सूचीकृत बेरोजगार बढेको बढ्यै
छैनन् रोजगारमुखी कार्यक्रम

जुम्ला– जुम्लामा सूचीकृत बेरोजगारको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । सीप क्षमता र दक्षतानुसार काम नपाएर कामविहीन बनेका सूचीकृत बेरोजगारको संख्या जुम्लामा बढ्दै गएको हो । कामको खोजीमा रहेका तर कतैबाट कुनै काम नपाएर गाउँमै बसेका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारका रूपमा सूचीकृत गर्ने गरिएको छ ।
सूचीकृत बेरोजगार मध्येबाट विपन्न, सीमान्तकृत युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना निर्माणमा लगाउने र बाँकीलाई पालिकाका अन्य विकास निर्माणका काममा खटाउने उद्देश्य राखिएको छ । तर हरेक वर्ष सूचीकृत बेरोजगारको संख्या बढ्दै गए पनि तीनै तहका सरकारले सय दिनको रोजगारी मिल्नेसम्मको योजना निर्माण नगर्दा युवा कामविहीन भएका छन् ।
विशेषगरी कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहले जल, जमिन, जडिबुटी, कृषि र पर्यटनमा लगानी बढाएर, सूचीकृत बेरोजगारलाई त्यसमा समेट्ने नीति लिन सकेको छैन । जसका कारण तथ्यांक संकलन गरेर औपचारिकता निभाउने र समाजको गरिबीलाई दस्तावेजीकरण मात्रै गर्ने काम भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्षमा १० हजार युवालाई रोजगार दिने महत्त्वकाँक्षी योजना ल्याए पनि अलपत्र परेको छ ।
सूचीकृत बरोजगार युवाले नत आफ्नो सीप र क्षमतानुसार काम पाउन सकेका छन् । नत सूचीकृत युवालाई तीन तहको सरकारले विकास निर्माणमा परिचालन गर्न सकेको छ । वर्षेनी संकलन गरिने बेरोजगारको तथ्यांकले रोजगारी वृद्धिमा टेवा पुर्याउन नसकेको प्रति युवा नै आक्रोसित छन् । आर्थिक समृद्धि र रोजगारी सिर्जनाको प्रचुर सम्भावना भएको जुम्लामा वर्षेनी सूचीकृत बेरोजगारको संख्या वृद्धि हुनुले स्थानीय सरकारको लगानी अनुत्पादनशील क्षेत्रमा बढी भएको र रोजगारी सिर्जनाको विषयमा ध्यान नदिएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को वैशाख मसान्तसम्मा मात्रै १३ हजार ३३ जना सूचीकृत बेरोजगार रहेको जुम्लामा नौ महिनाकै अवधिमा करिब १५ सयले सूचीकृत बेरोजगार बढेका छन् । चालु आर्थिक वर्ष २०८१/०८१ को पुस २३ गतेसम्मको तथ्यांकलाई हेर्दा जुम्लामा सूचीकृत बेरोजगारको संख्या १४ हजार ५४३ जना पुगेको छ । जुन गत आवको भन्दा एक हजार पाँच सय जना बढी हो ।
सूचीकृत बेरोजगारमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जुम्लाका कुल सूचीकृत बेरोजगारमध्ये महिला आठ हजार ५८९ जना र पुरुष पाँच हजार ९५४ जना रहेका छन् । हालसम्म जुम्लाका २८ जनामात्रै प्रत्यक्ष रोजगारीमा संलग्न भएको तथ्यांकले देखाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्लामा चालु आवमा कुल ५० वटा आयोजना निर्माण हुनेछन् ।
५० वटा आयोजनामा निश्चित युवाले मात्रै काम पाउने र अधिकांश युवा कामविहीन नै हुनुपर्ने भएकाले स्थानीय तहले पालिकाका अन्य विकास निर्माणका काममा सूचीतकृत बेरोजगारको प्रयोग गर्ने नीति बनाउन जरुरी देखिन्छ । जुम्लाको सूचीकृत बेरोजगारको सख्या बढे पनि समग्र कर्णाली प्रदेशको संख्यामा घटेको छ । गत आर्थिक वर्षमा कुल दुई लाख १० हजार सूचीकृत बेरोजगार रहेको कर्णालीमा यसवर्ष दुई हजारले घटेर दुई लाख आठ हजार युवा सूचीकृत बेरोजगार रहेका छन् ।
स्थानीय सरकारले अधिकांश बजेट सडक निर्माण र अनुत्पादक क्षेत्रमा लगानी गर्ने भएकाले पनि बेरोजगारीको समस्या बढ्दै गएको छ । हरेक वर्ष नीति कार्यक्रम र बजेट ल्याउँदा गाउँगाउँमा सडक पुर्याउने कुरा प्राथमिकतामा परे पनि रोजगारी सिर्जना र उत्पादन वृद्धिको विषय सधै ओझेलमा परेको छ ।
कुन पालिकामा कति बेरोजगार ?
कृषि, पर्यटन, जल, जमिन, जडिबुटीको प्रचुर सम्भावना भएर पनि ठोस नीति र लगानी अभावमा बढ्दै गएको बेरोजगारी न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पुर्याउने आशा गरिए पनि अपेक्षित रोजगारी सिर्जना हुन सकेको छैन ।
सीपको पहिचान, क्षमता अनुसारको रोजगारी, श्रम संस्कृतिको विकास, स्वदेशमै रोजगारी प्रदान गर्ने र युवा पलायन रोक्ने उदेश्यसहित सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले सूचीकृत बेरोजगारको संख्या बढाए पनि रोजगारी थोरैलाई मात्र दिएको छ । जसअन्तर्गत आठ पालिका रहेको जुम्लामा एकमात्र चन्दननाथ नगरपालिकामा ७३२ जना सूचीकृत बेरोजगार छन् । जसमा महिला ५३६, पुरुष १९६ जना छन् ।
तातोपानी गाउँपालिकामा महिला ११ सय ४३ र पुरुष ७९२ जना गरी कुल १९ सय ३५ जना सूचीकृत बेरोजगार रहेको तथ्यांकले देखाएको छ । त्यस्तै तिला गाउँपालिकामा कुल २७ सय ८४ जना सूचीकृत बेरोजगा रहेकोमा महिला १४ सय १९ र पुरुष १३ सय ६५ जना छन् । हिमा गाउँपालिकामा कुल २३ सय ६९ सूचीकृत बेरोजगार हुँदा महिला १३ सय १५ र पुरुष १ हजार ५४ जना, सिंजा गाउँपालिकामा कुल २८ सय ९७ जना सूचीकृतमध्ये महिला १७ सय ६५ र पुरुष ११ सय ३२ जना सूचीकृत बेरोजगार रहेका छन् ।
साथै कनकासुन्दरी गाउँपालिकामा जम्मा २२ सय ७० जना सूचीकृत बेरोजगार रहेकोमा महिला १३ सय ३३ र पुरुष ९ सय ३७ जना, पातारासी गाउँपालिकामा कुल ६९४ जना सूचीकृत बेरोजगारमध्ये महिला ४९२ र पुरुष २०२ जना रहेका छन् भने गुठिचौर गाउँपालिकामा कुल ८६२ जना सूचीकृत बेरोजगार छन् । जसमध्ये महिला ५८६ र पुरुष २७६ जना रहेको तथ्यांकमा उल्लेख छ । प्राय: पुरुष कामको खोजीमा बाहिर जाने र महिलाकै भरमा गाउँघर रहने हुँदा सूचीकृत बेरोजगार पनि महिला बढी देखिएका हुन् ।