मधेशमा भारतीय ग्राहकको चहलपहल
बारा- मधेश घुम्न आउने भारतीयहरूको चहलपहल बढेको छ । यतिबेला प्रदेशको सहर–बजार, धार्मिक स्थल, पर्यटकीय क्षेत्र, तारे होटल, रिर्सोट र मार्टमा विदेशी ग्राहक बनेर भारतीय पर्यटकको चहलपहल बढेको हो । छोटो बसाइका लागी स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीयहरू धार्मिक स्थलमा पूजा पाठपछि किनमेल गर्ने गर्छ्न् ।
‘पछिल्लो समय मधेशको व्यवसायमा बिहारका भारतीय नागरिकहरू रहेका छन् । धार्मिक स्थल, सहर बजारका होटल, रेष्टुरेन्ट र मलहरूमा विदेशी ग्राहकको रूपमा भारतीय बढी मात्रामा भेटिने गरेका छन् ।’ नाट्टा मधेश प्रदेश अध्यक्ष मोहन शर्माले भने,‘यतिबेला बिहारका नागरिकहरू छोटो बसाईमा धार्मिक स्थलमा पूजा पाठपछि फर्किने गरेका छन् ।’
बिहार राज्यको ठूलो क्षेत्रफल मधेश प्रदेशको सबै सीमा जोडिएको छ । दुवै देशमा सहज आउँजाउँ, भारतीय मुद्राको सहज प्रयोग, बजारमा व्यावसायिकताको सुन्दर प्रस्तुति र पर्यटन व्यवसायीको उत्साहजनक सेवा प्रवाह हुन थालेपछि मधेश प्रदेश केन्द्रित भारतीयहरू पर्यटक बनेर नेपाल आउने क्रम बढेको हो । बिहारको राजधानी पटनाबाट स्थलमार्गमा ४ देखि ५ घण्टा समय लाग्ने मधेश प्रदेशमा कोलकतादेखि भारतीय नागरिकहरू पर्यटकको रूपमा आउन थालेका छन् ।
विगतमा स्थलमार्गबाट आउने भारतीय पर्यटक चितवन, पोखरा, काठमाडौं मात्रै आउने क्रममा अहिले सुधार भएको अध्यक्ष शर्माले बताए । पर्साको वीरगन्ज, ठोरी, बाराको मटिहर्वा, सिमौनागढ रौतहटको गौर, सर्लाहीको मलगंवा, जनकपुरको भिट्टामोड, जलेश्वर, सिराहा, सप्तरीका छोटी भन्सारबाट भारतीय नम्बरका दुई र चार पांग्रे सवारीहरूले नेपाल प्रवेशको अनुमतीसहित मधेश प्रदेश आउने गरेको छन् ।
उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले यहाँ आउने भारतीय पर्यटकहरूले नेपाली बजारबाट लत्ता कपडा, इलेक्ट्रोनिक्स तथा घरायसी सामान किनेर लैजाने गरेको बताए । मधेशमा बढ्दो भारतीयहरूको आगमनले व्यावसायिक क्षेत्रमा आशा जगाएको बताउँदै अध्यक्ष टेमानीले सिमानाकामा भारतीय पर्यटकमाथिको सोधपुछमा सुधार गर्नु पर्ने बताए । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आएका अन्य पर्यटक सरह सम्मान दिनु पर्ने उनको भनाइ छ ।
सामान्य प्रकृतिका भारतीय पर्यटक मधेशमा सामान खरिद बाहेक प्रति व्यक्तिले एक दिनको बसाइ र घुमाइमा बढीमा ५ देखि १० हजार रुपैयाँसम्म खर्च गर्ने होटल तथा पर्यटन व्यवसायी संघका मधेश प्रदेशले जनाएको छ । भारतीय पर्यटक मधेशको प्राण बनेको बताउँदै होटल तथा पर्यटन व्यवसायी संघका मधेश प्रदेश अध्यक्ष हिरा गौतमले भने,‘हामीले दिने हस्पिटालिटिमा व्यापक सुधार गर्दै लगेका छौं, सकारात्मक परिणाम पनि देखिन थालेको छ, उत्साहित बनेका छौं ।’
नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी मातहतका प्रहरीलाई काम गर्न निर्देशन दिएको बताउँदै भारतीय नम्बरको सवारी धनीलाई नियतवश दु:ख दिने प्रहरीलाई निगरानीमा राखिएको बताए । अथाह सम्भावना भएको प्रदेशमा नेपालकै ठूलो पथलैंया, वीरगन्ज औद्योगिक करिडोर, पर्सा राष्ट्रिय निकुन्ज, बाराको गढीमाई, ऐतिहासिक दरबार सिम्रौनगढ, राणाकालीन सहर अमलेखगन्ज जस्ता पर्यटकीय सम्पदा रहेका छन् ।