पर्यटन प्रवर्द्धनमा बौद्ध सम्पदाको बजारीकरण र ब्रान्डिङ जरुरी
गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र सो स्थल नेपालमा रहनु नै नेपालको बौद्ध पर्यटनका निम्ति महत्वपूर्ण ब्रान्डिङ हो । लुम्बिनी, स्वयम्भू र महाबौद्धलाई युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ । यसको अर्थ यी क्षेत्र नेपालका लागि मात्रै होइन, विश्वकै लागि महत्वका क्षेत्रहरू हुन् । लुम्बिनीसँगै कपिलवस्तु, रामग्राम र देवदहजस्ता ऐतिहासिक सम्पदाहरूले नेपालमा बौद्ध पर्यटनको सम्भावनालाई उजागर गरेको छ । यस्तो सम्भावनालाई साकार पार्न यी क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमार्फत पर्यटनमा ब्रान्डिङ गर्नु अति जरुरी देखिएको छ ।
लुम्बिनीको ब्रन्डिङको विषयलाई स्वयम् बुद्धले नै लुम्बिनी चार प्रमुख धार्मिक स्थल (लुम्बिनी, बोधगया, सारनाग र कुशीनगर) मध्ये एक हो र मानिस आफ्नो जीवनमा कम्तीमा एकपटक भए पनि लुम्बिनी पुग्नैपर्छ । यसबाट उसले अनित्यताको बोध गर्न सक्छ भन्ने सन्देश ‘महापरिनिर्वाण सुत्त’मा दिएका छन् । फेरि लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने कुरालाई अब प्रमाणित गरिरहनुपर्ने विषय पनि रहेन । अशोक स्तम्भमा कुँदिएको शिलालेखबाट त्यसको पुष्ट्याइँ भइसकेको छ । त्यसैले अब लुम्बिनीको प्रचारप्रसार मात्रै आवश्यक हो । साथै, पर्यटन पूर्वाधारको विकास गर्दै पर्यटक आवागमन र बसाइमा सहजता ल्याउनु जरुरी छ । ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने बजारशास्त्रको महत्वपूर्ण सारलाई गम्भीरताका साथ लिनु आवश्यक छ । हामीसँग पर्यटनका लागि विषयहरू त छन्, तर तिनलाई भजाउन नसक्दा बौद्ध पर्यटन नारामा मात्र सीमित भएको छ ।
भारतले बोधगयाको जसरी प्रचारप्रसार गरिरहेको छ, त्यसलाई बान्डिङ गरिरहेको छ, त्यसको तुलनामा नेपालको लुम्बिनीमा केही हुन नसकेको देखिन्छ । तिब्बत, चीनमा बुद्धको जीवनसँग सम्बन्धित विषयहरू नभए पनि परम्परागत स्तूप, चैत्य, गुम्बा तथा बौद्ध कला संस्कृतिलाई ब्रान्डिङ गरेर विश्वका बौद्ध तीर्थयात्रीलाई आकर्षित गरिरहेको छ । हामीकहाँ ऐतिहासिक बौद्ध सम्पदाहरू मात्रै छैनन्, यहाँ रहेको थेरवाद, माहायान, बज्रयान, नेवारी बौद्ध धर्म र हिमाली बौद्ध धर्मका अनेक सम्पदा, संस्कृति र परम्पराहरू पनि छन्, जुन विशिष्ट खालका छन् । यस्ता सम्पदाहरूको भ्रमण, अवलोकन, अध्ययन, अनुसन्धान आदिका निम्ति विश्वका शान्तिगामी मानिसहरूलाई नेपाल भित्र्याउन सकिन्छ ।
विश्वको कुल जनसंख्याको करिब ६.६ प्रतिशत मानिस बौद्ध धर्म मान्छन् । यस हिसाबले बौद्ध धर्मावलम्बीहरूको संख्या करिब ५१ करोड हुन आउँछ । यो त बौद्ध धर्म मान्नेहरूको संख्या हो । सन् २०१९ मा अमेरिकामा रहेको पेव रिसर्च सेन्टरले गरेको एक अध्ययनमा एसियाली क्षेत्रमा बौद्ध धर्म नमाने पनि बुद्धका शिक्षा र संस्कार आदि अँगाल्नेहरू प्रशस्त रहेको बताएको छ । त्यतिमात्र होइन, पछिल्लो समय अमेरिका र युरोपमा समेत बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्दै गएको कुरा तथ्यांकले देखाएको छ । अमेरिकामा कुल जनसंख्याको करिब १ प्रतिशत बौद्ध धर्मावलम्बीहरू पुगिसके भने युरोपमा करिब २ प्रतिशत छन् ।
आधुनिक समयमा दोस्रो विश्वयुद्धपछि युरोपेली औपनिवेशमार्फत बौद्ध धर्म प्रसारित भयो । त्यतिमात्र होइन, विश्वव्यापीकरणका कारण एसियाबाट बसाइँ सरी अमेरिका र युरोप पुगेका बौद्धहरूमार्फत पनि बौद्ध धर्म प्रसारित भएको छ । खास गरी तिब्बतीय शरणार्थीहरूको बसाइँसराइ र दलाइ लामाको विश्वव्यापी प्रवचनका कारण पनि बौद्ध धर्मले पश्चिमा मुलुकहरूमा प्रसारित हुने मौका पाएको हो । भियतनामी आप्रवासीहरूले पनि बौद्ध धर्मको फैलावटमा ठूलो योगदान गरेका छन् । वास्तवमा बौद्ध धर्म जतिजति फैलँदै जान्छ, नेपालका लागि पर्यटनबाट लाभ लिने सम्भावनाहरू पनि बढ्दै जान्छ ।
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको अग्लो चुचुरो सगरमाथामा पाइला टेकेपछि नेपाल सगरमाथाको देश भनेर जसरी विश्वमा सनसनी मच्चिएको थियो र त्यसले नेपाललाई विश्वमा चिनाएको थियो, ठीक त्यसैगरी संसारमा शान्ति र खुसीको सञ्चार गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न विहार, चैत्य, स्तूप, स्मारक, प्राचीन भग्नावशेष, बौद्ध चार्डपर्व, उत्सव एवम् संस्कारहरूले नेपाललाई विश्वको ध्यान केन्द्रित गराउन सफल देखिन्छ । त्यसैले नेपालमा रहेको बौद्ध धर्मसँग सम्बन्धित भौतिक एवम् अभौतिक सबै खाले वस्तु तथा सेवाहरूलाई पर्यटन प्रवद्र्धनका निम्ति प्रचारप्रसार गर्नुपर्छ ।
लुम्बिनी पुरातात्विक वस्तु मात्र नभएर ध्यान, ज्ञान र शान्तिको त्रिवेणी पनि हो । मायादेवीको मन्दिर, पुष्करिणी पोखरी, अशोक स्तम्भ, शान्ति द्वीप, लुम्बिनी बगैँचा, विभिन्न देशले निर्माण गरेका स्तूप तथा विहार र लुम्बिनी ग्राम लुम्बिनीका मुख्य आकर्षण हुन् । यहाँ रहेका विभिन्न मुलुकका स्तूप तथा विहारमा मनाइने विभिन्न बौद्ध चाडपर्व र उत्सवहरू पनि बौद्ध पर्यटनका स्रोत हुन् । बेलाबेला गरिने सांस्कृतिक नृत्य एवम् शान्ति उत्सवका कार्यक्रमहरू पनि पर्यटकका लागि आकर्षणका विषय हुन् । लुम्बिनीमा वर्षाको समयमा मनाइने वर्षावास उत्सव र कठिन चीवरदान उत्सव तथा मनलान पूजालाई हेर्ने हो भने यो समयमा लुम्बिनीमा तिब्वत, चीन, भारतलगायतका देशहरूबाट चिवर धारण गरेका भन्ते र आनीहरूको घुइँचो देख्न सकिन्छ । यसलाई थप प्रचारप्रसार गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्छ ।
बौद्ध पर्यटनका लागि ब्रन्डिङ गर्नुपर्ने स्थान कपिलवस्तु पनि हो । राजकुमार सिद्धार्थको रूपमा बुद्धले २९ वर्ष बिताएको र बुद्धत्व प्राप्तिपछि पनि कैयौँ पटक आएको स्थान कपिलवस्तु प्राचीन शाक्य राजधानी हो । अहिले यहाँ प्राचीन शाक्य दरबारका भग्नावशेषहरू छन् । त्यसकै सरोफेरोमा ७ देखि ९ किलोमिटरमा अवस्थित क्रकुच्छन्द र कनकमुनिको जन्मस्थान क्रमशः गोटिहवा र निग्लिहवा छन् । त्यसैगरी शुद्धोधनले बुद्धलाई दिएको न्याग्रोराधाम विहार रहेको क्षेत्र पनि कपिलवस्तुमै छ । यस्ता क्षेत्रको प्रचारप्रसार गर्न सके पर्यटनबाट लाभ लिन सकिन्छ ।
त्यसैगरी रामग्राम र देवदह पनि पर्यटन प्रवद्र्धनका निम्ति प्रमुख स्रोत हुन् । रामग्राम बुद्धको अस्तिधातु रहेको स्तूप भएको पवित्र स्थान हो । सम्राट् अशोकको पालामा बुद्धका अस्तिधातु रहेका स्तूपहरूबाट अस्तिधातु झिकी ८४ सय स्तूप निर्माण गरिएको भए पनि रामग्राममा रहेको स्तूप भने सुरक्षित रहेको भन्ने कुरा बौद्ध साहित्यहरूमा पाइन्छ । देवदह शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापति र पत्नी यशोधराको माइती गाउँ हो । बुद्धले आफ्नो ज्ञान प्राप्तिको सातौँ वर्षमा आफ्ना सहयोगीका साथ देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रन्थमा उल्लेख गरेको पाइन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षसमेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।
जातक कथाअनुसार बुद्धले आफ्नो पूर्वजन्ममा राजकुमार महासत्वका रूपमा जन्मिँदा बघिनीलाई आफ्ना पाँच डमरु बचाउन शरीर दान गरेका थिए । यसरी बोधिसत्वका रूपमा बुद्धले दान पारमिता पूरा गरेको स्थल नै हालको नमोबुद्ध हो भनी बौद्धहरू विश्वांस गर्छन् । यो काभ्रे जिल्लामा पर्छ । यो विभिन्न स्तूप, बौद्ध मन्दिरको निर्माणले गर्दा आकर्षक देखिन्छ । बौद्ध आस्थाका साथै रमणीय स्थल पनि हो नमोबुद्ध, जहाँबाट अग्ला सेता हिमालको सुन्दर दृश्य पनि देखिन्छ । यसलाई थप प्रचारप्रसार गर्नु आवश्यक छ ।
स्वयम्भू र बौद्ध पनि नेपालका महत्वपूर्ण बौद्ध तीर्थस्थल हुन् । स्वयम्भूलाई ‘आदि बुद्ध’को रूपमा लिइन्छ भने बौद्ध स्तूप नेपालको सबैभन्दा ठूलो स्तूप पनि हो । यी स्तूप निर्माणका दृष्टिले विशिष्ट शैलीका छन् । तेस्रो शताब्दीमा सम्राट् अशोककी पुत्री चारुमतीद्वारा निर्मित चारुमती विहार र सोही समयमा निर्माण गराएका चार धम्म स्तूप क्रमशः तेतथुर, लगनथुर, शिलापुरथुर र इवही थुर नेपाल मण्डलाको बौद्ध धर्मका अति महत्वका पुरातात्विक सम्पदाहरू हुन् । यी सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नु जरुरी देखिन्छ ।
काठमाडौं उपत्यकाको नेवारी बज्रयानी बौद्ध अभ्यास विश्वका बौद्धमार्गीहरूका निम्ति अध्ययन–अनुसन्धान र चासोको विषय हो । यस क्षेत्रमा अनेक बौद्ध मठ, मन्दिर, गुम्बा, स्तूप, विहारहरू रहेको हुँदा काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्छ । चार करुणामय लोकेश्वर र चार योगिनी क्षेत्र तथा तीसँग सम्बन्धित विभिन्न जात्रा पर्वहरू । यहाँ हुने धार्मिक अभ्यास तथा विभिन्न संस्कारहरू विशिष्ट किसिमका छन् । पञ्चबुद्धको अवधारणा बोकेको नेवारी बज्रयान बौद्ध धर्मले विश्वका महायान, बज्रयान एवम् तिब्बती बौद्ध धर्मको समेत ध्यान केन्द्रित गरेको छ । यस अवधारणाबारे बुझ्न, ध्यान र अध्ययन–अनुसन्धान गर्न पनि नेपाल महत्वपूर्ण बौद्ध पर्यटकीय क्षेत्र बन्न सक्छ ।
काठमाडौंका बाहाबहीहरूमा सुन्दर भित्तेचित्र, थाङ्का, मूर्ति आदि कलाले विश्व जनसमुदायमा छुट्टै पहिचान स्थापित गरेको छ । बाहाबहीहरूमा हुने धार्मिक परम्परा र अभ्यास पर्यटनको महत्वपूर्ण स्रोत हो । मुक्तिनाथ मन्दिर, जुन हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरूका निम्ति पनि निकै श्रद्धाको क्षेत्र हो, यसलाई पनि बौद्ध पर्यटनको मुख्य स्रोत मानिन्छ । नेपाल बौद्ध कलाका क्षेत्रमा पनि उर्वर रहेको छ । यहाँको थांका, पौभा, मूर्तिहरूको निर्यातबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । त्यसका लागि पनि पहिला प्रचार–प्रसारमार्फत पर्यटन प्रवद्र्धन आवश्यक छ ।
चर्यानृत्य, गुँला पर्व, पञ्चदान पर्व तथा काठमाडौं, ललितपुर (पाटन) र भक्तपुरको बौद्ध समाजमा मनाइने सम्यक पर्व काडमाडौंमा रहेको नेवारी बौद्ध धर्मका विशिष्ट सांस्कृतिक पर्वहरू हुन् । त्यसैगरी बौद्ध चाडपर्वहरू जस्तै बुद्ध जयन्ती, लोसार र गुम्बाहरूमा आयोजना गरिने विशेष कार्यक्रमहरूले पर्यटकलाई आकर्षित गर्छन् । ती पर्वले धार्मिक तथा सांस्कृतिक महत्व मात्र होइन, स्थानीय जीवनशैली, खानपान र कला–संस्कृतिलाई पनि उजागर गर्छन् ।
नेपालको हमाली क्षेत्रमा तिब्बती बौद्ध धर्मसँग नजिक रहेर विभिन्न चाडपर्व मनाइने गरिन्छ । साथै यहाँका स्तूप, चैत्य, छोर्तेन, गुम्बाले ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक महत्व बोकेका छन् । थामे विहार अर्थात् तेन्बुचे गुम्बामा मनाइने मनिरिन्दु पर्वजस्ता उत्सवहरूले पर्यटकको मन जितेका छन् । त्यसैले त यस क्षेत्रमा यी पर्वका समयमा पर्यटकको घुइँचो लाग्छ । त्यतिमात्र होइन, हिमाल आरोहण गर्नेहरू पनि यस गुम्बामा पहिला तीन दिनसम्म पूजा गरेर मात्र आरोहण सुरु गर्ने गर्छन् । यसका साथै हिमाल चढेर फर्किंदासमेत पूजा गर्ने चलन छ । आठौँ शताब्दीमै निर्माण गरिएको गण्डकी प्रदेशको दामोदरकुण्ड गाउँपालिकामा अवस्थित लो–गेकर गुम्बा निकै महत्वको मानिन्छ ।
नेपालमा बौद्ध पर्यटनका विभिन्न स्रोत भए पनि तिनको प्रचारप्रसार र ब्रान्डिङ हुन नसक्दा बौद्ध पर्यटकहरूको आगमनमा उत्साहजनक वृद्धि हुन सकेको छैन । अतः नेपाल सरकार, लुम्बिनी प्रदेश, लुम्बिनी विकास कोषलगायतका सम्बन्धित निकायले यस्ता बौद्ध सम्पदा र स्रोतहरूको प्रचारप्रसारमा रणनीतिक रूपमा विशेष ध्यान दिई अगाडि बढ्नु जरुरी छ ।