Logo

बाजुराको बिच्छयाँमा १४ करोड बढी लागतमा विद्युत निर्माण

बाजुरा– बाजुराको दुर्गम हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसमा १४ करोड ५५ लाख रुपैयाँमा एक किलोवाट विद्युत निर्माणको काम अन्तिम चरणमा रहेको छ । झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न हुने लागेको हो ।

हिमाली गाउँपालिका १, २ र ३ वडाका ६८२ परिवार र वडा नम्बर ५ स्थित क्युडी गाउँका १२० परिवारका घरमा केही महिनाभित्र बिजुली बल्ने छ । अँध्यारोमा बस्दै आएका गाउँले बिजुली बल्ने भएपछि निकै उत्साहित र खुसी भएका स्थानीय छक्कलाल थापाले बताए । ‘वर्षौंदेखि झरोको सहारामा उज्यालो बालिरहेका स्थानीय २०८२ जेठसम्म बिजुली बाल्ने छन्,’ उनले भने ।

गाउँपालिकाको सहकार्यमा ‘कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थासँगको सहकार्य तथा सहयोगमा बिजुली बाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । हिमाली गाउँपालिकाको २ मा नातिखोला लघुजलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुने भएको हो ।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार २०८२ जेठसम्म बिच्छयाँका सबै गाउँमा बिजुली पुराइसक्ने योजना रहेको बताए । झन्डै १४ करोड ५५ लाख रुपैयाँमा एक किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न हुने लागेको परियोजनाले जनाएको छ ।

परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । परियोजना सम्पन्न गर्न संस्थाले दुई चरणमा काम गरेको थियो । बिजुली बाल्ने लगभग अन्तिम चरणमा पुगेको गुरुङ बताउँछन् । बिच्छयाँमा चाडो बिजुली बाल्न संस्थाले हेलिकप्टरमार्फत् हुम्लाको जिबानाबाट सामान ढुवानी गरेको छ । जिबानासम्म यातायातको साधनमार्फत् ढुवानी गरिएको थियो । बिच्छयाँ यातायातको पहुँचमा नभएकाले हेलिक्पटरमार्फत् सामान ढुवानी गरिरहेको छ ।

सो संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँका चार ठाउँमा झोलुंगे पुल, खानेपानी योजना साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ । बिच्छयाँबारे सञ्चारमाध्यमबाट जानकारी पाएलगत्तै यहाँ पुगेको प्राविधिक निर्देशक डा. नारायण गुरुङ बताउँछन् । योभन्दा पहिला बाजुराकै गौमुल गाउँपालिकामा बिजुली बालेको यो संस्थाले अहिले त्यहाँ झोलुङंगे पुल र खानेपानी योजना निर्माण गरेको छ । संस्थाले नेपालका विकट ठाउँमा पुगेर काम गरिरहेको गुरुङ बताउँछन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत् फिनल्यान्ड सरकार र युरोपियन युनियन, गाउँपालिका र स्थानीयको श्रमदानमा चार वर्ष पहिला बिजुली बाल्ने प्रक्रिया अगाडि बढाएको थियो । दुई वर्षपछि एकाएक ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले काम गर्न नसक्ने बताएपछि बिच्छयाँवासीको बिजुली बाल्ने सपना अधुरै थियो । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले हेलिकप्टरमार्फत् हुम्लाको जिबानाबाट बिच्छयाँ गाउँमा सामान बोक्ने गरेको बताए । यहाँ यातायातको पहुँच नभएकाले हेलिकप्टरमार्फत् सामान ढुवानी गर्नुपरेको परियोजनाले जनाएको छ ।

बिच्छयाँ खोला लघुजलविद्युत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर रोकायाका भनाइअनुसार चार वर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानीय बासिन्दा एकाएक निराश बनेका थिए । अब कादुरीले विद्युतीकरणको काम अगाडि बढाएसँगै उनीहरूको निरासा आशामा बदलिएको छ । स्थानीयबासी हौसिएका छन् । यो ठाउँमा राष्ट्रिय प्रसारणलाइन पुग्ने कुनै सम्भावना थिएन संस्थाले बिजुली बाल्न सहयोग गरेपछि स्थानीयका सपना पूरा हुन लागेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी बताउँछन् ।

बिच्छयाँ साविकको एउटा गाविस हो । अहिले यो हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ पर्छ । बिच्छयाँका सबै बासिन्दाको पहिलो प्राथमिकता अहिले पनि बिजुली बाल्ने छ । यो ठाउँ पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिनभन्दा बढी हिँड्नुपर्छ । वर्षौंदेखि यहाँका बासिन्दा झरोको सहारामा उज्यालो बाल्दै आएका छन् । बिच्छयाँ जिल्लामा सडक यातायातको पहुँच नपुगेको बाजुराका साविकको २७ गाविसमध्ये एकमात्र गाविस हो ।

प्रतिक्रिया दिनुहोस्