सन्तुलनमा असर पुगेकाले उनीहरूलाई तत्काल काम रोक्न सडकले आग्रह गरेको छ । 
नपा र सडकको अनुरोध बेवास्ता
तानसेनको प्रभास, लामिडाँडा क्षेत्रमा सडक क्षेत्रको माटो उत्खनन् नगर्न सडकले गरेको अनुरोध सम्बन्धित जग्गाधनी तथा व्यक्तिहरूले उल्लंघन गरेका छन् । माटो नखन्न सडकले माघ १२ र प्रभास क्षेत्रमा फालिएको माटो उठाउन नगरकार्यपालिकाले २६ माघमा गरेको निर्णय कार्यान्वयनमा उनीहरू उदासीन देखिएका छन् । उनीहरूले केही राजनीतिक पार्टीको संरक्षणको आडमा अझै पनि माटो खन्ने क्रम रोकिएको छैन । प्रभास र लामिडाँडा क्षेत्रमा राजनीति कपहुँच र संरक्षणको भरमा प्रभास ताल र सडक क्षेत्राधिकारको जग्गा अतिक्रमण तथा माटो उत्खनन् हुँदा पर्या तथा वातावरवणीय प्रदूषण तथा जलचरलाई समेत असर पुगेको छ । 
लामिडाँडामा सडकको क्षेत्रभित्र माटो खनिँदै । 

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्