सुन्तला बजारीकरणमा नगरको सहयोग
पर्वत– उत्पादित सुन्तला गाउँमै ब्राण्डिङ गरी बजारीकरण गर्न थालिएको बागलुङ नगरपालिका–८ सिगानाका कृषकलाई बागलुङ नगरपालिकाले सहयोग गर्न थालेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत् प्याकेजिङको काम थालिएको हो । स्थानीय गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा नगरले सहयोग गरेको सहकारीले जनाएको छ ।
नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काले सहकारीमार्फत् सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिए । उनले परीक्षणका लागि यस वर्ष दुई हजार दुई सय कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताए ।
‘ब्राण्ड नुहँदा बजारीकरणमा समस्या खेप्दै आएकोमा अब भने सहज हुने भएको छ खड्काले भने, ‘अहिले एउटा कार्टुनलाई किसानले ४० मा पाउँछन्, सुन्तला प्याकेजिङ गरेर पठाउँदा कार्टुनको मूल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर एक लाखका कार्टुन उत्पादन गरिएको छ ।’
सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकाले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाइ छ । खड्काले कार्टुनको मागअनुसार सहकारीले उत्पादन गर्नसक्ने बताउँदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचानसँग जोडिएकाले आगामी दिनमा नगरपालिकाले कार्टुन, क्यारेटजस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको बताए ।
अहिले स्थानीय कृषकले गाउँमा उत्पादन भएको सुन्तलालाई मायाको चिनोको रूपमा समेत दिन थालेका छन् । यहाँका किसानले वार्षिक तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाडौं निर्यात हुँदै आएको छ । वर्षौंदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचार प्रसारका लागि ब्राण्डिङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए ।
हलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन सुरू गरेको उनको भनाइ छ । सिगानालाई सुन्तला अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताए । यस वर्ष नगरपालिकाले पाँच लाख लागतमा सुन्तलाका बिरूवा ५० प्रतिशत अनुदानमा वितरणसमेत गरेका थियो ।