दुप्चेश्वर महादेवमा पर्यटकको आकर्षण
धादिङ– नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित दुप्चेश्वर महादेवप्रति भक्तजनको विश्वास बढ्दै गएको छ । मागेको कुरा पुर्याउने जनविश्वासमा दुप्चेश्वर महादेव दर्शन गर्न आउने गरेका छन् । धान्यपूर्णिमाको अवसरमा दर्शन गर्न तथा मेला भर्न एकादशीदेखि पूर्णिमासम्म हभक्तजनको बाक्लो आवागमन रह्यो ।
यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले पूजा–आराधना गरेको अनुमान स्थानीयले गरेका छन् । पौराणिक कथनअनुसार धेरै वर्ष पहिला स्थानीय वासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरामा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकोमा अहिले पनि पूजा–आराधना एवम् आस्था प्रकट गरिन्छ । गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यस ऐतिहासिक तथा प्रसिद्ध मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।
यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजारभन्दा बढी दर्शनार्थी आएको गाउँपालिका अध्यक्ष तथा दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक शंकरबहादुर थापाले बताए । समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छटपटिएका शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै यहाँ आएर बास बसी रसुवाको नीलखेत गएको किंवदन्ती छ । सन्तानमा पनि पुत्रलाभ गराउने विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेको पुजारी भगवानहरि धितालले बताए ।
मन्दिर दर्शन गरेमा बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई जीवनसाथी प्राप्ति हुने विश्वासका साथ दैनिक सयौँ भक्तजन दुप्चेश्वर आउने गरेका छन् । यस वर्ष दुईदिन पूर्णिमा परेकाले शनिबार र आइतबार दुई दिन पूर्णिमा परेकाले दर्शनार्थी उत्साहजनक रूपमा आएको मन्दिरका पुजारी धितालले बताए । गाईले दूध चढाउने मन्दिर भएकाले दुग्धेश्वर हुँदै हाल मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ । भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने भगवान्को रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी पुत्रलाभ गराउने विश्वास गरिन्छ ।
मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधन प्राप्त हुनेलगायतका विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको संख्यामा भक्तजन आउने गरेको पुजारी धितालले बताए । मेलामा सहभागी दर्शनार्थीलाई दर्शन एवम् पूजा–आराधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, बन्दोबस्ती, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत प्रभावकारी व्यवस्थापन गरेको गाँउपालिका अध्यक्ष एंव कोषका संरक्षक थापाले जानकारी दिए ।
पछिल्लो समय मन्दिरसम्म पुग्न यातायात सहज रूपमा आवतजावत गर्ने भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो भएको छ । काठमाडौंदेखि करिब ६२ किलोमिटर दूरीको मन्दिर पुग्न सकिन्छ । काठमाडौंबाट टोखा–छहरे–चौघडा–खरानीटार–समुन्द्रटार हुँदै मन्दिरसम्म पुग्न सकिन्छ । यसैगरी धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी–खरानीटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किलोमिटर यात्रा गर्नुपर्छ । नुवाकोट जिल्ला सदरमुकाम विदुरबाट ४० किलोमिटर मन्दिर पुग्न सकिन्छ ।
यसरी लाग्ने धार्मिक मेलाले स्थानीय कृषि तथा घरेलु उत्पादनको बिक्री वितरण तथा प्रवर्द्धन भई आर्थिक गतिविधि बढ्ने छ । स्थानीय होटल तथा यातायात व्यवसायीलाई मुख्यगरी आर्थिक लाभ हुन्छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारले पूर्वाधार निर्माण र प्रचारप्रसारमा विशेष जोड दिने हो भने नेपाली धर्मिक तथा पर्यटकका रूपमा घुमफिर गर्न तयार रहेको यो मन्दिर दर्शन तथा मेला भर्न आएका भक्तजनको उपस्थितिबाट देख्न सकिन्छ ।
भैरवी मन्दिरमा आन्तरिक पर्यटकको आर्कषण बढ्दो
बाइसे चौबिसे राज्यमध्येका गोरखाका राजा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । शाहले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिने गरी छैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरण अभियानसँग समेत जोडिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय हासिल गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गरेका थिए ।
‘भाकलपछि नुवाकोट जिते । त्यसपछि पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा दिएका हुन् । पूजा व्यवस्थापनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७३२ रुपैयाँ ५० पैसा आउने गरेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताए ।
पहाडको चुचुरोमा मन्दिर पूर्वपश्चिमतिर कहाली लाग्दो भीर । उत्तर–दक्षिणतिर सामान्य रूपमा भिरालो जमिन । मन्दिरको दुवै ठाउँबाट प्रवेश गर्ने सिँढी । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पहाडको चुचुरोमा रहेको भैरवी मन्दिर पछिल्लो पाँच वर्षयता धार्मिक पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनेको छ । धादिङको पुरानो सदरमुकाम यही मन्दिको किलो मिटर पूर्वतर्फ रहेको थियो ।
नीलकण्ठ नगरपालिका–६ मा अवस्थित भैरवी मन्दिर धार्मिक पर्यटक होइन मनोरम दृष्यावलोकन र आनन्दका लागि घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । मन्दिरबाट हिमश्रृंखला गणेश हिमाल, मनास्लु, मानापाथीलगायत हिमालको सामुन्नेबाट दृश्यावलोकन गर्न सकिन्छ । दसंै, तिहार तथा अन्य पर्व र बिदा मनाउन आउने गरेकाले बिदाका दिन बढी भीड लाग्ने गर्दछ ।
यस मन्दिरमा वडा दसैँ र चैतेदसैंमा विशेष पूजा तथा मेला लगाउँछन् । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ । वडादसैँको नवमीका दिन सुँगुरको बली दिँदै आएको सचिव श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीबाट करिब आठ किमि पिच र १० किमि कच्ची गरी करिब १८ किलोमिटरको यात्रापछि र पुरानो बाटोबाट पदयात्रा गरेर भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र नभई हाइकिङ गरेर पनि भैरवी मन्दिर पुग्न सकिन्छ ।
भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रशव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको पुजारी भगवान राना मगरले सुनाए ।
२०७२ सालको भूकम्पले थलिएको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेले नै थप प्रचारप्रसार गरिरहेका छन् । स्थानीय सरकारको पहलमा संघीय सरकारले मन्दिर पुनर्निर्माण गरेको हो । रणनीति योजनाका साथ प्रचारप्रसार र संरक्षण गर्नसके धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण गन्तव्य हुनेमा दुईमत छैन ।