Logo

कामका लागि दोहोर्‍याएर जाने श्रम गन्तव्यमा कतार अगाडि

काठमाडौं– पहिलो पटक विदेश जाने युवाका लागि यूएई पहिलो रोजाइमा परे पनि बिदामा आएर पुनः जाने देशमा भने कतार अगाडि देखिएको छ ।

साउदी अरब, यूएई र मलेसियाको तुलनामा दोहोर्‍याएर जाने श्रम गन्तव्यमा कतार अघि छ । विगत पाँच आर्थिक वर्षमा पुनः श्रमस्वीकृति लिएर सबैभन्दा बढी ३ लाख ७९ हजार ९८ युवा कतार गएका अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको प्रतिवेदनले धेरै श्रमिक जाने देश यूएई र पुनः श्रमस्वीकृति लिने देश कतार रहेको देखाएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङका अनुसार यूएई, साउदी अरब र मलेसियाको तुलनामा कतारको रोजगारी स्थिर र मर्यादित भएका कारण अन्य देशको तुलनामा त्यहाँ दोहोर्‍याएर नेपाली जाने गरेका छन् । विश्वकप फुटबल आयोजना गर्नुअघि कतारले विदेशीका लागि लागु गर्ने श्रम कानुनमा सुधार गरेको थियो । यहीकारण पनि एक पटकका लागि गएका नेपाली पुनः जाने गरेका छन् । विगत पाँच वर्षयता कतारले काफला (स्पोन्सरसिप) प्रणाली लगायतका क्षेत्रमा सुधार गरेपछि त्यहाँ लामो समय काम गर्ने विदेशीको संख्या बढ्न थालेको हो ।

यसैगरी खाडी देशमध्ये यूएईमा पहिलो पटक जाने श्रमिक बढी हुने गरेका छन् । पछिल्लो समय मलेसिया, कतार र साउदी अरबको तुलनामा नेपाली युवाको नयाँ गन्तव्य यूएई बनेको छ । पुनः श्रमस्वीकृति लिएर विदेश जानेमा भने यूएई दोस्रो स्थानमा छ । यो अवधिमा २ लाख ५८ हजार ४१४ जनाले यूएईका लागि पुनः श्रमस्वीकृति लिएका छन् ।

कोभिड संक्रमणपछि ओरालो लागेको अर्थतन्त्र सुधार गर्न यूएईले पूर्वाधारसँगै सेवा क्षेत्रमा लगानी बढाएपछि त्यहाँ जाने नयाँ नेपालीको संख्या बढेको देखिन्छ । यी क्षेत्रमा लगानी बढाएका कारण यूएईमा रोजगारीका अवसर पर्याप्त मात्रामा खुलेका छन् । यद्यपि, स्थिर रोजगारी नहुँदा दोस्रो पटक भने नेपाली यूएई जान रुचाउँदैनन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा अगाडि यूएई थियो । गत आवमा रोजगारीका लागि यूएई जानेको संख्या १ लाख ३१ हजार २६ थियो । यो संख्या सरकारले प्रदान गर्ने श्रमस्वीकृति लिएर गएकाको हो ।

श्रमस्वीकृति नलिई अन्य माध्यमबाट यूएई पुग्ने र उतै काम खोज्नेहरुको संख्या पनि ठूलो छ । भिजिट भिसामा यूएई पुगेर काम खोज्ने र अलपत्र पर्नेहरु पनि थुप्रै रहेका कारण पहिलो पटक गएका युवा दोस्रो पटक भने त्यति जाने गरेको तथ्यांकले देखाउँदैन । गत आवमा वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्या ७ लाख ४१ हजार थियो । यसमध्ये यूएई जाने १७.६७ प्रतिशत थिए । यो वर्ष पनि यूएई जाने नेपालीको संख्या नघटेको भए पनि पुनः श्रमस्वीकृतिमा भने कमी देखिएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा कतार र यूएईपछि नेपाली धेरै जाने तेस्रोमा साउदी अरब रहेको छ । पाँच वर्षको तथ्यांकअनुसार साउदी अरबका लागि पुनः श्रमस्वीकृति लिने २ लाख ५६ हजार २३६ जना छन् । चौथो धरै पुनः श्रमस्वीकृति लिने देशमा मलेसिया छ । पाँच वर्षमा पुनः श्रमस्वीकृति लिएर मलेसिया जानेको संख्या ९४ हजार ४२५ छ । केही वर्षअघिसम्म मलेसिया वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तव्य थियो ।

प्रतिक्रिया दिनुहोस्